अमरराज आचार्य
दाङ, १४ माघ । रमेश श्रेष्ठ बजारमा घुमिरहँदा उसको मास्क खल्तीमा थियो । जब तुलसीपुर चोक आयो, उसले खल्तीको मास्क झिकेर मुखमा लगायो । अलि पर पुगेपछि मास्क घाँटीमा थियो । ऊ बसमा चढ्दा मास्क मुखसम्म त सा¥यो, यात्रुबाहक सार्वजनिक बसमा आधाआधीले मास्क लगाएका थिएनन् ।
जसै बस प्रहरी चेक प्वाइन्ट नजिक पुग्यो, बसका कण्डक्टरले सबैलाई मास्क लगाउन उर्दी जारी गरे । मास्क बोकेकाहरुले खल्तीबाट निकालेर लगाए । महिला तथा बृद्धहरुले चेकिङका बेला मास्कको विकल्पमा सलले मुख छोपे । अचेल जहातहीँ यस्तै दृश्यहरु देखिइरहेका छन् । मास्क बोक्नु फेशन बनेको छ, यद्यपि लगाउने बानी भने अझै परेन । यहाँसम्म कि दाताले दिएको मास्क पनि खल्तीमा राखेर घर फिर्छन् नागरिक । मास्क किन बोकिएको हुन्छ ? जिज्ञासामा नागरिकहरु भन्छन्– ‘बैंक छिर्न, पालिकाका कार्यालय छिर्न, अस्पताल छिर्न तथा अन्य निषेधित स्थानमा जानका लागि मात्रै, स्वास्थ्य सावधानीका लागि भने होइन ।’
प्रहरीको डुयुटी अहिले मास्क चेकिङजस्तै भएको छ । प्रमुख जिल्ला अधिकारी मास्क लगाउन आग्रह गर्दै सचेतना अभियानको वकालत गरिरहनुपरेको छ । उद्योगी व्यवसायीका संगठनहरुले गाडीभरी मास्क बोकेर नागरिकलाई बाँडिरहेका छन् । मास्क हुनेहरुलाई लगाऊ–लगाऊ भन्दै हिडिरहेका छन् । लायन्स, रोटरी, जेसीजलगायतका संघसंस्थाहरु पनि मास्क अभियानमै रुमल्लिइरहेका छन् । तैपनि दाङ जिल्लामा मास्क लगाउनेहरुको संख्यामा अझै पनि सुधार हुन सकेको छैन ।
एक्लै यात्रा गर्दा मात्र होइन, भीडभाडका कार्यक्रममा पनि अझै सबैले अनिवार्य मास्क लगाउने गरेका छैनन् । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरुमा मात्रै मास्क अनिवार्य जस्तै बनेको छ, अन्य स्थानमा भने मास्क अझै बानी बनिसकेको देखिँदैन । जसका कारण कोरोना भाइरसको संक्रमणको चेनब्रेक हुन सकेको छैन ।
‘हामीले यो नयाँ भेरियन्टको संक्रमणको चेनब्रेक गर्न स्वास्थ्यका मापदण्डको पालना गर्नुको अर्को विकल्प छैन, तैपनि नागरिकहरु अझै मास्क लगाउन मात्रै पनि अभ्यस्त बनेको देखिँदैन’, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भन्छन् । भीडभाड कम गर्न केही निर्देशनहरु सरकारले जारी गरेको भए पनि स्वास्थ्य सावधानीका सन्दर्भमा नागरिकहरु अझै पनि अटेरी गर्दै आएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो ।
अब अटेरीविरुद्धको एक्सनमा सरकार जान बाध्य हुने पनि उनको आशय थियो । सडक तथा सार्वजनिक स्थानहरुमा मास्क खोई भन्दै हिँड्ने प्रहरी पनि अटेरीको अवस्थाले दिक्क भएको छ । सरकारले जारी गरेका निर्देशनहरु पालना गराउनु आफ्नो दायित्व भए पनि सवै स्थानमा पुगेर प्रहरीले यस्तो एक्सन देखाइरहन सम्भव नहुने पनि प्रहरी अधिकारीहरु बताउँछन् ।
‘जनतालाई मास्क लगाउन सुझाउँदा झगडा हुनेसम्मको अवस्था हामीले भोगिरहेका छौं, कृपया यो विषयमा सबै नागरिकहरु सचेत बनिदिऊ’, जिल्ला प्रहरी प्रमुख सुरेश काफ्ले भन्छन् । नागरिकको सचेतना नभएको भन्दा पनि सावधानीप्रति अटेरी भइरहेको सुरक्षा अधिकारीहरुको पनि निष्कर्ष छ ।
नियमितरुपमा मास्क लगाउने बानी बसाए मात्रै पनि संक्रमणबाट जोगिन सकिने भन्दै राज्यका सबै निकायहरु यसमै केन्द्रित भइरहँदा नागरिकबाट भने यो विषयमा कत्ति पनि उत्तरदायित्व बहन हुन नसकेको सरोकारवाला निकायहरु बताउँछन् । ‘आर्थिक अभावका कारण किन्न नसकेर मास्क नलगाएको अवस्था होइन, यो त स्वास्थ्य सावधानीप्रतिको अटेरी मात्रै हो, यसमा अब सरकार कडारुपमा प्रस्तुत हुन आवश्यक छ’, तुलसीपुर उपमहानगरपालिका–१७ का अगुवा मुकुन्द गौतमले भने ।
