एमालेलाई फेरि पहिलो शक्ति बनाउँछौ : अध्यक्ष बस्नेत

नेकपा (एमाले) दाङको पुस २३ मा सम्पन्न १३औँ जिल्ला अधिवेशनबाट हुकुमबहादुर बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् । बस्नेत २०५८ सालमा जिल्ला कमिटी सदस्य भएका थिए । पार्टीको जिल्ला संगठन विभाग प्रमुख, सचिव, उपाध्यक्ष भएर काम गरेको बस्नेत एउटा कुशल नेतृत्वकर्ता र वाक कलामा समेत अब्बल छन् । पार्टी अध्यक्ष भएपछि उनको सामू अवसर र चुनौती दुवै छन् । उनले देखेका चुनौती र अवसरसँगै पार्टीलाई जिल्लामा अब्बल बनाउन अध्यक्ष बस्नेतसँग के छन् भावी योजनाहरू ? ती योजनामा केन्द्रित रहेर एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानीको सार संक्षेप ।

 गोरक्षको सातावार्तामा यहाँलाई स्वागत छ ?

 धन्यवाद यहाँ र गोरक्ष पत्रिकालाई । नेकपा एमाले दाङको बारेमा विचार राख्ने अवसर दिएकोमा ।

 नेतृत्वमा आउनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

 नेकपा एमाले दाङको पुस २३ मा सम्पन्न १३औँ अधिवेशनबाट मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेृतत्व सामू चुनौती र अवसर दुवै छ । त्यो स्वाभाविक पनि हो । हरेक नेतृत्वसँग चुनौती र अवसर हुन्छन् । त्यो यो नेतृत्वसँग पनि छ । मैले यसलाई अवसरको रूपमै लिएको छु ।

नेकपा एमालेले ल्याएको विचार, विकासको कारण केही राजनीतिक दलहरू एमालेलाई घेराबन्दी गर्ने काम गरेका छन् । जुन जनादेश विपरीतको काम भएको छ । अर्कोतिर एमालेबाट केही मान्छे चुडिएर गएका छन् । यो बेला मलाई साथीहरूले जिल्लाको नेतृत्वको जिम्मेवारी दिनुभएको छ । यो अवसर दिने सबैप्रति आभार प्रकट गर्न चाहन्छु । एमाले जनताको पार्टी हो । अब नेकपा एमाले राजनीतिक, वैचारिक, सांगठनिक रूपमा अरू पार्टीभन्दा अब्बल रूपमा जानेछ । त्यसकारण मैले यो नेतृत्वलाई अवसरको रूपमा लिएको छु ।

 एमाले दाङलाई राजनीतिक, वैचारिक र सांगठनिक रूपमा अब्बल बनाउने कुरा गर्नुभयो, त्यसो भए नेतृत्वका नयाँ योजना के–के छन् ?

 हामीले १३औँ जिल्ला अधिवेशन भव्य र सभ्य रूपले सम्पन्न गरेका छौँ । अब हामी दाङको एमालेलाई राजनीतिक, वैचारिक र सांगठनिक रूपमा अन्य राजनीतिक दलभन्दा अब्बल सावित गर्दै नेकपा एमाले दाङको सांगठनिक संरचनाहरूलाई नयाँ ढङ्गले परिचालन गर्दै एमाले दाङलाई हरेक गाउँ–बस्तीमा संगठनहरू निर्माण गर्दै अगाडि बढाउने संकल्पका साथ अघि बढ्ने छौँ ।

नेकपा एमालेले हिजो जनताको बीचमा जुन खालका वाचाहरू गरेको छ, ती वाचाहरू अधुरा छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना हामीले पूरा गर्न सकेनौँ । किनकि माओवादी र एमाले मिलेर बनेको नेकपा विभाजन भएको हुनाले आज एमालेलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने काम भएको छ । एमालेले जनताका बीचमा राम्रा योजनाहरू ल्याएको थियो । ती योजनाहरू कार्यान्वयन हुनसकेका छैनन् । ती योजनाहरू कार्यान्वयनको दिशामा एमाले अगाडि बढ्छ । अबको स्थानीय चुनावमा नेकपा एमालेलाई पहिलो पार्टी कसरी बनाउन सकिन्छ भनेर हामी जनताको बीचमा जान्छौँ र त्यसैअनुसार काम गर्छौँ ।

एमालेको विचार र सरकारमा भएका बेला भएका राम्रा कामहरू लिएर हामी जनताका दैलो–दैलोमा पुग्ने छौँ । त्यसको लागि जिल्ला कमिटीको बैठकबाट ठोस योजना र कार्यक्रम बनाउने तयारी गरेका छौँ । नेकपा एमाले दाङको प्रथम बैठक माघ १६ गते शहीद दिवसको अवसरमा बस्दै छ । त्यो बैठकबाट सबै साथीहरूलाई जिम्मेवारी दिएर जनताको घरदैलोमा पुग्ने र त्यहाँ एमालेको विचार, एमाले सरकारले गरेका कामको बारेमा जानकारी दिने काम हुनेछ ।

 तीन तहका निर्वाचन आउँदै छ । पार्टीको पोजिशन र परिचालन कसरी हुन्छ ?

