विमला योगी महिला सशक्तीकरण अभियानकी अभियन्ता हुन् । कम्तीमा २८ बर्ष उनी यही अभियानमा निरन्तर छिन् । त्यसो त महिला सशक्तीकरणका माध्यमबाट समाज रुपान्तरणको सपना देख्ने योगी यसैबाट समाज रुपान्तरणको परिकल्पना गर्छिन् । समाज रुपान्तरण हुन सकेमा मात्रै राजनीतिक रुपान्तरण सम्भव हुने उनको विश्वास छ । यही कारण पछिल्लो समय उनले राजनीतिलाई पनि सँगसँगै अघि बढाउन खोजेको संकेत देखिन्छ ।
वि.सं. २०२७ सालमा चौघेरामा जन्मिएकी योगी शिक्षा क्षेत्रमा पनि अग्रणी महिलाका रुपमा चिनिन्छिन् । समाजशास्त्र र अर्थशास्त्रमा समेत दख्खल राख्ने योगीले यी दुवै विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् । यद्यपि अध्यापन पेशा उनको प्राथमिकतामा परेन । समाज रुपान्तरणलाई उनले आफ्नो विजनेश बनाएकी छिन् । प्रतिफल कति आयो मापन भइरहेको छ । वि.सं. २०३६ सालको जनमत संग्रहकै समयमा लोकतान्त्रिक आन्दोलनमा जोडिएकी विमला वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरिन् ।
वि.सं. २०५० सालमा महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनीतिकरुपमा सशक्त बनाउनका लागि नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना गरी संस्थापक अध्यक्ष बनेकी उनले महिला संघ दाङको संस्थापक अध्यक्षको भूमिका पनि निर्वाह गरिन् । कांग्रेसको भर्खरै सम्पन्न चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत बनेकी योगीसँग महिला सशक्तीकरणसँगै राजनीतिमा महिलाहरुको भूमिकाका विषयमा समेत केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।
कांग्रेसको चौधौं महाधिवेशनमा सहभागी भएर आउनुभो, कस्तो पाउनुभो महिला सहभागिता ?
नेपाली कांग्रेसको महाधिवेशन भइरहँदा नेपालमा एमाले, माओवादी र राप्रपाका पनि केन्द्रीय महाधिवेशन भएको देख्यौं । महाधिवेशनको शैली हेर्दा मलाई नेपाली कांग्रेस सबैभन्दा बढी लोकतान्त्रिक पार्टीजस्तो लाग्यो । तल्लो तहबाटै छनोट हुँदै महाधिवेशनमा पुग्दा र त्यहाँ आफूले चाहेकाहरुलाई नेतृत्वमा पु¥याउन पाउँदा निकै गौरवको अनुभूति भएको छ ।
म पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय महाधिवेशनमा सहभागी भइरहँदा त्यहाँ २१ बर्षीया युवतीदेखि ७३ बर्षीया बृद्धा हजुरआमा जस्ताहरुको सक्रिय उपस्थितिले मलाई निकै भावविभोर बनाएको थियो । त्यहाँ दलितहरु थिए, त्यहाँ आदिवासी जनजातिको प्रतिनिधित्व थियो, त्यहाँ मधेसीहरु सहभागी थिए, त्यहाँ मुस्लिमहरु सहभागी थिए । अर्थात आम नेपालीहरु जोडिएका थिए महाधिवेशनमा ।
समावेशिता भनेको यही रहेछ भन्ने आत्मबोध भयो, त्यो महाधिवेशनको रंगीविरंगी फुलवारीमा । महिला सहभागिताकै कुरा गर्ने हो भने त्यहाँ नेपाली कांग्रेसको विधानले तोकेबमोजिम महिलाहरुको पनि उत्साहजनक प्रतिनिधित्व मैले पाएँ ।
तपाईले उत्साहजनक सहभागिता भनिरहँदा महिलाहरु त प्रतिनिधित्वमै सीमित रहेको देखियो, माथिल्लो नेतृत्वमा आउन सकेको देखिएन नि ? के नेतृत्वमा आउन फेरि विधान संशोधन गर्नुपर्ने हो ?
