गोरक्ष समाचारदाता
दाङ, २७ पुस । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा मेला नलाग्ने भएको हो । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए ।
आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब २ देखि ३ सय भक्तजन आउने गरेको उनले बताए । यो मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए ।
बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक दुईवटा डुंगा सञ्चालनमा ल्याएको छ । एउटा डुंगामा चारजना बसेर सयर गर्न मिल्ने प्रालिका सचिव लीलाजित नेपालीले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिसँग पाँच वर्षे सम्झौता गरी तालमा आधुनिक खालको फाइबरको डुंगा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुंगा ल्याइएको बताए ।
लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दथे । यस ठाउँमा पुसको २५ गतेदेखि चहल–पहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो । यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको संख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो ।
थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन् । दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेको भन्दै उनले मेला महोत्सवका कार्यक्रम नहुने बताए । भीडभाड हुने कार्यक्रम गर्ने समय छैन, त्यसैले सामाजिक दूरी कायम नहुने भएकाले माघीको मेला नलाग्ने जानकारी दिए ।
जिल्लाका स्थानीय तहहरुले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरुद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन् । जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ । महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए । माघी पर्वलाई सबैले सुरक्षित तरिकाले आफ्नो पारिवारिक भेटघाट गरेर मनाउन आग्रह गरेका छन् । यही पुस २७ र २८ गते घोराहीमा माघी महोत्सव सञ्चालन गर्ने योजना बनाएको थियो ।
काठमाडौंमा कडाइ
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेको छ । मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो । १८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ ।
अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्नसमेत भनिएको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ ।
२४४४ जना थपिए
मंगलवार २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ जनाको पीसीआर गर्दा ४ सय ६३ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा एकजनाको मृत्यु भएको छ भने ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ९४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ पुगेको छ भने ८ लाख १४ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ जना रहेका छन् ।
जसमध्ये ८ हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।