दाङ,६ माघ । बाबु आमा गुमाएका घोराही उपमहानगरपालिका वडा नं. १९ तिर्साङका शर्मिला, अशोक, दीपक र सोनिया विकको पालन–पोषण र शिक्षा–दीक्षाका लागि घोराही–४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले अभिभावकत्व लिने भएका छन् ।
घोराही–१९ राम्चेस्थित कोइलाखानीमा २०७७ फागुन १० गते पुरिएर मृत्यु भएका बुवा मोहनलाल विक र आमा शान्ति विकको २०७८ मंसिर २८ गते मृत्यु भएपछि कलिला बालबालिकाहरुको दैनिकी थप कष्टकर बनेको छ । जीवन कष्टकर भएको जानकारी पाएपछि वडा अध्यक्ष सार्कीले आफ्नै लगानीमा घरमै राखेर लालन–पालन र शिक्षा–दीक्षा दिने प्रतिबद्धता जनाएका हुन् । उनले विकको घरमा राशन, न्यायो कपडा लिएर पुगेका थिए । उनले बालबालिकाहरुको कान्छा बुवा भारतबाट फर्किएपछि घर सल्लाहमा आफूले अभिभावकत्व ग्रहण गर्ने बताए । ‘मानवता नै सबैभन्दा ठूलो कुरा हो’, वडाध्यक्ष सार्कीले भने– ‘त्यो भएर जिम्मेवारी लिएको छु ।’
बाबुआमा गुमाएका दीपक बि क अहिले १३ वर्षका भए । बहिनी सोनिया विक ११ वर्ष छिन् भने अशोक ६ वर्षका छन् । कान्छी बहिनी अहिले ११ महिनाका छिन् । साना अबोध बालबालिकाहरुलाई अहिले सानीआमाले घरमै लगेर स्याहार गर्दै आएकी छिन् । उनीहरुको लालनपालन र शिक्षा–दीक्षा कसरी अघि बढाउने भन्ने चिन्ता र चासो भइरहेका बेला वडाध्यक्ष सार्कीले अग्रसरता लिएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले अभिभावक गुमाएर अलपत्र अवस्थामा पुगेका बालबालिकाहरुको लालनपालन र शिक्षा–दीक्षाका लागि वडा अध्यक्ष सार्कीले लिएको पहलका लागि आभार प्रकट गरेका छन् । दीपकले एक वर्ष नबित्दै बा–आमाको किरिया गरेका थिए । घोराहीबाट २३ किलोमिटर उत्तर पहाडी भेगमा पर्ने तिर्साङ गाउँ भौगोलिकरूपमा विकट छ ।