नारायणप्रसाद श्रेष्ठ
सेवा र कर्ममा निःस्वार्थ तथा व्यवहारमा जिम्मेवारीपन मानवीय आचरण र गुण हुन् । सेवा दर्शाउनु सहयोग र सद्भाव बढाउनु यो अनिवार्य आवश्यक कर्म पनि हो । हाम्रो संस्कृति र परम्परागत मान्यता तथा पुर्खाको बलिदानीपूर्ण इतिहासले यथार्थ सत्यभित्र आफूलाई समाहित गर्नु यो हाम्रो पुख्र्यौली चिनारी पनि हो ।
जीवनमा आइपर्ने प्रत्येक विपत्तिलाई यो कतै हामै्र कर्म र व्यवहारको कारणले त भएको होइन ? यसतर्फ गम्भीर रुपले चिन्तन, मनन् गरी भावि पिढीको लागि नयाँ उर्जा र विचार संप्रेषण हुने गरी बोलीमा शिष्टता हाम्रो जिम्मेवारी पनि हो । व्यवहारमा नम्रता, कर्ममा निःस्वार्थभाव जागृत हुने गरी कर्म गर्नु हाम्रो दायित्व पनि हो । तसर्थ, बोली र कर्ममा एकरुपता ल्याइ अनिवार्य आवश्यकता भित्रको मानवीय आचरण अहिलेको आवश्यकता मानिन्छ । किनकि बोलीमा मिठास र व्यवहारमा सकारात्मक भाव यो मानव जीवनलाई सफल बनाउने उत्तम विकल्प हो ।
भनिन्छ बोल्नु बडो अनमोल हो । बोल्नुभन्दा पहिले शब्दलाई हृदयको तराजुमा तौलेर बोल्ने गर । वचन र कर्मभित्र बाँधिएको जीवनको हरेक क्षण र पलमा आवश्यक पर्ने यस्तो आचरण जीवनको सफलता र असफलतासँग गाँसिएको हुन्छ । जीवनलाई रसयुक्त वा निरसयुक्त कस्तो बनाउने हो ? यही वचन र व्यवहारमा निर्भर रहेको हुन्छ ।
वचनमा शिष्टता र नम्रता, व्यवहारमा स्पष्टता र सहयोगी भाव देखापर्नु भनेको जीवनलाई सरल ढङ्गले गतिशील बनाउनु हो तर संस्कृति र संस्कारमाथि चुनौती दिँदै तँभन्दा म के कम भन्दै आफ्नो हैसियत र औकातभन्दा माथि उठेर बढी कुरा गर्नु वचनमा सम्यमता नअपनाउनु, खरो र छुद्र वचनले आफूलाई उच्च कोटीको बनाउन खोज्नु, आफूले आफूलाई पतनउन्मुख बनाउनु हो । धर्म नै सेवा हो र सेवा नै धर्म हो भन्दै हिड्ने तर प्रत्येक आत्मालाई ठेस पुग्ने गरी वचनमा छुद्रता देखाउनु आफैलाई विचलन बनाउनु हो ।
यस्तो कर्मले आफैलाई धोका महसुस हुनसक्छ । यसले एकातिर मानवीय चिन्तनमा त्रास र अशान्ति निम्त्याइरहेको हुन्छ भने अर्कोतर्फ आफूभित्र रहेको क्षमता र विद्वत्तालाई गलत चरित्रतर्फ उन्मुख गराइरहेको हुन्छ । तसर्थ, यस्तो प्रवृत्तिलाई जन्म दिने कार्यतर्फ आफ्ना भावनाहरु मुखरित गर्नु हुँदैन । त्यसैले श्रद्धा र समर्पणमा आधारित जीवनको यथार्थ धरातलले खोजेको कर्म र व्यवहार गर्दै वचनमा शुद्धता, शिष्टता र नम्रता झल्किन जरुरी हुन्छ ।
