ओलीको बोली र देउवाको लेऊ बा

मधुसूदन सुवेदी
विगतदेखि हालसम्मको नेपाली इतिहासलाई सम्झने र समीक्षा गर्ने हो भने नेपालका ठूलो पार्टी भन्ने वा नेपालका शीर्ष नेता भन्ने बामपन्थीमा केपी ओली र प्रजातान्त्रिकमा शेरबहादुर देउवा नै हुन् । देशको राजनीतिक शक्तिको मियो पनि यी दुवैमा घुमेको देखिन्छ ।

समयको गतिवान् बेगसँगै चलिजाँदा केपी ओलीलाई चरित्रको हिसाबले बोलीको गोली मान्न थालियो । अर्थात् उनी जे बोल्छन्, जहाँ बोल्छन्, जसरी बोल्छन् त्यो सबै बोल्नका लागि बोल्छन् कि त जनमानसलाई नितान्त सुन्ने लायक बनाउनलाई बोल्छन् । उनको बोली जति दम भए पनि जति जादु भए पनि, जति आकर्षक भए पनि, जति कर्णप्रिय भए पनि, जति रोमाञ्चक भए पनि, जति उखाने–बखाने भए पनि, जति तालीको खजाना भए पनि, जति बेजोड भए पनि, जति सानदार भए पनि, जति गजबदार भए पनि त्यो बोल्दाको बखत र सुन्दाको बखत मात्र भयो । त्यसपछि त्यो बोलीको कुनै भावना, चाहना, मूल्य र मान्यता नै रहेन ।

देश र जनताका लागि जतिसुकै ठूला र मीठा–मीठा सपना देखे पनि ती देखेका सपनालाई जनतासामु जलप लगाएर बोलीमा उतारे पनि ती सबै सपना उनका लागि बिकार र बेकार भए तर देश र जनताका लागि सााकार कहिल्यै भएन । सुन्दा र बुझ्दा केपी ओलीको बोली बन्दुकको गोली समान तृक्ष्ण भए पनि छाम्दा र महसुस गर्दा सिमलको भुवासरी नै सावित भए । यो बोलीकै भरमा देश, कतिसम्म चल्छ र चल्ला आम चासोको विषय र प्रश्न हो । बोलीमा जति प्रष्ट ओली देखिएता पनि काममा अति नै अस्पष्ट र अपरादर्शी नै देखिए ।

आफ्ना लागि जे पनि गर्न चाहने र सक्नेले देश र जनताका लागि भने केवल कराउन, कुर्लन, बोल्न, भाषण गर्न, उखान हाल्न, टुक्का मिलाउन, झुम्का गाँस्न, प्रसंग जोड्न र सबैलाई हसाउनमात्र सिपालु देखिए । ओलीको बोली, आज होकि भोलि चल्ने हो कसरी जोली ? भन्ने भइसक्यो । यो बोलेर खाने बानीको जालोमा मात्र सीमित होवा वा यो रोग अरुमा पनि सर्ला ? बोलीकै भरमा यतिबेला कसैलाई चिन्ने, जान्ने, मान्ने र ठान्ने हो भने ओलीसमान अरु कोही छैनन् ।

यो बोलीको खेती कतिञ्जेल ओलीमा कायम होला र देश र जनता खाली हाँसेर र ताली बजाएर चित्त बुझाउने काम कहिलेसम्म कायम होला ? देशको महत्वपूर्ण व्यक्तिको बोल्दा ओजनदार र सानदार भलाद्मी तवरको बोली सुन्ने दिन कहिले आउँला ? उखान, चुड्किला, आहान, बखान सबैमा कण्ठस्त हुन थाल्यो । सबै सुनेर देख्यो बोलीको वजन छ कि छैन ? कसलाई थाहा छ र ? खाली देश र जनताको नाममा दुई चार कथा र टुक्का मिलाएर चुड्किला भन्ने हो भने मास र भीड जति मख्ख, त्यसपछि त बोल्नेलाई पनि जति बोले पनि भयो, सनक, आवेश र उद्वेगका भरमा बोल्ने, बोलीले देश चल्ला न चल्ला, नचल्ला त्यो आफ्नै ठाउँमा छ ।

