अल्लारे उमेर थियो, तिथि मिति मलाइ थाहा भएन । हामी पढ्दापढ्दैको उमेरमा भागेर भारत जाने निधो ग¥यौँ । मैले बुबाको खल्तीबाट ५ हजार रूपैयाँ निकालेँ अनि आफ्नो साइकल पनि बेचेर १२ सय गरी जम्मा ६ हजार २ सय रूपैयाँ जम्मा गरी म र मेरो मिल्ने साथी काले भारत जाने क्रममा नेपालगञ्जसम्म पुग्यौँ ।
हामीले बोकेको त्यो पैसा दुई दिन नेपालगञ्ज पुग्दैमा सबै सकियो । पैसा सकिएपछि हामी फेरि लाहुर(भारत) नजाने निधोमा पुग्यौँ अनि तेस्रो दिन घर फक्र्यौँ । खल्तीबाट पैसा निकालेको मैले बुबासँग कसरी मुख देखाउने भन्ने डर थियो । होस हराएको मान्छेजस्तै म घर पुगेँ । भारत जाने भनेर नेपालगञ्जसम्म पुगेर फर्केको कुरा विनम्रतापूर्वक बुबालाई सुनाएँ । बुबा केही बोल्नुभएन । एक शब्द पनि तत्काल भन्नुभएन ।
जब म सामान्य बन्दै गएको थिएँ, बुबाले भन्नुभयो, ‘बाबु मेरो खल्तीको ५ हजार कता हराएछ, यहीँ घरमै कसैले झिकेका त होलान्’, अर्थात् मलाई संकेत गर्दै भन्नुभएको थियो । बाबु राम्रो मान्छे भन्दा असल मान्छे बन्नुपर्छ । मिहिनेतको कमाइमा बाँच्ने आधार बनाउनुपर्छ । यस्तै यस्तै धेरै सन्देश मलाई बाँडिरहनुभएको थियो तर उहाँलाई थाहा हुँदाहुँदै पनि छोरा थप भड्कन सक्ने आशंकाले यहाँ सम्हालिनुभएको थियो । त्यो बेलाको ६ हजार सायद बुबाको एक महिनाको तलव थियो । त्यसैले हाम्रो परिवारको घरखर्च चल्थ्यो । मैले यति ठूलो बदमासी गर्दा पनि उहाँ नबोल्नुले मलाई फरक मान्छे बन्न सिकायो । लेखिदिनु होला बुबाको मौनता मेरो खुसी … ।
त्यसपछि मैले धेरै पटक घरमा होस् वा अन्यत्र बाटोमै पनि धेरै पटक पैसा भेटाएर सम्बन्धित मान्छेलाई नै फिर्ता गरेँ । बुबा कर्णसिंह नेपालीको त्यो मौनताले मलाई धेरै सिकाएको छ । भन्छन्, ‘मौनता पनि एउटा क्रान्ति हो, मौनता पनि एउटा सन्देश हुनसक्छ । मौनतामा पनि भाव हुन्छ’, जसले मान्छेलाई कर्मशील बनाउँदोरहेछ ।
बुबाको त्यो मौनताभित्रको प्रेरणाले मलाई समाजमा जिउन सिकाएको छ । त्यसैले कुनै पनि व्यक्तिले आफ्ना भावना शब्दमा व्यक्त गर्न सकेन वा चाहेन भने त्यसको भावनाबाट पनि हामीले धेरै सिक्न सक्दारहेछौँ भन्ने मलाइ लागेको छ । संसारमा सबैभन्दा ठूलो भनेकै बुबाआमा रहेछन् भन्ने मलाई आत्मबोध भएको छ । बुबाको त्यही सद्भावले मलाई समाजमा क्रमशः स्थापित बनाउँदै गरिखाने बनाएको पनि मैले आत्मसात गरेको छु ।
माथि उल्लेखित खुसीको क्षण हो तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुर निवासी आशाराम नेपाली(शंकर)को । वि.सं. २०४० बैसाख २ गते, तुलसीपुर उपमहानगरपालिका–१८ अक्कासीमा बुबा कर्णसिंह नेपाली र आमा स्व. नीमकुमारी नेपालीको कोखबाट जन्मिएका शंकर नेपालीका अरु खुसीका क्षणहरू पनि धेरै छन् । उनी पछिल्लो पटक समाजसेवासँगै राजनीतिमा पनि जोडिएका छन् ।
शंकरले आफ्नो अर्को खुसीलाई यसरी व्यक्त गर्छन् । म त्यो बेला तरुण दल दाङको जिल्ला सदस्य पदमा थिएँ । तरुण दलको आह्वानमा महँगी र भ्रष्टाचारको विरूद्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राख्यौँ । त्यसबेला जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर जनजीविकाका सवालमा ध्यानाकर्षण गराउन पाउँदाको क्षण पनि मेरो अर्को अविष्मरणीय खुसीसँगै अवसरको क्षणका रूपमा पनि मैले लिएको छु । त्यसपछि मलाई राजनीतिमा अलि माथि उठ्ने र सक्रिय राजनीतिमा आउने आशा जगाएको थियो ।