बोल्नुभन्दा पहिले आफूले के–कस्तो कुरा, कुन प्रयोजनका लागि केकस्ता शब्द प्रयोग गर्दै विचार संप्रेषण गर्दै गरेको छु त्यसको स्वमूल्यांकन गर्दै भविष्यमा आइपर्ने कुनै पनि चुनौतीको सामना गर्नसक्ने सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न संकल्प गर्न सक्नुपर्छ । बोल्न पाएँ भन्दैमा प्वाक्क बोल्ने, बस्न पाएँ भन्दैमा थ्याच्च बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । तब जीवनले सही र स्पष्ट दिशानिर्देश गर्नसक्छ । अहिले शहीद सप्ताह प्रारम्भ भइरहेको छ । हामीलाई सही र स्पष्ट गन्तव्य दिने शहीदहरुले करणी र कथनीमा गरेको एकरुपताले हामीलाई हाम्रो भविष्य निर्दिष्ट गरेको छ । त्यसैले बोली, वचन, कर्म र व्यवहारमा एकरुपता ल्याउन जरुरी छ ।
अहिले भौतिकवादी चिन्तनले पारेको प्रभावले मानिसको वचन र व्यवहारमा फरक अनुभूति भइरहेको छ । बोल्ने एउटा गर्ने अर्कै भइ मानव चिन्तन नै धर्मराइरहेको अवस्था छ । विज्ञानको चमत्कारले विश्व साँघुरो घेरामा गुज्रिरहेको यस अवस्थामा सम्पन्न राष्ट्रहरु शक्ति हत्याउने दाउँमा आफूलाई प्रदर्शन गरिरहेको अवस्था छ । आफ्नो प्रभूत्व जमाउन विभिन्न हत्कण्डा अपनाएर आफूलाई अब्बल बनाउन लागिपरेको अवस्था छ । मानव चिन्तन साँघुरो घेराभित्र गुज्रिरहेको छ । मीठा–मीठा चक्लेट खुवाउँदै मन्द विषको सेवन गराउन मानव स्वयम् लागिपरेको छ ।
वचनमा मीठास प्रदर्शन गर्दै व्यवहारमा कठोरता र मपाइको अवस्था देखापरिरहेको छ । अर्को कुरा एकअर्काप्रति अविश्वासको वातावरण बनाउन केही तत्वहरु जुर्मुराइरहेको स्थिति पनि छ । दुःखलाई सुखमा परिणत गर्ने नाममा आफ्ना भावना र कर्मलाई स्वार्थतिर धकेलिरहेको अवस्था पनि छ । यस्तो विषम परिस्थितिमा यदि आफूले आफैलाई सम्हाल्न सकिएन, विचार संप्रेषण गर्दा अरुको अधिकार र दायित्व तथा जिम्मेवारीप्रति सचेत रहन सकिएन भने यसले वर्गासंघर्ष ननिम्तिएला भन्न सकिन्न । त्यसैले समयमै सचेत भइ सृष्टिको सर्वोत्कृष्ट संरचनामा परेको मानव जीवनको विवेकलाई विश्वासको समर्पणको आचरणमा खरो उतार्न परेको छ । तब शहीदको सम्झना र सम्मान गरेको ठहरिनेछ । नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गरेको ठहरिनेछ ।
रोग, भोक, शोक, चिन्ता र भयले अहिले मानिसको मन, वचन र कर्ममा तादम्यता मिलेको छैन । मन ताक्छ मूढो, बन्चरो ताक्छ घुँडो भनेझैँ मनले एउटा कुरा सोचिरहेको छ, तनले अर्कै परिस्थिति सिर्जना गरिरहेको छ । मानसिक अशान्तिको कारणले मानवले मानवप्रतिको सद्भावमा कन्जुस्याइ गरेको अवस्था छ । कतिपय अवस्थामा सहयोग र सद्भाव देखाउँदा देखाउँदै पनि दोष र अव्यावहारिक चरित्र भनी शंका उठाइरहेको छ । सकारात्मक प्रवृत्तिलाई नकारात्मक चिन्तन भनी मन अगाडि बढाइरहेको अवस्था छ ।