ओलीजस्तै अर्का खापिस नेता देउवा पनि हुन् । उनी बोलीमा जति कमजोर छन् त्यत्तिकै बलिया लेऊ बा ! भनेर माग्नलाई मजबुत छन् । उनले जे पनि अरुलाई दिन चाहन्नन् । सबै आफूमै राख्न चाहन्छन् । सक्ने भए र मिल्ने भए मन्त्रीमण्डल नै आफूमै निहीत राख्थे होला । त्यसैले त सरकार बनेको ३ महिनासम्म पनि मन्त्रीमण्डल विस्तारै नगरी देश चलाउने आँट गरे । सिंगो मन्त्रीमण्डल आफैमा निहीत गर्न खोज्नेले एउटा पद र एउटा कुर्सी कसैलाई देलान् ? जतिले आश गरे पनि त्यो आश मात्र हो बरु आशा गर्दा गर्दै सास नै जाला तर देउवाले दिन जान्दैनन्, उनले केवल लिनमात्र जान्दछन् । उनले जहिले पनि लेऊ बा !

भनेर माग्न सक्दछन् तर लौ बा ! भनेर दिन सक्दैनन् । त्यसैले नेपालको राजनीतिमा नबोलेरै खाने व्यक्तिको नाम हो, शेरबहादुर देउवा । उनी जति बोल्छन्, उति बढी खान्छन् । जति अस्पष्ट बोल्छन्, त्यति स्पष्ट खान्छन् । देउवाको राजनीतिक इतिहास पनि बडो गजबको छ । पाँच–पाँच पटक देशको प्रधानमन्त्री हुँदासम्म पनि आफ्नो कार्यकालको समीक्षा गरेर आफ्ना सबल र दुर्वल पक्षको बयान गर्न चाहन्नन् । बरु उल्टै अप्ठ्यारो परेको बेलामा सबैले मलाई खा भनेर दिन्छन्, मैले के गरु बा ? भनेर प्रश्न गर्छन् । उनी आफ्नो भाग्य, तकदिर र प्रारब्थले यो अवस्थामा पुगेको स्वीकार्छन् तर देश, जनता र कार्यकर्तालाई भने लेऊ बा भनेर माग्न नै चाहन्छन् ।

उनको संस्कार लिने हो दिने होइन । १४औं महाधिवेशनमा कसरी आफूलाई पार्टीमा स्थापित गरे ? कसैले अनुमान गरेको थियो ? आफ्नो समकक्षीको रुपमा २० भोटेसम्मलाई उठाउन लगाएर दोस्रो चरणमा जाने अवस्था सिर्जना गरेर बम्पर उपहारको घोषणा गरेर आफूलाई स्थापित गर्न पुगे । हिजो शेरबहादुर देउवाको सत्तोसराप गरेर उनलाई हराउन विपक्षी कित्तामा उभिएका सानदार नेतासमेत रातारात देउवा नै आजको ईश्वर र भोलिका किशोर हुन् भन्न समेत पछि परेनन् । के थियो राग ? के थियो जादु ? के थियो टुना ? के थियो मुना ? काम ग¥यो केले ? साँच्चिकै बम्पर उपकारको कमाल हो वा पहिलेकै योजना हो ? आज पनि उनी आफ्नो नानीदेखिको बानी त्याग्न तयार छैनन् । आज पनि हिजोको गतिविधि त्याग्न तयार छैनन् ।

उनीले चाहेको काम गरेरै छोडेका छन् । यो देउवाको खेलले देश र जनतालाई कहाँ पु¥याउँला ? सबै कुरा आफूमा नै निहीत राखेर अघि बढ्ने यो संस्कारले पार्टी, देश र जनतालाई देला के ? देउवाको लेऊ बा ! ले साँच्चिकै देश र जनताको नै भाग्य चम्काउला वा पटक–पटक प्रधानमन्त्री हुन पाउने शेरबहादुर देउवाको मात्र भाग्य बनाउला ? भाग्य र तकदिर बलियो बनाउने अभियान व्यक्तिवादीमा गएर समाप्त हुने हो वा राष्ट्रवादसम्म पनि पुग्ने हो ? देउवाको आजको कदमले भोलिको भविष्य अवश्य कोर्ला ।