तुलसीपुर चक्रपथ, ‘प्राथमिकतामा नै परेन’

तुलसीपुर, २७ पुस । तुलसीपुरमा निर्माण हुने भनेको चक्रपथ डेढ किलोमिटर कालोपत्रेमै सीमित भएको छ । करिब एक दशकभन्दा पहिले रेखांकन भएको तुलसीपुरको चक्रपथ निर्माणको कामले गति लिन सकेको छैन । साविक तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि चक्रपथ रेखांकन तथा ब्यवस्थापन समिति गठन समेत भएको थियो तर पछिल्लो समयमा यो कसैको प्राथमिकतामा परेको छैन । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविसहरु पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि पछिल्लो समयमा यो प्राथमिकतामा भने पर्न सकेको छैन ।

साविक तुलसीपुर नगरपालिकाको १३औं नगरपरिषद्ले पारित गरेको चक्रपथ निर्माण कार्य केही समय रोकिएको थियो । तुलसीपुर–७ राजापुरदेखि आँखा अस्पताल रक्षाचौर हुँदै तुलसीपुरको वडा नं. ३ डाँडाखुटी हुँदै टिकरी र तुलसीपुर–१२ को टरिगाउँ हुँदै फेरि राजापुर जोडिने चक्रपथको नक्सांकन गरिएको थियो । तत्कालीन अवस्थामा काठमाडौँको एक कन्सल्टेन्सी आरडीसीले सम्भाव्यता अध्ययन पूरा गरेको थियो । साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि चक्रपथ निर्माण प्रक्रिया ओझेलमा परेको छ । बजेटको अपर्याप्तताका कारण काम अघि बढ्न नसकेको नगरपालिकाले दावी गर्दै आएको थियो ।

करिब २९ किलोमिटर लामो र ३० मिटर चौडाईमा चक्रपथ निर्माण गर्ने गरी काम अगाडी बढेको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर पवन योगीले बताए । उनका अनुसार चक्रपथ निर्माण हुने स्थानमा पहिले केही कच्ची बाटो निर्माण भएका र पछि सबै वडाहरुमा ट्रयाकसमेत खोलिए पनि चक्रपथ निमार्णका लागि अन्य कामहरु अघि बढ्न नसकेको बताइएको छ ।

तुलसीपुरमा चक्रपथ निर्माण भए सबै वडामा समान विकासका साथै सबै वडाहरुमा सडक पुग्ने भए पनि पछिल्लो समयमा आएर उपमहानगरपालिका हुँदा अन्य गाविसहरु पनि उपमहानगरमा गाभिएपछि तुलसीपुरमा बाहिरी र भित्री चक्रपथ निर्माणको बहस पनि उठेको थियो । तर पछिल्लो समयमा आएर निर्माण सुरु भएको चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन । सडक डिभिजनअन्तर्गत भवन डिभिजन कार्यालयअन्तर्गत राजपुरदेखि शान्ति पार्कसम्म एक बर्ष पहिले प्रदेश सरकारको बजेटबाट करिब डेढ किलोमिटर सडक कालोपत्रेको काम भने सुरु भएको थियो ।

चक्रपथको डिपिआर तयार पारी काम सुरु भए पनि अहिले भने यो प्राथमिकतामा पर्न सकेको छैैन । ‘चक्रपथ निर्माणको लागि यो बर्ष बजेट छैन, यो बहुआयामिक योजना भए पनि यो प्राथमिकतामा पर्न सकेन’, इन्जिनियर योगीले भने । तुलसीपुर उपमहानगरपालिकाले यसलाई सडक मातहत राखेर प्राथमिकता भने दिएको थियो । उपमहानगरले आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि १ करोड ४० लाख, त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत १ करोड ५० लाख बजेट व्यवस्था गरिएको र संघ, प्रदेश सरकारसँग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको भनेर नीति कार्यक्रम ल्याएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने प्रदेश सरकारअन्तर्गत क्रमागत योजना अनुसार चक्रपथ निर्माणको लागि आफूहरु लागे पनि अहिले प्रदेश सरकारले त्यो योजना हटाएको प्रतिक्रिया दिए । ‘चक्रपथ निर्माणको कामलाई हामीहरुले अगाडि बढाएका थियौ तर अहिले यो योजना प्रदेश सरकारले हटाएको छ । बजेट पनि छैन्’, पाण्डेले भने । उनले सबैको चासो र बहुआयामिक योजना हटाउनु दुःखद् भएको समेत बताए । ‘हामीहरु यसका लागि दुःख प्रकट गरेका छौं, अहिलेको प्रदेश सरकारले यसलाई महत्व नदिनु योजना हटाउनु राम्रो होइन’, उनले भने । त्यस्तै स्थानीयहरुले भने चक्रपथ निर्माणको कामलाई कसैले पनि प्राथमिकता नदिनु दुर्भाग्य भएको बताएका छन् ।