कोरोनाको ग्राफ उकालो लाग्दै गर्दा जिल्लामा धार्मिक जमघट, पर्यटकीय मनोरञ्जनात्मक स्थल, उद्योग तथा व्यवसाय, सार्वजनिक यातायात, होटल तथा क्लवलगायत सरकारी सेवाप्रदायक निकायहरुमा भने भीडभाड दिनदिनै बढिरहेको छ । मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने तथा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका न्यूनतम मापदण्ड पनि पूरा हुनसकेको देखिएको छैन ।
मालपोतदेखि नापीसम्म, खानेपानीदेखि विद्युत कार्यालय जहाँतहीँ स्वास्थ्यसम्बन्धी सावधानी छैन । ठेलमठेल भीडमभिडको अवस्था कतै पनि कमी हुनसकेको छैन । यो अवस्थाले दाङ जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमणको दर अत्यन्तै बढिरहेको छ । यो दर बढेर अहिले कम्तिमा ६० प्रतिशतमा छ । यो क्रम अझै बढ्दै छ ।
विश्वस्वास्थ्य संगठनले पछिल्लो संक्रमणले विश्वमा कम्तिमा पनि तीन लाख नागरिकको ज्यान जानसक्ने प्रक्षेपण गरिसकेको छ । त्यसमा पनि पछिल्लो भेरियन्टको संक्रमण फैलने दर अत्यन्तै गम्भीर र चर्को छ । यद्यपि यो भेरियन्टले धेरै स्वास्थ्य समस्या भने ल्याएको छैन तर संक्रमण व्यापक हुँदै गए के अवस्था आउने हो भन्नेबारे स्वास्थ्य विज्ञहरुले पनि केही आँकलन गर्नसक्ने अवस्था छैन ।
विश्वभर संक्रमण फैलिइरहँदा यसबाट बच्ने पहिलो उपाय भनेको कोरोना भाइरस विरुद्धको खोप हो । जुन खोप विश्वका कम्तिमा पचास प्रतिशतभन्दा बढी नागरिकले लगाइसकेका छन् । अर्को संक्रमण रोक्ने उपाय भनेको स्वास्थ्य सावधानी हो । हामीले जुनसुकै गतिविधि सञ्चालन गर्दा पनि सरकारले तोकेका न्यूनतम स्वास्थ्य सावधानीको अवलम्बन गरेमा कोरोना संक्रमणको दर स्वतः कम भएर जान्छ । यी सबै गतिविधिहरु हुन नसकेको अवस्थामा मुलुकलाई लकडाउनमा लैजाने मात्रै हो । जुन अन्तिम विकल्प हो । जसले नागरिकका दैनिकीमा निकै कठिनाइ उत्पन्न गर्नेछ भने यसले राष्ट्रको अर्थतन्त्र समेत ध्वस्त बनाउने निश्चित छ ।
संक्रमणको दर यति व्यापक भइरहेको अवस्थामा पनि स्वास्थ्य मापदण्डको पालना नगर्नु भनेको सामाजिक अपराध हो । यसमा हरेक नागरिक संवेदनशील हुनुको विकल्प छैन । एक जना संक्रमितले लापरबाही गरेकै कारण कम्तिमा पनि ४० जनामा यो संक्रमण फैलन सक्छ । कहीँ कसैको संक्रमणकै कारण ज्यान जान समेत सक्ने अवस्था आउँछ । सम्यमित भएर कोरोना संक्रमणको चेनब्रेक मात्रै गर्न सक्ने हो भने पनि मुलुकलाई ठूलो स्वास्थ्य संकटबाट बचाउन सकिन्छ । स्वास्थ्य मापदण्डको पालना गर्न गराउनका लागि सुरक्षाकर्मी गुहारिरहनु पनि पर्ने छैन ।
कोरोना संक्रमणले विकसित राष्ट्रहरु नै संकटमा रहेको अवस्थामा नेपाल जस्तो मुलुकले स्वास्थ्य सावधानीमा हेलचक्राइ गर्नु नितान्त दुःखद् अवस्था हो । यसलाई राज्यले सामाजिक अपराधका रुपमा लिनु पर्दछ । यसलाई अब दण्डनीय बनाउन पनि उत्तिकै आवश्यकता देखिएको छ । किनकि नागरिक अझै पनि कोरोना भाइरसको विश्वव्याधिसँग त्रसित बन्न सकेका छैनन् । मानव स्वास्थ्यको घातक यो अवस्था आउन नदिन हरेक क्षेत्रको सहकार्य र सचेतना आवश्यक छ । कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।