जनगणनामा धेरै मान्छे छुटेकै छन् त ?

दाङ, १४ माघ । सल्यानका दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणना सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– ‘२०६८ को राष्ट्रिय जनगणनामा गाउँपालिकाको जम्मा जनसंख्या १९९६६ थियोे । २०७६ मा पालिकाले जनगणना गर्दा २३४१८ भएको थियोे ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणना तथ्यांकमा १९९९८ सार्वजनिक गरिएको छ । १० वर्षमा पालिकामा ३२ जना मात्रै जनसंख्या बढेको हो त ? यसबीचमा उल्लेख्य बसाई–सराई र अस्वाभाविक मृत्युुदर पनि छैन । यो तथ्यांक सरासर गलत छ ।’ तथ्यांक विभागले प्रारम्भिक नतिजा सार्वजनिक गरेपछि धेरै जनाले सामाजिक सञ्जालमा उनीजस्तै एउटा विषय उठाइरहेका छन्– ‘यो तथ्यांक सही छैन ।’ के साँच्चै जनगणनामा धेरै मानिस छुटेका छन् ? तर केन्द्रीय तथ्यांक विभाग यसलाई स्वीकार गर्दैन ।

‘हामीले दुई–दुईपटक मानिस पठाएका छौं । जनगणना गर्नु जसरी राज्यको दायित्व हो, त्यसैगरी आफू गणना हुनु नागरिकको जिम्मेवारी हो । जानी–जानी गणकले कसैलाई छुटाएका छन् जस्तो हामीलाई लाग्दैन’, विभागका सूचना अधिकारी तीर्थराज चौलागाईले भने । चौलागाईंका अनुसार काठमाडौं महानगरमा गणकहरू हातमा ट्याबलेट बोकेर गणना गर्न गएका थिए भने विदेशस्थित नियोगमा इ–सेन्ससबाट गणना भएको थियो ।

‘अरू ठाउँमा प्रश्नावली बोकेरै गणकहरू घरमा गएका हुन् । २–३ प्रतिशत कम गणना जहाँ पनि हुन्छ । कहीँ कतै त्यस्तो भएको हुन सक्छ’, चौलागाईंले भने– ‘धेरै मानिस छुटेका छन् भन्ने चाहिँ सत्य होइन ।’ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या अध्ययन विभागका प्राध्यापक योगेन्द्रबहादुर गुरूङका अनुसार हामी जाँदा पनि केही मानिसले गणक आफूलाई सोध्न नआएको गुनासो गरेका थिए ‘तर त्यो संख्या त्यति ठूलो थिएन,’ प्राध्यापक गुरूङले भने– ‘३९ हजार गणक र साढे ८ हजार सुपरिवेक्षकले काम गर्दा कुनै ठाउँमा तल–माथि चाहिँ भयो होला ।’

जनगणनामा खटिएका गणकमा अनुभव र तालिम अभावले पनि कुनै ठाउँमा त्रुटि भएको हुनसक्ने गुरूङले औंल्याए । ‘गणकहरू भर्खरै इन्टर÷ब्याचलर पढेका थिए । कोरोनाले जनगणनाको समय सरेकाले उनीहरूले तालिम पनि राम्ररी पाएनन्,’ उनले भने । प्राध्यापक गुरूङका अनुसार संसारभरि नै गणनामा केही मानिस छुट्नु स्वाभाविक भएको बताए । राष्ट्रिय तथ्यांक विभागले जनगणना गर्न दुईपटक घर–घरमा कर्मचारी खटाएको थियो ।

पहिलो चरणमा २०७८ भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरणका लागि कर्मचारी खटिएका थिए भने दोस्रो चरणमा कार्तिक २५ देखि मंसिर ९ सम्म मूल गणना भएको थियो । जनगणनाका लागि प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कामका लागि १ हजार ८ सय ७१ कर्मचारी खटएका थिए । जनगणना गर्न ८ हजार ५ सय सुपरिवेक्षक र ३९ हजार गणक संलग्न थिए ।

जनसंख्या विभागका प्रमुख प्राध्यापक गोविन्द सुवेदी अहिलेको नतिजा प्रारम्भिक भएकाले अन्तिम परिणामसम्म यो संख्या तलमाथि हुन सक्ने बताए । ‘आज प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । विकसित मुलुकमा पनि अन्तिम परिणाम पाँच प्रतिशतसम्म तल–माथि हुनसक्ने देखिएको छ । महामारीका बेला जनगणना भएकाले केही मानिसहरू छुटेका पनि हुन सक्छन्,’ विभाग प्रमुख सुवेदीले भने ।

दाङमा १८ प्रतिशतले बढ्यो

नयाँ जनगणना २०७८ अनुसार जिल्लाका जनसंख्या ६ लाख ७६ हजार २ सय पुगेको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा १ लाख २३ हजार भन्दा बढी जनसंख्या थपिएको हो । २०६८ सालको जनगणनामा दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ३ थियो । राष्ट्रिय जनगणना– २०७ को नतिजा अनुसार २०६८ को तुलनामा यस पटक जनसंख्या करीब १८ प्रतिशतले बढेको छ ।

जिल्लामा जनसंख्या वृद्धि दर वार्षिक १.९४ छ । दाङमा ५२.४० प्रतिशत महिला र ४७.५९ प्रतिशत पुरुष जनसंख्या छ । जसमा ३ लाख ५४ हजार ३ सय ७६ महिला र ३ लाख २१ हजार ९ सय १ पुरुषको जनसंख्या रहेको तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत तुलसीराम पोख्रेलले बताए । त्यस्तै जिल्लामा जनगणना घर १ लाख ४९ हजार २ सय ६८ छ भने १ लाख ६५ हजार ७ सय ६१ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा लैंगिक अनुपात ९०.८५ रहेको छ । १० वटा स्थानीय तहमध्ये घोराही र तुलसीपुर उपमहानगरपालिका सबैभन्दा धेरै जनसंख्या थपिएको छ । जिल्लाका मुख्य शहरी क्षेत्रमा रहेका दुई पालिकामा जनसंख्या दोहोरो अंकले बढेको कार्यालय जानकारी दिएको छ । घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । यसअघि १ लाख ५६ हजार १ सय जनसंख्या रहेको घोराहीमा अहिले २ लाख १ हजार ७९ जना जनसंख्या पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि १ लाख ४९ हजार ६ सय ४७ रहेकोमा अहिले बढेर १ लाख ८० हजार ७ सय ३४ कुल जनसंख्या पुगेको छ । त्यस्तै लमही नगरपालिकामा ५८ हजार ८ सय ८४, राप्ती गाउँपालिकामा ५२ हजार १ सय ५८, गढवा गाउँपालिकामा ४६ हजार २ सय ७५ जनसंख्या पुगेको छ ।

त्यस्तै बबई गाउँपालिकामा ३१ हजार ३ सय १७, राजपुर गाउँपालिकामा २८ हजार ४ सय १०, दंगीशरण गाउँपालिकामा २३ हजार ६ सय ७२ रहेको तथ्यांक छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा भने सबैभन्दा कम जनसंख्या रहेको तथ्यांकमा छ । बंगाचुलीमा कुल २२ हजार ८ सय ७७ जनसंख्या छ ।