दाङ, ६ माघ । नेकपा एमाले दाङको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । पुस २३ मा सम्पन्न एमाले दाङको १३औँ अधिवेशनवाट निर्वाचित नेतृत्वले बुधवार पदभार ग्रहण गरेको हो ।
अधिवेशनबाट हुकुमबहादुर बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको थियो । एमाले दाङ इन्चार्ज नरुलाल चौधरीले पार्टी अध्यक्ष बस्नेतलाई पदभार गराएका थिए । पार्टी अध्यक्ष बस्नेतले उपाध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण प्रसाद भुसाल र हिरादेवी पुनलाई पदभार गराएका थिए ।
पदभारसँगै अध्यक्ष बस्नेतले माघ १६ गते जिल्ला कमिटीको प्रथम बैठक बोलाउने निर्णयमा हस्ताक्षर समेत गरेका छन् । यो हस्ताक्षरसँगै एमाले दाङको प्रथम बैठक सहिद दिवसको दिन माघ १६ मा बस्ने भएको छ । पदभार कार्यक्रममा पोलिटव्यूरो सदस्य शान्ता चौधरी, लेखा आयोगका सदस्य रेवतीरमरण शर्मा, पार्टीको प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका सदस्यहरुको सहभागिता थियो ।