त्यही आशा अहिले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनले सार्थकतातर्फ धकेलिरहेको छ । ‘म अहिले भर्खरै सम्पन्न नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुँदै प्रदेश महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्र नं. २(ख)को कोषाध्यक्षमा पनि मनोनित भएको छुँ, लेखिदिनुहोला कांग्रेस मेरो खुसी ।’ कुनै पनि काममा निरन्तर रूपमा लगनशीलताका साथ अघि बढे सफलता पछि–पछि आइरहेको हुन्छ भन्ने यो अधिवेशनले मलाई सिकाएको छ । राजनीतिबाट समाजसेवा गर्न मलाई ठूलो इच्छा छ । यसमा सबै साथीहरू, अग्रज नेतृत्वहरू तथा अग्रज समाजसेवीहरूको साथ र सहयोगको पनि अपेक्षा गर्दछु’, शंकरले भनेका छन् ।
त्यसो त खुसीकै शृंखलामा उनले आफ्नै गाउँ–ठाउँको खानेपानी संस्थाको नेतृत्वलाई पनि सम्झन्छन् । नेवा संस्थाको आर्थिक सहयोगमा उहिल्यै सुरु भएको एउटा पुरानो खानेपानी संस्था छर्छरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्था केही वर्षदेखि उपभोक्ताको जिम्मामा आएको छ । अघिल्लो अधिवेशनमा सोही संस्थामा उनी कार्यसमितिको सचिवमा पनि निर्विरोध निर्वाचित भए । आफूलाई सर्वसम्मत रूपमा उपभोक्ताले संस्थाको सचिवजस्तो नेतृत्वमा पु¥याएको क्षणलाई पनि उनले अविष्मरणीय खुसीकै रूपमा स्मरण गर्छन् ।
‘अँ यो पनि लेखिदिनु होला, ‘माटो मेरो खुसी ।’ मान्छे माटोमै जन्मिएर माटोमै हुर्कन्छ अनि माटोमै विलय भएर जाने हो । त्यसैले यही माटोमा मिहिनेत गरेर जिउनु पनि खुसीको रूपमा उनले स्मरण गरे । त्यसैले उनी गाउँमै बाँझो जग्गामा सुन फलाउने अभियानमा छन् । मनमिल्ने कर्मशील युवाहरू मिलेर नेपाल संस्कृत विश्वविद्यालयका बर्लेनीडाँडामा रहेको खाली जग्गा लिजमा लिएर उनी माटोमा मिहिनेत गरिरहेका छन् । माटोमै सुन फलाउन चाहन्छन् ।
ठूलो कृषि सपना छ, उनको टिमसित । अम्विकेश्वरी बहुद्देश्यीय कृषि अनुसन्धान केन्द्र नामको फर्म दर्ता गरेर करिब ६० बिगाहभन्दा बढी जग्गामा दिगो कृषिका सपना देखिरहेको छ, उनीहरूको टिमले । आन्तरिक रोजगारीसँगै आन्तरिक पर्यटनमा संस्थाले योगदान दिनसक्ने लक्ष्य सहित उनीहरू अघि बढिरहेका छन् । धेरै युवाहरू कतार र दुवैको चरम गर्मीमा आफ्ना पसिना बगाइरहँदा आफ्नै स्थानमा केही गर्न सकिन्छ भनेर आफूले कृषि पेशालाई रोजेको पनि उनी बताउँछन् । उनले अहिले दिनमा करिब ८ घण्टाभन्दा बढी समय सोही कृषि फर्ममै बिताउने गरेका छन् ।
कहिले बन्दाको बोटमुनि लुक्ने प्रयास त कहिले टमाटरको झ्याङमा लटपटिने प्रयासमा उनी कहिलेकाहीँ आँपका बोटमुनि लुकामारी खेलिरहन्छन् । भन्छन्, ‘हाम्रो देशको मुख्य समृद्धिको आधार भनेकै कृषि हो, राज्यले कृषिमा लाग्ने युवाहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ ।’ शंकरको बुझाइमा मिहिनेतको प्रतिफल खुसी हो, खुसी पाउन कर्मशील भएर लागिरहनुपर्छ । पैसा मात्रै ठूलो कुरा होइन, पैसा र श्रमलाई व्यवस्थापन गर्नसके सन्तुष्टि हात लाग्छ, त्यही सन्तुष्टि नै खुसी हो ।
प्राथमिक शिक्षा जनकल्याण मावि दुधरास तथा तुलसीपुरको राप्ती विद्या मन्दिरमा हासिल गरेका शंकरले एसएलसी परीक्षा भने मानपुर हाइस्कूलबाट पूरा गरे । त्यसपछि लालमटियाको राप्ती प्राविधिक शिक्षालयबाट सवओभरसियर कोर्ष पूरा गरेपछि पढाइलाई थाँती राख्दै राजनीति र कृषिलाई सँगसँगै अगाडि बढाइरहेका छन् ।
तरुण दल दाङको जिल्ला सदस्य, छर्छरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सचिव, अम्बिकेश्वरी बहुउद्देश्यीय कृषि अनुसन्धान केन्द्र तुलसीपुर–१८ बर्लेनीका सञ्चालक सदस्य, एकीकृत नमुना टोल सुरक्षा समितिको सल्लाहकार र हालै सम्पन्न नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि (निर्वाचन क्षेत्र २(ख) तथा प्रदेश २(ख)को कोषाध्यक्ष मनोनित शंकर नेपालीको अचेलको दैनिकि भने कृषि संग जोडिएको छ ।
प्रस्तुती : खेमराज रिजाल