हो, महिलाहरु उपल्लो तहको नेतृत्वमा आउन नसकेको यथार्थ हो । यसलाई विधानले रोकेको होइन, विचारले रोकेको हो । अब महिलाहरुलाई नेतृत्वमा पुराउन विधान संशोधन होइन, विचार संशोधन गर्न आवश्यक छ । यो भन्नुको मतलव के हो भने हाम्रो समाज अझै पनि पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेको छैन । महिलाहरु अक्षम भएर पनि उपल्लो तहको नेतृत्वमा पुग्न नसकेको होइन, उहाँहरु (पुरुषहरु)लाई भागवण्डा लगाउँदा लगाउँदै महिलालाई माथिल्लो नेतृत्वमा लैजानुपर्छ भन्ने सोच आउन सकेन ।
तैपनि उपाध्यक्षमा महिलाले नेतृत्वमा आउन जमर्को गरेको हो । एउटा महिलाले कुशलरुपमा आफ्नो परिवार चलाइरहेकी हुन्छे भने पार्टी चलाउनु र देश चलाउनु पनि त त्यस्तै हो नि । जुन केतावेइ चन्द्रमामा पुगेकी छिन्, पासाङल्हामु शेर्पा सगरमाथामा, सुशीला कार्कीले सर्वोच्च न्यायालयको सफल नेतृत्व गरिसकेकी छिन् भने राष्ट्रपनि पनि महिलाले चलाएकै अवस्था हो भने महिलाले सक्दैनन्, सक्षम छैनन् भन्ने अवश्य होइन ।
महिलाहरुलाई नेतृत्वमा ल्याउन विधान संशोधन गरेर हुँदैन विचार परिवर्तन गरी अवसर प्रदान गर्न नितान्त आवश्यक छ भन्ने मलाइ लाग्छ । पछिल्लो समयमा महिलाहरुको सामाजिक चेतनास्तर, राजनीतिक चेतनास्तर एवं आर्थिकरुपले पनि केही आत्मनिर्भरताको अवस्था विस्तारै सिर्जना हुन थालेको छ । हेरौं, अर्को महाधिवेशनमा अधिकांश स्थानमा महिलाहरुको नेतृत्व जम्नेछ भन्नेमा हामीहरु निकै आशावादी छौं ।
तपाई वडाबाट चुनिँदै महाधिवेशन प्रतिनिधि बन्दासम्म निकै सकस पनि भयो है, यस्तो किन भइरहेको छ, सक्षमलाई माथि पुग्न ?
सबैभन्दा पहिले त सक्रिय सदस्यता वितरणबाटै यो विषयमा प्रवेश गर्न चाहन्छु । विचारमा आवद्ध भएकाहरुलाई सक्रिय सदस्यता दिन निकै समस्याहरु छन् । सक्रिय सदस्यता दिने भनेको तल्लो तहले हो । तर धेरै क्रियाशील व्यक्तिहरुलाई सक्रिय सदस्यता दिन तलैबाट रोकिन्छ । यो राम्रो लोकतान्त्रिक अभ्यास होइन ।
विचारमा आवद्ध भएकालाई पनि सक्रिय सदस्यता दिन रोक्नुहँुदैन भन्ने मलाइ लाग्छ । हो यही कारण वडादेखि महाधिवेशन प्रतिनिधि बन्न निकै सकसको अवस्था पनि छ । यसलाई रोक्नका लागि प्रजातान्त्रिक तवरबाट सक्रिय सदस्यता वितरणको व्यवस्थापन पार्टी नेतृत्वले मिलाउनुपर्छ । टिम बनाएर जान खोज्ने प्रयास भनेको वडाबाट मात्रै भएको हो । माथि पुग्दै जाँदा को मान्छे कुन गुटमा भन्ने पत्तै हुँदैन ।
वडा तहबाटै टिम बनाएर लड्ने प्रबृत्तिलाई रोक्न नितान्त आवश्यक छ । पार्टीभित्र अन्तरसंघर्ष आवश्यक हुन्छ तर अन्तरसंघर्षका नाममा गुट–उपगुट बनाएर पार्टीलाई कमजोर बनाउने खेलमा कुनै पनि राजनेता लाग्नुहुन्न भन्ने मेरो मान्यता हो ।
तपाई सामाजिक अभियानसँगै राजनीतिमा पनि सक्रिय हुन थालेको अनुभूति हुन्छ, राजनीतिमा जोडिनुको कारण ?