 हो, तपाईंले भनेजस्तै तीन तहका निर्वाचन आउँदै छ । त्यसको लागि एमाले तयार नै छ । दङाली जनताले एमालेलाई फेरि पनि विश्वास गर्छन् । किन गर्छन् भने परमादेशबाट बनेको यो गठबन्धनको यो सरकारले के काम ग¥यो ? ६ महिना बढी भइसक्यो, केही पनि जनताको पक्षमा काम गर्न सकेको छैन । एउटा कुरा हिजो हाम्रो सरकारले डेढ करोड जनतालाई कोरोना खोप पुग्ने गरी व्यवस्था गरेका थियो ।

अहिलेको सरकारले त्यही खोप दिने कुरामा पनि पक्षपातको व्यवहार गरेको छ । फेरि जनता छटपटाउन थालेका छन् । अर्को कुरा हिजो हामीले देशलाई कसरी अगाडि बढाउनुपर्छ भनेर एउटा नयाँ खाका दिएका थियौँ तर यो गठबन्धनको सरकारसँग कुनै योजना छैन । त्यस्तै नेपालको विकासलाई नयाँ मोडेलमा लैजाने, गौरवका आयोजना भित्राउने कुरा नेकपा एमालेले काम गरेको छ । जिल्लामा सडक पूर्वाधार, खानेपानी, सिंचाइ, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि काम भएको छ । हामीले भनेका थियौँ– दुई वर्षमा दङाली जनतालाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउँछौँ ।

दङाली जनताको घरघरमा पानीका धारा ल्याउँछौँ भनेका थियौँ । आज जिल्लामा खानेपानीको लागि धेरै काम भएको छ । शैक्षिक क्षेत्रमा दाङमा प्राविधिक विद्यालयहरू खुलेका छन् । स्वास्थ्यलगायत सबै क्षेत्रमा दङाली जनताले देख्ने गरी विकास भएका छन् भने अवधारणाहरू समेत बनेका छन् । त्यसकारण आगामी निर्वाचनमा एमाले पहिलो शक्तिका रूपमा आउँछ । जनता एमालेलाई भोट हाल्न निर्वाचन कुरेर नै बसेका छन् ।

 निर्वाचनमा पहिलो शक्ति बन्छौँ भनेर दाबी त गर्नुभयो । अहिले त एमालेको केही शक्ति बाहरिएको छ । के यो फुटले एमालेलाई असर गर्दैन ?

 नेकपा एमालेबाट केही मान्छेहरू चोइटिएर गएका छन् । त्यसले गर्दा निश्चित रूपमा केहीले एमालेलाई असर पुग्यो भन्ने गर्छन् तर मलाई के लाग्छ भने एमालेबाट चोइटिएर गएका केही मान्छेले एमाले दाङलाई असर गर्दैन । केही थान मान्छेहरू गएका छन् भने हामीले पनि अन्य पार्टीबाट धेरै मान्छेलाई प्रवेश गराएका छौँ । एकाध मान्छे गएका छन् ।

हामीले माओवादी, कांग्रेस, जसपालगायतका अन्य पार्टीबाट धेरै मान्छे प्रवेश गराएका छौँ । अहिले एमालेबाट गएकालाई जनताले धिक्कारेका छन् । एमालेको सूर्य चिन्नबाट जितेर त्यसैलाई लात हान्दै जानेलाई जनताले के फेरि साथ दिन्छन् ? त्यो भएर साथीहरू फर्कन थाल्नुभएको छ ।

 पार्टीभित्र गुट–उपगुट भएर पार्टी कमजोर हुने गरेको छ । एमाले दाङमा यस्ता गुट–उपगुटहरू बन्न नदिन तपाईंको भूमिका कस्तो हुन्छ ?

