व्यावसायिक क्षेत्रसँगै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील व्यक्ति हुन्, बलदेव योगी । २०५५ साल दाङमा बजाज कम्पनीका मोटरसाइकल भित्र्याएर व्यावसायिक क्षेत्रमा हात हालेका योगीले करिब २३ बर्षको अवधिमा विभिन्न सामाजिक संस्थाहरुमा लागेर सेवामूलक कार्य गर्दै समेत आएका छन् । कर्ममा विश्वास गर्ने सरल, सहज र सहयोगीका रुपमा परिचित योगी व्यावसायिक रुपमा नेतृत्व गर्न समेत सफल मानिन्छन् ।
व्यवसायसँगै सेवामूलक कार्य गर्नेगरी राप्ती अटो इन्जिनिरिङका माध्यमबाट व्यवसायमा लागेका उनी दाङ चेम्बर अफ कमर्शको उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा भएर काम गरिहेका छन् । उनै योगीले गोरक्ष दैनिकको साप्ताहिक खुशी स्तम्भका लागि आफ्ना खुशी क्षणहरु साटेका छन् । अहिले जस्तो डिजिटल समय थिएनन् । अहिले विश्वका हरेक ठाउँको बारेमा गुगल वा युटवका माध्यमबाट अध्ययन गर्न सकिन्छ । तर आजभन्दा करिब २५ बर्षअघि यसरी अध्ययन गर्ने सुविधा थिएनन् । विश्वको बारेमा बुझ्न पुस्तक अध्ययन गर्नुपथ्र्याे कि त ती ठाउँमामा पुगेर फर्किएका मान्छे वा त्यहाँको बारेमा पढेकाले भनेको सुन्नुपर्ने अवस्था हुन्थ्यो । मैले पनि अरुले भनेको विश्वका बारेमा धेरै सुनेको थिए । तर नेपाल बाहिर कतै जान पाएको थिएनन् ।
संयोग नै भनौ । काठमाडौमा बि.कम.अध्ययन गरेपछि युके जाने अवसर मिल्यो । त्यो अवसर मिलाइएका थिए, हाम्रो घर पर्सामा बसेर घोराहीमा रहेको हिन्दू विद्यापीठ बोर्डिङ स्कुलमा पढाउने बेलायती नागरिक ड्यान कर्सलीले । म युके अध्ययनका लागि जानमा उनको र उनका बुबाले धेरै सहयोग गरेका थिए । तर त्यो समय भिसा पाउनु चानचुने कुरा थिएन । त्यस लागि नाम आफै पढेर निकाल्नुपथ्र्याे । युके जानका लागि मैले अंग्रेजीलाई सुधार गर्न धेरै मेहनत गरेको थिए । त्यस क्रममा मलाई अंग्रेजी भाषा सिकाउनेदेखि भिसा लिन जाँदा अन्तर्वार्ताका क्रममा सोधिने प्रश्नहरुका बारेमा साइला दाई ओमभक्त योगीले मलाई धेरै सिकाउनुभएको थियो । त्यस हिसाबले मेरो हिम्मत बढेको थियो । राम्रो तयारी गरेकाले सफल हुन्छु भन्ने विश्वास थियो तर ढुक्क थिएन ।
भिसाका लागि दूतावासमा अन्तर्वार्ता दिए । अन्तर्वार्ता राम्रो भयो । पास भएसँगै मेरो युके जाने ढोका खुल्यो । ‘यो भिसा पाउँदाको क्षण मेरो खुशीको क्षण हो । जुन क्षणलाई म कहिल्यै भुल्न सक्दैन’ व्यवसायी योगीले भने । युके जाने भने पनि भिसा पाइन्छ कि नाई भन्ने मनमा डर थियो । तर अन्तर्वार्ता राम्रो भएपछि मलाई बधाई नै आएको उनले त्यो क्षणको सम्झना गरे । ‘तिमी पास भएका छौ ।