हामी समाज रुपान्तरणका कुरा गर्छौं, महिला सशक्तीकरणका कुरा गर्छौं, समावेशिताका कुरा गर्छौं । हरेक क्षेत्रमा समृद्धिका कुरा गर्छाैं । यी सबैलाई सम्बोधन गर्ने भनेको राजनीतिले नै हो । जब समाजका सबै तह र तप्काको राजनीतिको माथिल्लो तहसम्म पहुँच हुँदैन, यी सबै कुरालाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सम्भव छैन । यी सबै कुरा कार्यान्वयनका लागि राज्यले नीति निर्माण गर्न नितान्त आवश्यक छ ।
मुलुकलाई नेताले होइन, नीतिले डो¥याउनुपर्छ । यी सबथोक गर्नका लागि नीति निर्माण तहसम्म पहुँच पुग्नु नितान्त आवश्यक छ । सधै सडकमा कराएर मात्रै सम्भव हुँदैन, चौतारोमा गफ गरेर मात्रै पुग्दैन, कुनै गैरसरकारी संस्थामा वकालत गरेर मात्र पनि पुग्दैन । यसका लागि नीति निर्माण गर्ने सिंहदरवार नै हो । त्यसका लागि राजनीतिको भ¥याङ चढ्नुको कुनै विकल्प छैन । ड्रास्टीक चेन्ज ल्याउनका लागि नेतृत्व तहमै पुग्नुपर्छ । यही अर्थमा मैले राजनीतिलाई थप क्रियाशील बनाएको अवस्था हो ।
राज्यले महिलाका नाममा बजेट परम्परागत ढंगमा विनियोजन गर्दै आएको छ । तर अब महिलाहरु सिलाई–कटाईमा मात्र सीमित छैनन् नि ? उनीहरु पनि आधुनिक सूचना प्रविधिमा जोडिइसकेका छन् । त्यसमा पनि राज्यलाई प्रेसर क्रियट गर्न राजनीतिमा महिला सहभागिता मात्रले पुग्दैन, नेतृत्वमै महिला पुग्नु आवश्यक छ । अहिले समाजमा जुन किसिमका असमानताहरु छन् यी सबैलाइ विस्तारै प्रतिस्थापन गरी असमानता र विभेदको अन्त गरेर सुसंस्कृत समाज निर्माणका लागि पनि मेरो राजनीतिमा क्रियाशीलता बढेको हो भन्ने पनि स्मरण गराउन चाहन्छु ।
तपाईको राजनीतिक पृष्ठभूमिका विषयमा पनि थोरै जानकारी गराइदिनुस् न ?
सर्वप्रथम त मैले आर्थिकरुपमा सक्षम हुन नसकेका महिला दिदिबहिनीहरुलाई समेटेर महिलाहरुकै आर्थिक समृद्धिका लागि एउटा सहकारी स्थापना गरें । त्यसपछि नेपाल महिला सामुदायिक केन्द्रको स्थापना पनि त्यसकै लागि थियो । मेरो चाहना भनेको विपन्नहरुलाई आर्थिक, राजनीतिक र सामाजिक रुपमा सशक्त बनाउने थियो । महामानव विश्वेश्वर कोइरालाको आर्थिक समाजवादको नीतिले मलाई यी सबै सामाजिक अभियानमा जोड्यो ।
त्यसैले पछि राजनीतिमा पनि डो¥यायो । महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गर्दा नेविसंघको सक्रिय राजनीतिमा समेत जोडिँदै पछिल्लो समयमा मैले आर्थिकरुपमा आत्मनिर्भर बनेपछि न राजनीति लगायतका विषयमा चासो दिने अवस्था आउँछ । त्यसपछि मैले नेपाल महिला संघ दाङको संस्थापक अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेकी छु । पछिल्लो समय म वि.सं. २०६२ सालदेखि विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुलाई राजनीतिको मूल प्रवाहमा जोड्नका लागि गठित एउटा संस्था स्कुल अफ डेमोक्रेसीलाई पनि दाङमा गतिशील र क्रियाशील बनाउँदै आए, विद्यार्थीलाई समेटेर राजनीतिक चेतनास्तर बढाउनका लागि लोकतान्त्रिक संस्था हो, यो ।
जुन तात्कालीन अवस्थामा कांग्रेस नेता मीन विश्वकर्माको अध्यक्षतामा केन्द्रमा गठन भएर हरेक जिल्लामा शाखाका रुपमा क्रियाशील रहँदै आएको छ । अहिले त भनिहाले मैले भर्खरै सम्पन्न महाधिवेशनमा म दाङ जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा पहिलोपटक चुनिएकी हुँ । मलाई लाग्छ, मेरो राजनीतिक यात्रा थप अघि बढ्ने छ भन्नेमा आशावादी छु । साथै आम अग्रज राजनीतिक गुरुहरु, सञ्चारकर्मीहरु, उद्योगी व्यवसायी, एवं नागरिक समाजको पनि साथ र सहयोगको अपेक्षा गर्दछु ।