खेमराज रिजाल
तुलसीपुर, ६ माघ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा फैलँदा पनि स्वास्थ्य सचेतनाको स्तर भने निकै तल्लोस्तरमा झर्दै जान थालेपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी हुक्किएका छन् । सार्वजनिक यातायात क्षेत्र, पर्यटकीय एवं धार्मिक क्षेत्र, शान्ति पार्क तथा बाल उद्यान, बैंक तथा वित्तीय संस्थालगायतका प्रायः सबै स्थानहरुमा स्वास्थ्य सावधानीको मापदण्ड पालनाको अवस्था निकै कमजोर भएपछि प्रमुख जिल्ला अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘अझै पनि केही बिग्रिइसकेको छैन, अधिकतम स्वास्थ्य सावधानी अपनाउने तर्फ सबै क्षेत्र सचेत बनौं, यस्तो गर्नै सक्नुहुन्न र यदि तपाई चाहनुहुन्छ भने आजै रातिदेखि तुलसीपुरमा कफ्र्यू लगाइदिन्छु’, तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा तुलसीपुरमा बुधवार आयोजित कोभिड रोकथाममा सचेतना अभियानअन्तर्गतको सरोकारवालाहरुसँगको बहस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।
स्थानीय प्रशासनले सम्बन्धित क्षेत्रको संक्रमणको अवस्था हेरेर कडाइँ र लचकता अपनाउन सक्नेतर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारीले अब आ–आफ्नो क्षेत्रलाई संक्रमणको चेनब्रेक गर्न सोही क्षेत्रकै सरोकारवाला निकायहरु एक्सनमा जानुपर्ने बताए । ‘हामीलाई यस्तो भइरहेको छ भनेर भन्ने मात्र होइन, तपाईहरु आफै टास्क फोर्स बनाएर संक्रमणलाई परास्त गर्न लाग्नुस्, हाम्रो स्वीकृति लिइरहनुपर्दैन, जानकारी दिएमात्रै पुग्छ’, प्रमुख जिल्ला अधिकारी रोग्मीले भने– ‘कोरोना संक्रमणलाई एकल प्रयासले परास्त गर्न सकिँदैन ।’
मास्क लगाउनैका लागि स्थानीय प्रशासनले प्रहरी परिचालन गर्नपर्ने अवस्था आउन नदिनका लागि स्थानीय पालिकाका सबै सरोकारवाला सामाजिक संघसंस्थाहरु अब एक्सनमा उत्रनुपर्ने पनि उनको सुझाव थियो । ‘कोरोना परास्त गर्नका लागि सबैभन्दा ठूलो उपाय भनेकै न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गराउनु हो, अब यसमा रेस्पोन्स मात्रैले पुगेको छैन, एक्सनमै जानु उपयुक्त हुनेछ, त्यसमा साथ दिन स्थानीय प्रशासन तयार छ’, कार्यक्रमका प्रमुख अतिथि रेग्मीले भने । तुलसीपुरमा पछिल्लो एक सातामै कोरोना संक्रमणको दर कम्तीमा ५० प्रतिशतभन्दा माथि उक्लिएपछि सरोकारवाला निकाय गम्भीर बन्न थालेका छन् ।
यद्यपि बजारमा स्वास्थ्य सावधानीको अवस्था भने निकै कमजोर रहेको छ । संक्रमण पचास प्रतिशतमा फैलिसक्दा पनि मास्क लगाउनेहरु पचास प्रतिशत मात्रै छन् । जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले प्रहरीलाई देखे मात्रै खल्तीमा राखेको मास्क नाकमा लैजाने प्रबृत्ति अन्त गर्नका लागि सबै तहबाट सचेतनाको अवस्था बढाउन सुझाव दिए । साथै उनले संक्रमणले जुनसुकै क्षेत्रमा समस्या हुने भन्दै सिटामोलको अभाव हुन नदिन उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई सचेत बनाउन पनि आग्रह गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष बीरेन्द्र शाहले समस्या आफैमा रहेको बताउँदै सबै सच्चिएर गएमा मात्र सचेतनाको स्तर बढ्ने बताए । उनले सरकारी निर्णयहरु कार्यान्वयनमा ल्याउने निकाय जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमै चर्को भीड भइरहेको बताउँदै सबैभन्दा पहिले त्यहाँको भीड व्यवस्थापन गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।
