दाङ, ७माघ । नेपाली कांग्रेस क्षेत्र नं. २ दाङले कोरोना महामारीको समयमा जनताको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
क्षेत्रीय समितिको बिहीवार बसेको बैठकले महामारीको समयमा सर्वसाधारणहरुलाई सहज तरिकाले खोपको व्यवस्था गर्न माग गरेको हो । महामारीको समयमा सर्वसाधारण जनताहरुलाई सहजरुपमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीका विरुद्धको सचेतनामा लाग्न र महामारीका कारण समस्यामा परेका समाजका अति विपन्न परिवारलाई सहयोग गर्न सम्पूर्ण पालिका तथा वडा इकाई समितिहरुलाई अनुरोध गरेको छ । साथै स्वास्थ्य मापदण्ड पालना गरेर महामारीबाट बच्न सम्पूर्णमा कांग्रेसले अनुरोध गरेको छ ।
बैठकले वडा इकाई समितिहरुको माग अनुसार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै क्षेत्रीय कार्यालयको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।