विनोद पोख्रेल
२०७७ माघ १४ गते
कहिलेकाहीँ यस्तो किन भयो जस्तो लाग्ने गर्छ । हिजो साँझपख सामान्य चक्कर लागेको जस्तो अनुभूति गरेँ । कसैलाई केही भनेन । भन्न पनि डर लाग्छ । बढी चिन्तित हुन्छन् । त्यसमा पनि छोराहरु कोही घरमा छैनन् । अरु त प्रायः हुँदैनन् नै । विपुल पनि अलि बढी बाहिरै हुन्छ । तर पनि उसको परिवार
(श्रीमती, छोरो) यहीँ भएकोले त्यो यहीँ बस्छ जस्तो लाग्छ । डर अर्को पनि लाग्छ । अस्पताल जाउँ नानाथरि जँचाउ, खर्च अलग, झन्झट अलग, मिच्छाट अलग । धेरैजसो जति असहमत भए पनि प्राइभेट अस्पतालमै जँचाउनु पर्छ । त्यहाँ कति कुरा त पैसाकै लागि कर्म पु¥याउनै पर्ने समेत हुन्छ । अनि यो चिसो समेतले डर बढाउँछ । अहिले लेख्न बस्दा पनि आँखाको समस्या जस्तो लाग्यो । यो त बेकार हो । मैले केही पहिलेसम्म एकछिन फेसबुक हेरेँ । लैख्न बस्नुभन्दा पहिले सूर्य आधा निस्केको थियो । त्यो दृश्य मलाई मनपर्छ ।
त्यसकारण केही बेर त्यता नजर गयो । बिहानको सूर्यलाई हेरेपछि चश्मा लगाएको आँखा एकछिन तिरमिर गरेको महसुस गर्नु स्वाभाविक हो तर यस्तो अनुभव गरे भन्ने हो भने त्यही कुरा समस्या हुनसक्छ । यस्ता धेरै कुरा हुनसक्छन् जो मैले भन्न आवश्यक सम्झिन्न । यी कुरा मैले अनुभवको रुपमा लेखेँ । लेख्न चाहेको अर्कै थियो । त्यो हुँदै भएन । बरु आधा निस्केको सूर्यले अलि बढी आकर्षित ग¥यो । माथि भने यो दृश्यले मलाई आकर्षित गर्छ तर सूर्यले पर्वतबाट माथि उठ्न किन यति हतार गर्छ ? माथि निस्केपछिको उसको यात्रामा त्यति हतारो देखिँदैन । निश्चित गतिमै हुन्छ ।
तर पहाडबाट निस्कँदा हेर्दाहेर्दै बाहिर आइहाल्छ । यस्तै अर्को कुरा ठिक त्यही बेलामा धेरै वा थोरै चराहरु धेरै जस्तो तारमा नभए पर्खाल आदि ठाउँमा बसेर सायद उसैलाई पर्खिरहेका हुन्छन् । अथवा त्यही दृश्य मनपराएर हेर्न बसेका हुन्छन् । तिनको बसाइँ र केहीबेर पछिको फूर्तिलो उडाइले पनि म आकर्षित हुने गर्छु । कतै उनीहरुको र मेरो दृष्टिकोण मिलेको जस्तो लाग्छ । यत्ति हो मैले पर्खिराख्दैन । यो दृश्य देखेँ भने रमइलो मान्छु । हृदय नै साहित्यिक भएको जस्तो महसुस गर्छु तर म नियमित हुन सक्दैन । चराहरु सायद नियमित छन् ।
उनीहरुले सधैँ सूर्यलाई स्वागत गर्छन् । यही स्वागतले कतै सूर्यले आफ्नो हतारोलाई नियन्त्रणमा राख्न वाध्य हुनुपर्छ । एक्लो जीवनमा जे गर्दा पनि हुन्छ । तर पारिवारिक वा सामाजिक जीवनमा धेरै कुरामा फरक पर्छ । बोल्दा, हिड्दा समेत प्रभाव परेको हुन्छ । यत्ति कुरालाई मात्रै महसुस गर्ने हो भने पनि केही अनुशासन केही जिम्मेवारी बारे बोध हुने थियो । हामीले यत्ति पनि गर्न चाहन्नौँ । सूर्य समेतलाई सामाजिक सम्बन्धले नियन्त्रणमा राख्ने प्रयास गर्छ । सूर्यले समेत यो स्वीकार गर्नुपर्छ तर कति मानिस जो आफैमा सामाजिक प्राणी भनिन्छ, आफै यस्ता सम्बन्धलाई महत्वहीन बनाउनेतर्फ लागिरहेको हुन्छ । अनि अनुशासन वा जिम्मेवारी निभाउन सम्भव हुने कुरै हुँदैन ।
