सधैं सडकमै कार्यक्रम गर्नुपर्छ ?

बालाराम खड्का
तुलसीपुर, ३० पुस । तुलसीपुरको वीपी चोकको पूर्वतर्फ कपाल काट्ने व्यवसाय सञ्चालन गरेका ठाकुरले पुस महिनामा करिब ४÷५ हजार घाटा व्यहोरेको गुनासो गर्दै थिए । उनले अन्य कारणले नभई सडक जाम गरेर पटक–पटक कार्यक्रम गर्दा आफ्नो व्यवसायमा समस्या परेको बताए । ‘के सडकमै कार्यक्रम गर्नुपर्छ ?’, अर्का व्यवसायीले भने ।

त्यस्तै अन्य व्यवासायीहरूले पनि विभिन्न समयमा सडक अवरुद्ध गरेर सार्वजनिक कार्यक्रम सडकमा गर्दा आफूहरूको दैनिक व्यवसायमा ठूलो नोक्सानी हुने गरेको गुनासो गरेका छन् । ‘न कसैले देख्छ, न लेख्छ, सधैँ यस्तै हुन्छ, न कसैले रोक्छ’, व्यवसायीले भने, ‘भाडा तिर्ने बेला साहुले एक दिन पनि पर्खने होइन, व्यापार आज पनि भएन, बाटो जाम छ, कोही आउदैनन् ।’

तुलसीपुरको वीपी चोकको पूर्वतर्फ व्यापार गर्ने व्यवसायीहरूले सडक अवरुद्ध गरी कार्यक्रम गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो गर्ने गरेका छन् । ‘सडकमै कार्यक्रम गर्दा हामीलाई निकै समस्या हुने गरेको छ, यसको विकल्प खोज्नुपर्छ’, व्यवसायी प्रकाश श्रेष्ठले भने । सडक अवरुद्ध गरेर कार्यक्रम गर्न नपाइने भए पनि तुलसीपुरको वीपी चोक आसमासमा यो निरन्तर चलिरहेको छ ।

दिनभर सडक अवरुद्ध हुँदा आफूहरूको व्यापार चौपट हुने व्यवसायीहरू बताउँछन् । सो क्षेत्रमा बैंक तथा अन्य संघसंस्थाहरू कार्यालय रहेकाले दिनभर कोलाहल समेत हुने गरेको भन्दै समस्या हुने गरेको गुनासो बताउँछन् । राजनीतिक दलदेखि विभिन्न सांस्कृतिक कार्यक्रम कहिलेकाहीँ बाटै छेकेर भेला वा सम्मेलन गर्छन् । यस्ता कार्यक्रमले सिधै व्यवसायी, बजार र यातायात सोवामा असर पार्छ । यसै त साँघुरा सडकका कारण तुलसीपुर बजारमा सवारी साधनको व्यवस्थापन चुनौतीपूर्ण छ, त्यही माथि बीच सडकमै हुने त्यस्ता कार्यक्रमले यातायात सेवा समेत थप अस्तव्यस्त हुने गरेको छ ।

यसै साता तुलसीपुरको वीपी चोकमा तीनवटा राजनीतिक दलका जनसभाहरू सडक बन्द गरी भएका थिए । सभा तथा कार्यक्रमका लागि अन्य स्थान नभएको भने होइनन् । तुलसीपुरमा थुप्रै पार्टी प्यालेसदेखि अरनीको खुल्ला मैदान छ तर सबैको रोजाइमा सडक नै पर्ने गरेको छ । ‘कार्यक्रम गर्न सडक नै जाम गर्नुपर्छ भन्ने होइन खुल्ला मैदान काफी छ’, स्थानीय बोधिलाल घिमिरेले भने ।
उनले तुलसीपुरको बीच भाग यहाँ भएको र धेरै मान्छे यहाँ आउने भएकाले पनि यस्ता कार्यक्रम गरेको हुनसक्ने बताए ।

‘आफ्नो अधिकार प्राप्तिका लागि अरुको अधिकार हनन् गर्नु राम्रो होइन’, उनीहरू भन्छन् । त्यस्तै सडक अवरुद्ध गरेर कार्यक्रम गर्न नपाइने भए पनि व्यावहारिकता हेरेर छोड्नु परेको एक अधिकारीले बताए । ‘खास त मिल्ने होइन तर हामीलाई पनि बाध्यता छ, कहिलेकाहीँ व्यावहारिकता हेरिदिनुपर्ने हुन्छ, के गर्नु’, उनले भने । सबैको जमघट हुने र मानिस पनि भेला हुने स्थान वीपी चोक भएकाले सबैको रोजाइमा त्यो चेक पर्ने भएकाले कार्यक्रम आयोजना गरेको आयोजकहरू बताउँछन् ।