कोभिड संक्रमण व्यवस्थापन, हामी सबैको दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन महाशाखाका कोरोना फोकल पर्शन विमल केसीले गत दुई साताको तथ्यांकमा १ हजारको कोरोना परीक्षण गर्दा ३६५ जनामा पोजेटिभ देखिएको तथ्यांक प्रस्तुत गरे । जुन परीक्षणको ३३ प्रतिशत हो । एक साताको तथ्यांकमा त यो संक्रमणदर कम्तीमा ५० प्रतिशत पुगेको उनको अभिव्यक्ति थियो । उनले संक्रमणमा तुलसीपुर क्षेत्रका २५ विद्यालयका करिब ९० भन्दा बढी विद्यार्थी र २० भन्दा बढी शिक्षकहरु परेको बताए ।
परीक्षणको दायरा बढाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो हस्पिटल, राप्ती प्रादेशिक अस्पताल र राप्ती आँखा अस्पताल रक्षाचौरमा निःशुल्क एण्टिजेन परीक्षणको व्यवस्थापन भइरहेको पनि बताए । साथै कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य शाखाको मोबाइल टिम बनिसकेको र सम्बन्धित क्षेत्रमा पुगेर परीक्षण गर्ने पनि बताए । तुलसीपुर उपमहानगरपालिकामा हालसम्म कम्तीमा ९८ हजारले सिंगल डोज खोप लगाएको, ७८ हजारले दुवै डोज लगाएको बताए । तुलसीपुर उपमहानगरपालिकाले करिब १ लाख ४ हजार नागरिकलाई खोप लगाउने लक्ष्य लिएको बताइएको छ । त्यसमा १२ देखि १८ बर्ष सम्मका २२ हजार विद्यार्थीहरु खोप लगाउन पाएका छैनन् ।
अन्तक्र्रिया कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेसु डा. विनोद सिंहले अस्पतालको कोरोना इकाईमा २० बेड एनआइसियु, १० बेड आइसियुलगायत कम्तीमा ६० जना सम्मलाई उपचार गर्न सकिनेगरी बेड व्यवस्थापन भइसकेको बताए । यद्यपि आइसियु, एनआइसियु र एचडियु बेडमा अक्सिजन पाइपलाइन विस्तार भैनसकेको बताउँदै त्यसका लागि प्रदेश सरकारबाट तत्काल बजेट व्यवस्थापनका लागि पनि सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा अनुसन्धान कार्यालय दाङका प्रमुख एसपी अर्जुन भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सरसफाई अभियन्ता विमल रिजाल, संघका कोषाध्यक्ष देवबहादुर केसी, जेसीसका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक नारायण भण्डारी, लायन्स क्लव अफ दाङका अध्यक्ष टेकनप्रसाद कँडेल, रोट्रयाक क्लव अफ तुलसीपुरका अध्यक्ष हेमराज बस्नेत, यातायात व्यवसायी दिपक बुढाथोकीलगायतले अब कोरोना भाइरसको संक्रमण फैलन रोक्न तत्काल आफूहरु एक्सनमा जान तयार रहेको अभिव्यक्ति दिएका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका थिए । यसैबीच प्रतिनिधित्वमूलक सहभागितामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा कोरोना संक्रमणको चेनब्रेक गर्न स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका संयोजक रहने सो टिमले बिहीवारदेखि नै बजारमा स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने, सचेतना फैलाउन बिहीवारैदेखि बजारमा माइकिङ गर्ने, भीडभाड हुन नदिन बैंक तथा वित्तीय संस्था, मालपोत र नापी कार्यालय, विद्युत र खानेपानी कार्यालयमा एउटा टोली बनाएर खटाउने पनि निर्णय भएको छ । साथै मास्क वितरण अभियानसँगै मास्क नलगाउनेलाई नैतिक जरिवाना गराउने पनि सो टिमले गर्ने बताइएको छ ।