समाजमा विद्यमान कूरीति र कूतत्वको प्रभावले मानिस स्वयम् विचलित हुने परिस्थिति आइरहेको छ । श्रद्धा र समर्पणमा आधारित बोली र वचन हुँदाहुँदै पनि कर्म र व्यवहारमा नैराश्यता ल्याउने वातावरण बनाइँदै छ । विनाशकाले विपरीत बुद्धि भनेझैँ मानवीय चिन्तन र व्यवहारमा क्षणिक स्वार्थले मानिसलाई अन्धो बनाइरहेको छ । मौकाको फाइदा उठाउने केही असामाजिक तत्वले मानवीय व्यवहार र कर्ममा ह्रास आउने प्रवृत्ति प्रष्ट्याइरहेका छन् । सहयोग र सद्भाव पाउनुपर्नेले नपाइरहेको र नपाउनेले प्रशस्त पाइरहेको अवस्था देखिन्छ । अर्कोतर्फ तथानाम फलाक्दै एकआपसमा लुछाचुडी गरिरहेको अवस्था पनि छ । यस्तो परिस्थितिमा आफूले आफूलाई सम्हालेर कर्म गरिएन भने हाम्रो भविष्यले हामीलाई कुन मोडमा पु¥याउने हो ? चिन्तनको विषय बनेको छ ।
त्यसैले जीवनमा दाग लाग्ने कुनै पनि कार्य वा वचन गर्नु गराउनु हुँदैन । सधैँ सकारात्मक भाव जागृत हुनेतर्फ आफूलाई न्यौछावर गरी अन्धकारबाट उज्यालोतर्फ ल्याउने चरित्र देखाउनुपरेको छ । सामाजिक क्षेत्रमा यदाकदा देखापर्ने कूतत्वको प्रभावमा नपरी निःस्वार्थ सेवा र सद्भाव नै जीवनको उत्कृष्ट आचरण हो भनी मन्यता शिरोधार्य गर्दै असहाय, पीडित र दुःखमा परेकाहरुप्रति सकारात्मक भाव जागृत हुने कर्म र व्यवहार गर्नु परेको छ । जहाँ सेवा हुन्छ त्यहाँ सन्तुष्टि हुन्छ ।
जहाँ सन्तुष्टि हुन्छ त्यहाँ नवप्रतिभा र विचारको प्रष्फुटन हुन्छ । जीवनमा अरुको सेवामा आफूलाई समर्पण गर्नु भनेको मानवीय जीवनमा चीरकालसम्म जीवित रहनु, अरुको सम्झनाभित्र बाँचिरहनु हो । त्यसैले वचन र कर्ममा एकरुपता ल्याइ दुःख उसलाई होइन म आफूलाई परेको सम्झेर क्षणिक लोभ, मोह र अहंकारले ल्याउने चिन्तनलाई हटाइ आफूलाई परिस्कृत गर्नुपरेको छ ।
अहंकार र घमण्ड मानिसको पतनको मार्ग हो । आध्यात्मिक र भौतिकवादी चिन्तनबीचको समन्वयको अभावले उत्पन्न भएको गतिरोधप्रति ध्यान नपुगी विचारमा स्वार्थ झल्कने जुन व्यवहार २१औँ शताब्दीको विशेषता भएर देखापरेको छ, यदि यसलाई सम्यमतापूर्वक विचारयोग्य चिन्तन गरी अगाडि बढाउन सकिएन भने हामीले हाम्रो जिम्मेवारी निभाएको ठहरिन सक्दैन ।
मानव सेवा नै माधव सेवा हो भन्ने भावना जबसम्म जागृत हुने अवस्था रहँदैन तबसम्म भौतिकवादी स्वार्थपरक आसुरी शक्तिको चंगुलबाट मानिस मुक्त रहन सक्दैन । युगौँदेखि मानवोचित विचार र कर्मप्रति पुर्खाले स्थापित गरेको सत्यलाई यदि भौतिक विज्ञानले स्वीकार गर्न सकिएन भने जीवन अधोगतितर्फ उन्मुख हुन बेर लाग्दैन । तसर्थ, प्रत्येक नेपाली मनको अवस्था र परिस्थितिलाई बुझी इमानदारीका साथ सत्य र यथार्थ धरातलमा निःस्वार्थ भाव जागृत हुनु वर्तमानको आवश्यक मानिन्छ । यसैमा हामी सबैको भलाइ छ ।