आफ्नो असावधानीका कारण अन्य नागरिक संक्रमित भएर ज्यानै जाने अवस्थामा पनि स्वास्थ्य सावधानीमा अटेरी गर्नेहरुले अब आफूलाई सुधार्नुपर्ने पनि उनको सुझाव थियो । दुई रुपैयाँ मूल्यको मास्क लगाउन नसक्ने कुनै पनि नेपाली नागरिकहरु छैनन् । यहाँ त अनावश्यक रुपमा सयौं रुपैयाँ दैनिक खर्च गर्नेहरुले पनि मास्क लगाउन कञ्जुस्याइँ गरेको उनको अभिव्यक्ति थियो । उनले मास्क अभाव नभएर अटेरी भएको पनि बताए ।
कोभिडको तेस्रो लहर ओमिक्रोन भेरियन्ट बढ्दै गइरहेको अवस्थामा पनि नागरिकमा लापरबाही हटेको छैन । शहरमा नागरिकहरुको लापरबाही बढ्दै गएको छ । नागरिकको लापरबाहीको कारण कोभिडको संक्रमण बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मापदण्ड कार्यान्वयनका नागरिकको जिम्मेवारी देखिँदैन । अहिले नागरिकलाई स्वास्थ्य सचेत गराउने तथा मास्क वितरण गर्ने कार्य दैनिकरुपमा हँुदै आएको छ तर नागरिकमा भने कुनै पनि परिवर्तन आएको देखिँदैन ।
प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख तथा नेपाल प्रहरी, सामाजिक, संघसंस्था, दाङ उद्योग वाणिज्य संघ तथा पार्टीहरुले समेत नागरिकलाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस प्रकारको कार्यले नागरिकमा अटेरी बढ्दै गएको सचेतना अभियानमा सहभागीले बताए । अहिले पनि नागरिक मास्कविना मुख्य सडकमा हिँडिरहेको पाइन्छ । मास्क लगाउनेले पनि सहीरुपमा नलगाउने गरेका छन् ।
बिहीवार नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा भएको कार्यक्रममा सहभागी भएकी नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटाले स्वास्थ्यप्रति सचेत बन्न आग्रह गरिन् । ‘आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहोस्’, उनले भनिन् । दैनिक क्रियाकलाप गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नसमेत उनको आग्रह गरेको थियो । ‘नागरिक स्वस्थ रहेन भने जीवन रहँदैन’, प्रमुख सचेतक देवकोटाले भनिन् । नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउन लाग्नसमेत नेता कार्यकर्तालाइ उनको आग्रह रहेको थियो ।
कोभिड संक्रमणबाट बचाउन सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको समेत उनको भनाइ रहेको थियो । ‘नागरिकलाई सुरक्षित बनाउन सरकारले विशेष पहल गरिराखेको छ’, उनले भनिन् । यसका लागि सबै नागरिकलाई खोप प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताइन् । केही समयपछि सबै नेपाली नागरिकले कोभिडविरुद्ध खोप पाइसक्ने उनी बताउँछिन् ।
नागरिकले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सहयोग गर्न उनले आग्रह गरिन् । ‘सरकारले मात्र गरेर हुँदैन नागरिकको समेत सहयोग चाहिन्छ’, उनले भनिन् । सबैको सहयोगले नै कोभिड संक्रमण नियन्त्रण गर्न सकिने उनले बताइन् । नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन नगर्दा संक्रमण फैलिने गरेको छ । त्यस अवसरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
‘सार्वजनिक स्थलमा मास्कको प्रयोग घट्न थालेको छ । नागरिक तथा व्यवसायीहरुलाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले सचेतना अभियान सञ्चालन गरिएको हो’, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने । सचेतनाको क्रममा कतिपय नागरिकले मास्कको प्रयोग नगरेको पाइएको उनले बताए ।
मास्क नलगाएकालाई सचेत गराउँदै मास्कको प्रयोग गर्न आग्रह गरिएको उनको भनाइ रहेको छ । कोभिड संक्रमण बढ्दै गइरहेको अवस्था हाम्रासामु विदितै छ तसर्थ स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न समेत आग्रह गरे । कोभिडको तेस्रो लहर ओमिक्रोन भेरियन्टबाट बच्न आफै सचेत हुनुपर्ने उनको भनाइ रहेको छ ।