२०७७ माघ १५ गते
खोइ ! चीसोको असर हो कि विषयको कमी हो कि वा जाँगर नभएको हो कि कारण थाहा भएन । अझै मेले लेखाइलाई विशेष् महत्व दिन सकेको छैन । आज अलि ढिलो भयो सबै कुरा । यो काम त झण्डै बिर्सेको । तर जीवनमा बनाउने नियमिततामध्ये यो राम्रै होला भनेर कलम–कापी पकडेँ । निरुद्देश्य मात्र एउटा नियमितता कायम गर्ने प्रयास । आज अलि बढी चिसो पनि महसुस गरेको हुँ । यतिबेलासम्म हुस्सु पनि अलि बढी नै छ ।
घामले हुस्सुलाई जित्ने प्रयास त गर्दै छ तर सफल भएको छैन । मानिसको जीवन जस्तै सधौ प्रशन्न रहने प्रयास आफूले पनि गर्छ र अरुलाई पनि सन्तुष्ट रहन उपदेश दिन त सक्छ तर सधैँ सन्तुष्ट रहन पटक्कै सक्दैन । चिसोसँग पनि हारेकै छ तातोसँग पनि हारेकै छ । खान नपाए पनि हारेकै छ । धेरै खाएर पनि हारेकै छ । रोगसँग पनि हारेकै छ, शोकसँग पनि हारेकै छ । सबलाई जितेर बाँचेको भन्न छाड्दैन । परिस्थितिले कहँसम्म पु¥यायो भने आफूलाई आफै थुनुवामा राख्नुलाई समेत बुद्धिमानीको रुपमा स्वीकार गरेर चिरञ्जीवी हुने कल्पना समेत गर्न वाध्य छ । तर पनि निश्चिन्त हुन सकिरहेको छैन ।
आफूले हारेकोमा समेत गर्व गर्छ र यसैलाई बुद्धिमत्ताको बिल्ला भिराउँछ । धन्य बुद्धि । सबै त्यागेर सबैभन्दा अलग भएर मानिसको जीवन निश्चित हुन्छ भन्ने विचारसँग पनि म सहमत हुन सकेन । जीवन निश्चित भए पनि एकलकाँटे भएर मानिसको जीवन सजिलोसँग चल्छ भन्ने विश्वास पनि मलाई छैन । एउटा रोगबाट बच्न सबै छोडौँ । अनि अरु रोग वा समस्याबाट बच्न के गर्ने ? के समस्या भनेको सामयिक एउटा रोग मात्रै हो । कतिले भ्याक्सिन लगाए । अब तिनीहरुलाई मैले अमर भएको सम्झे भने ठिक हुन्छ ? पटक्कै हुँदैन । यो त हारे वा भागेर बाँचेको मात्रै हो । यसरी लखेट्ने धेरै कारणहरु छन् । धेरै परिवेशहरु छन् । सबैसँग भाग्ने अनि मैले जितेँ भन्ने भ्रममा पर्ने जीवनसँग म सहमत हुनै सक्दैन ।
मलाई थाहा छ मेरो विचारसँग असहमत हुनेहरु धेरै भेटिन सक्छन् तर मलाई यो पनि थाहा छ कि आफ्नो काम अथवा आफ्नो स्वार्थका लागि तिनै भाग्ने र बुद्धिमान भएको दाबी गर्नेहरु पनि कतिसँग भेट गर्छन् । काम चलेकै छ । काम भएकै छ । उद्योग, व्यापार आदि चलेकै छन् । सार्वजनिक यातायात चलेकै छन् । सडकमा भीड पनि छ । यता मास्क लगाउने नलाउने दुवैथरि बिरामी पनि भएकै छन् । त्यस्तै आफ्नो साधनमा हिड्नेहरु पनि सुरक्षित छन् भन्ने ग्यारेण्टी लिन सकिन्न । यस्तो परिवेशले सामाजिक र आर्थिक परिवेशमा कति प्रभाव पारिसक्यो यसको मूल्यांकन गर्ने मन कसैलाई छैन ।
आफ्नो काम परे जे पनि गर्ने नपरे अलग बस्ने बुद्धिमानहरुको भ्रम निवारण हुनसकेको छैन । यहाँ नजान्ने कोही छैन । कति नजानेर पनि बढी जान्ने छन् भने कति जानेर पनि अति ज्ञानी हुने प्रयासमा छन् । समाजको अपेक्षा भने सन्तुलनको हो ।