घोराहीमा माघको पहिलो हप्तादेखि जग्गा नापजाँच र नक्सांकनको काम हुने

दाङ,२८ पुस । घोराहीमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा उपलव्ध गराउनका लागि माघको पहिलो सातादेखि जग्गा नापजाँच र नक्सांकनको काम सुरु हुने भएको छ ।

बुधवार बसेको घोराही उपमहानगरपालिकाको ११७ औं कार्यपालिका बैठकले यहि पुस २४ गते राष्ट्रिय भूमि आयोग र घोराही उपमहानगरपालिकाविच भएको सम्झौता बमोजिम माघको पहिलो हप्तादेखि भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा उपलव्ध गराउनका लागि नापजाँच र नक्सांकन गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिएका छन् ।

उनले यस्तो महत्वपूर्ण बैठकको निर्णयमा वडा नं। ३, ४, ५, ६, ८, १०, १२, १४, १५, १६ र १७ नम्वर वडाका अध्यक्षहरुसहित कार्यपालिका सदस्य डिल्ली नेपाली अनुपस्ति भएको भएको जानकारी दिए ।

तर वडा अध्यक्षहरुले १० औं नगरसभाको विषयलाई नटुंग्याएर एकलौटी रुपमा प्रक्रिया मिचेर नगर प्रमुख अघि बढ्न खोजेकाले आफुहरु बैठकमा सहभागी नभएको बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं। १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले नगरसभामा उठेका विषयहरु समन्वय, सहकार्य र छलफलका माध्यमबाट समाधान गरेर अघि बढ्नुपर्ने भएपनि एकलौटी रुपमा अघि बढ्न खोज्दा आफुहरु बैठकमा सहभागी नभएको बताए । तर आफुहरु भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासलाई जग्गा उपलव्ध गराउने विषयमा गम्भीर भएको बताए ।

‘भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा उपलव्ध गराउनका लागि नापजाँच र नक्सांकनको काम सुरु गर्ने विषयमा हाम्रो विमति होइन’,वडा अध्यक्ष डाँगीले,‘नगरसभाको विषयमा उठेको विषय नटुंग्यार अघि बढ्न खोजेकाले बैठकमा सहभागी नभएका हौ ।’ उनले नगरभित्रको विवाद समाधानका लागि छलफल,समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

कांग्रेस, माओवादी र समाजवादी पार्टीबाट निर्वाचित ११ जना वडा अध्यक्षसहित एक जना कार्यपालिकाले १० औं नगरसभाको विषयवस्तु टुंगो नलगाएर प्रक्रिय मिचेर अघि बढ्न खोजेकाले बैठकमा बहिष्कार गरेको बताएका छन् । घोराही उपमहानगरपालिका नगर कार्यपालिकामा २९ जना रहेका छन् । जसमा नगर प्रमुख, उपप्रमुखसहित १९ जना वडा अध्यक्ष र ८ जना मनोनित सदस्यहरु रहेका छन् । प्रक्रिया मिचेर अवैधानिक ढंगले नगरसभा पास गरिएको भन्दै घोराही उपमहानगरपालिकाको दशौ नगरसभा पनि बहिष्कार गरिएको थियो ।