 एमाले दाङमा गुट–उपगुट छैन । १३औँ जिल्ला अधिवेशन सर्वसम्मत र सहज रूपमा हामीले सम्पन्न गरेका छौँ । यस अघि नेतृत्व गर्नुभएका अध्यक्ष टीकाराम खड्काले एकदमै सहज रूपमा पद हस्तान्तरण गर्नुभएको छ । म उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

उहाँले १३औँ जिल्ला अधिवेशनमा एकदम हर्षविभोर भएर नयाँ टिमलाई पद हस्तान्तरण गुर्नभयो । हिजो गुट थियो होला । त्यो इतिहास नै भयो । अब मेरो नेतृत्वमा जिल्ला कमिटी छ । यहाँ गुट हुँदैनन् । हामीले जिल्ला, पालिका, वडाका अधिवेशन सर्वसम्मत ग¥यौँ । त्यसकारण एमालेमा कुनै प्रकारको गुट छैन ।

यसमा सबै ढुक्क हुनुस् । जसरी ऐतिहासिक रूपमा हामीले १३औँ अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गरेका छौँ । यसैगरेर १४औँ अधिवेशन पनि सर्वसम्मत रूपमा सम्पन्न गर्ने छौँ । त्यसमा म विश्वस्त समेत छु ।

 स्थानीय तहको निर्वाचन सरकारले पर धकेल्ने तयारी गरेको छ । यसमा एमालेले के गर्छ ?

 स्थानीय तहका जनप्रतिनिधिको समयावधि सकिएपछि समयमै उनीहरूले पद हस्तान्तरण गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनको कानुन परिकल्पना नै गरेको छैन ।

निर्वाचन सारेर जनताको समस्या समाधान नगर्ने वर्तमान सरकारले जुन काम गर्दैछ त्यो एमालेलाई मान्य हुने छैन । त्यसमा पार्टी स्पष्ट छ । बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्छ र जनताले समयमै जनप्रतिनिधि पाउनुपर्छ भन्ने पक्षमा छौँ । यदि यस्तो गरिएन भने निर्वाचन सार्ने चलखेल गरियो भने हामी जनताको माझमा जाने छौँ ।

 राजनीतिमा युवा पुस्ताको आकर्षण कम छ । यसलाई आकर्षण बनाउन के छ त योजना ?

 मेरो विचारमा राजनीतिमा युवा पुस्ताको आकर्षण नभएको जस्तो लाग्दैन । अन्य पार्टीमा के छ त्यो थाहा भएन तर नेकपा एमालेको सबै संरचनामा युवा पुस्ताको उल्लेख्य सहभागिता छ । पार्टीको हालै सम्पन्न १०औँ महाधिवेशनबाट पनि धेरै युवा साथीहरू निर्वाचित भएर आउनुभएको छ ।

यसैगरेर एमाले दाङको १३औँ अधिवेशनबाट धेरै युवा साथीहरू जिल्ला कमिटी आउनुभएको छ । त्यसकारण मैले नेकपा एमालेमा युवाहरूको क्रेज नै बढेको देखेको छु । नयाँ पुस्ता र पुरानो पुस्ताको संयोजनबाट एमालेलाई बलियो बनाउँछौँ । त्यसकारण एमालेले सधैँ युवा पुस्तालाई उत्साहित बनाउँदै आएको छ ।

 जिल्लामा भइराखेको विकास विकास निर्माणलाई पार्टीले कसरी लिएको छ ? सुधार गर्नुपर्ने पक्ष के देख्नु भएको छ ?

 दाङ सहित देशभर विकास निर्माण एउटा लयमा काम भइराखेको थियो तर संघ र प्रदेश सरकार परिवर्तनसँगै विकास निर्माणको काममा समेत समस्या र अवरोध पु¥याउने काम भएको छ । विगतको संघ सरकारले छनौट गरेका १४ सय सडक वर्तमान सरकारले काटेको छ । यसैगरेर लुम्बिनी सरकारले छनौट गरेका २७४ सडक पनि यो सरकारले हटाएको छ । यो राम्रो पक्ष होइन ।

सरकार परिवर्तन भए पनि त्यसको असर विकास निर्माणमा पर्नु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो तर त्यो हुन सकेन । वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएका राम्रा योजना र बजेट हटाउने काम गरेर विकासविरोधी काम गरेको छ । त्यसको जनताले मूल्यांकन गर्ने छन् । अर्कोतिर जिल्लाको विकासका सवालमा पार्टी सधैँ सहयोग र सहकार्य गर्न तयार छ ।

विशेष गरेर जिल्लाको खानेपानी, सिंचाइ, खेतीयोग्य जमिन, सडक पूर्वाधार, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ भन्ने पार्टीको दृष्टिकोण छ । त्यसको लागि सबै राजनीतिक दलहरू र अन्य सरकोरवालासँग छलफल र सहयोग गर्न पार्टी सधैँ तयार छ ।

 अन्त्यमा केही भन्नु छ ?

 फेरि पनि धन्यवाद दिन चाहन्छु, यो विचार राख्ने अवसर दिएकोमा । जिल्ला अधिवेशन सपन्न गर्न सहयोग पु¥याउने सबै अधिवेशन प्रतिनिधि, पार्टी नेतृत्व, निर्वाचन कमिटी सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । जुन जिम्मेवारी प्राप्त भएको छ । त्यो जिम्मेवारी पूरा गर्ने दिशामा सधैँ काम गर्नेछु ।