बधाई पाउँदाको त्यो क्षण म निकै खुशी थिए’, उनले भने– ‘त्यसपछि उनी रोयल नेपाल एयरलाइन्सको जहाजबाट जर्मनीको फलाइटबाट अन्तर्राष्ट्रिय एयरपोर्ट हुँदै युके पुगे ।’ युकेको साउथ चेल्सी कलेजमा ३० महिना मार्केटिङ सम्बन्धी अध्ययन गरे । त्यसक्रममा उनले त्यहाँको अवस्था, शिक्षा, व्यापारलगायको बारेमा अध्ययनसँगै अवलोकन समेत गरेका थिए । त्यसक्रममा विश्वकमै टप कलेजका रुपमा रहेका क्याम्ब्रिज विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयमा नपढे पनि त्यहाँसम्म पुगेको उनी बताउँछन् । योगीका अन्य खुशीका क्षणहरु पनि छन् । पढाईमा राम्रै विद्यार्थीमा पर्ने उनी खेलकुदका कार्यहरुमा समेत सहभागी हुन्थे । त्यो समय अहिले जस्तो मेडल जित्ने हुँदैन थियो तर बिजेता हुन पाँदा पनि निकै खुशी लाग्ने गरेको उनी बताउँछन् ।
घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आई.कम. अध्ययन गर्दै थिए । व्यवस्थापन संकायका प्रथम व्याचका विद्यार्थी समेत भएकाले कलेजमा धेरै विद्यार्थीहरु थिए । कलेजमा प्रथम व्याचमै करिब ८७÷९० जना विद्यार्थी थिए । उनका साथीका रुपमा सुवोध रेग्मी, मधुसूदन बैद्य, मनोज बुढाथोकी, दीपक श्रेष्ठ, प्रकाश जोशीलगायतका थिए । सार्थीहरुसँगै खेल खेल्ने गर्थे । व्यावसायिक खेलाडी नभए पनि कलेज अध्ययनका क्रममा टेवलटेनिस र भलिबलमा राम्रै खेल्ने गर्थे । तर विशेषगरी टेवल टेनिसमै खेल्थे । टेवल टेनिसमा उनी कलेजका विद्यार्थीहरुमा टप–३ मै पर्ने गर्थे । त्यो क्रममा धेरै पटक बिजेता समेत भएका थिए ।
‘त्यो समयमा टेवल टेनिस खेलका लागि प्रतियोगिता गरेर खेल्ने हँुदैन थियो । तर कलेजमा हामी समूह बनाएर खेल्ने भने गरिरहन्थ्यौ’, उनले भने– ‘कलेजमा खेल्ने विद्यार्थीहरुमध्ये म टप–३ खेलाडीमै पर्ने गर्थे । धेरै पटक बिजेता समेत भएको थिए ।’ त्यसो त उनी क्याम्पस अध्ययनका क्रममा केटी साथीहरुसँग मिलेर भलिवल खेल्दाको क्षणलाई समेत आफ्नो खुशीको क्षणका रुपमा लिने गर्छन् । क्याम्पस अध्ययनकै क्रममा साथीहरु मिलेर घुम्न समेत जाने गर्थे । सँगै घुम्दा साथीभाइहरुसँग मित्रता कायम गर्नेदेखि रमाइलो समेत हुन्थ्यो उनले भने ।
त्यस मध्य स्वर्गद्वारी महाप्रभुको जन्मस्थल प्यूठानको स्वर्गद्वारी पुग्दाको क्षण र घोराही उपमहानगरपालिका–१ मसिनामा रहेको झरनामा पिकनिक जाँदाको क्षणहरु पनि खुशीका क्षण हुन् । पिकनिकको बहानामा साथीहरुसँग विभिन्न पोजमा फोटो खिचाउन पाउँदा खुब खुशी हुने गरेको बताउँछन् । ‘अहिलेजस्तो समय त्यो बेला हातहात मोबाइल थिएनन्, न फोटो खिच्नलाई सबैसँग क्यामरा नै हुन्थ्यो’, उनले भने– ‘फोटो खिच्नका लागि क्यामरावालालाई खोज्नुपर्ने समय थियो, त्यो । पिकनिकमा क्यामराको व्यवस्था गरेका थियौ । जसले गर्दा साथीहरु मिलेर धेरै फोटो खिच्न पाएका थियौ । त्यो क्षण मेरो अर्काे खुशीको क्षण हो ।’
जग्गा जमिनका हिसावले हाम्रो परिवार सम्पन्न थियो । घरमा काम गर्ने मानिसहरु हुन्थ्ये । त्यस हिसाबले हामीलाई काम गर्न पर्दैन थियो । तर आमाले काममा विश्वास गर्नुहुन्थ्यो । हामीलाई फुर्सदमा बस्नुभन्दा काम गर्न लगाउनुहुन्थ्यो । मैले पनि काम गर्न पाउँदा खुशीले गरिदिन्थे । गाउँमा साथीहरुसँग मिलेर काम गर्थे । साथीहरुसँग मिलेर काम गर्दा रमाइलो हुन्थ्यो । तिनै क्षणहरुमध्ये एउटा खुशीको क्षण हो, आपका रुखहरुमा चढेर आँप झारेर साथीहरुलाइ खुवाउँदाको क्षण पनि खुशीको क्षण हो ।
‘आँपका अहिले जस्ता कलमे रुखहरु पहिले हुँदैन थिए । ठूला–ठूला रुखहरु हुन्थे’, उनले भने– ‘ती रुखहरुमा चढेर आँप टिपेर खानु बाल्यकालमा ठूलो खुशीको कुरा हुन्थ्यो । मैले पनि धेरैपटक आफै रुखमा चढेर टिप्ने, खाने र साथीहरुलाई खुवाएको छु । जुन क्षण सम्झँदा अहिले खुसी लाग्ने गर्दछ ।’ २०२६ साल मंसिर ३२ गते बुबा सुकदेवनाथ योगी र आमा रेवताकुमारी योगीको काइलो सुपुत्रका रुपमा घोराही उपमहानगरपालिका (साविक सौडियार गाविस–६ पर्सा)मा जन्मिएका थिए । योगीका पाँच÷पाँच दाजुभाई र दिदीबहिनीहरु छन् । शारदा योगीसँग बैबाहिक जीवनमा बाँधिएका योगीका एक छोरा र एक छोरी रहेका छन् ।
घोराही उपमहानगरपालिका–१६ मा रहेको जयशेर माध्यमिक विद्यालय रावतगाउँबाट (साविक प्राथमिक विद्यालय रावतगाउँ) औपचारिक शिक्षा अध्ययन सुरु गरेका योगीले उक्त विद्यालयमा कक्षा ४ सम्म पढे । त्यसपछि चौघेरामा रहेको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा ७ सम्म पढेका उनले १० कक्षा भरतपुरमा रहेको पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । काठमाडौको शंकरदेव क्याम्पसबाट बि.कम. पास गरेका योगीले बेलायतमा रहेको साउथ चेल्सी कलेजमा बिजनेश मार्केटिङसम्बन्धी अध्ययन गरेका छन् ।
२०५५ सालमा त्रिभुवननगर जेसीजका माध्यमबाट सामाजिक संघसंस्थामा आवद्ध भएका योगीको त्रिभुवननगर जेसीजको कार्यकारी उपाध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तीन कार्यकाल उपाध्यक्ष, दाङ चेम्बर अफ कमर्शको अध्यक्ष, लक्ष्मी बचत तथा सहकारी संस्थाको तीन कार्यकाल सचिव तथा अहिले उपाध्यक्ष, राप्ती सुपर टोल विकास संस्थाको पूर्व अध्यक्ष, बाल शान्तिगृह पर्साको सदस्य, नेपाल रेडक्रस सोसाइटी र नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको आजीवन सदस्यका रुपमा आवद्ध भएर काम गरिरहेका छन् । योगी दाङ चेम्बर अफ कमर्शका अध्यक्ष हुन् ।