खेमराज रिजाल
दाङ, २७ पुस । कृषि विकास बैंक लिमिटेडको नेपालगञ्जमा रहेको प्रादेशिक कार्यालय स्थानान्तरण भई दाङ आएर आफ्ना सम्पूर्ण बैंकिङ गतिविधिहरु सञ्चालन गर्न थालेको छ । यसले आधुनिक सूचना प्रविधिको पहुचसँगै आफ्ना सेवालाई समेत डिजिटलाइज प्रविधिमा लगेको छ ।
यस बैंकका सेवाग्राहीहरुले क्रेडिटकार्ड देखि किसानकार्डसम्मको सुविधा पाउन सक्ने कृषि विकास बैंक प्रादेशिक कार्यालय घोराहीले जनाएको छ । यसअघि सुपरिवेक्षण तथा निरीक्षण कार्यालय हुँदै कृषि विकास बैंकको क्षेत्रीय कार्यालयबाट प्राप्त भइरहेको कृषि विकास सेवा संघीयतासँगै सुर्खेतमा सारिएको थियो । क्षेत्रीय कार्यालयका रुपमा यहाँको सेवा सुर्खेतमा सरेपछि यो कार्यालय राजनेताहरुको लज जस्तै बनेको थियो । बैंकिङ गतिविधिहरु बन्द रहेका थिए । प्रदेश कार्यालय भने नेपालगञ्जमा सञ्चालित थियो ।
मुलुक संघात्मक अभ्यासमा प्रवेशसँगै दाङ प्रादेशिक राजधानी घोषणा भएको करिब एक बर्षपछि कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय काठमाडौले प्रादेशिक कार्यालय दाङमा राख्ने निर्णयमा पुगेको हो । लुम्बिनी प्रदेशमा यस्ता प्रादेशिक कार्यालय दुई स्थानमा छन् । एउटा कार्यालय रुपन्देहीमा रहेको छ भने अर्को कार्यालय नेपालगञ्जबाट दाङमा आएको हो । यहाँ स्थापित कार्यालयले यस प्रदेशका बाँके, बर्दिया, दाङ, पूर्वीरुकुम, प्युठान र रोल्पा गरी ६ जिल्लालाई सेवा दिइरहेको कृषि विकास बैंक प्रादेशिक कार्यालयका कार्यकारी निर्देशक गिरिराज डाँगीले बताएका छन् ।
‘यस क्षेत्रका ६ वटै जिल्लालाई पायक पर्नेगरी कार्यालय फेरि नेपालगञ्जबाट यहाँ स्थानान्तरण भएको हो, यसले दाङलगायत सबै जिल्लाका सेवाग्राहीहरुलाई समान रुपमा पायक पर्ने हाम्रो अपेक्षा हो’, कार्यकारी निर्देशक रेग्मीले गोरक्षलाई बताए । आफूले प्रादेशिक कार्यालय यहाँ प्रस्ताव गरिरहँदा प्रदेशका प्रमुख राजनीतिक दलका नेताहरुबाट नसार्न निकै दबाव आएको पनि बताए । नेपालगञ्ज कार्यालयकै धेरै कर्मचारी संगठनका साथीहरुबाट वक्तव्यबाजी समेत भएको थियो, कार्यालय नसार्नका लागि तर संघीय संरचना सबैलाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्नु हाम्रो दायित्व थियो’, निर्देशक रेग्मीले भने ।
प्रादेशिक कार्यालयले पछिल्लो पटक किसानहरुलाई लक्षित गरी सस्तोमा कर्जा प्रवाहसँगै उनीहरुको आयस्तर उकास्न सानादेखि ठूला परियोजनासम्ममा लगानी गर्ने बताएको छ । ‘हामीले प्रोजेक्ट हेरेर किसानलाई न्यूनतम साढे ३ प्रतिशत देखि १३ प्रतिशतसम्मको व्याजदरमा ऋण प्रवाह गर्ने गरेका छौं, निर्देशक रेग्मीले भने– ‘परियोजना हेरेर किसानलाई विना धितो कर्जा प्रवाहसमेत प्रादेशिक कृषि विकास बैंकले गर्नेछ ।
प्रादेशिक संरचना भएकाले यो कार्यालयले आम नागरिकहरुलाई बैंकिङ सेवासँगै खासगरी किसानहरुलाई प्रत्यक्ष लाभान्वित गर्ने बताइएको छ । प्रादेशिक बैंकले कृषि फर्मलाई १ करोड रुपैयाँसम्म तथा प्रालिलाई ५ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने बताइएको छ । हालसम्म कृषि विकास बैंक प्रादेशिक कार्यालयय लुम्बिनीले यसको कार्यक्षेत्रअन्तर्गतका ६ वटा जिल्लामा साढे १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।
जिल्लाका अन्य बजार क्षेत्रमा शाखाहरु भए पनि विशेषगरी किसानहरुलाई सहजरुपमा कर्जा सुविधा उपलव्ध गराई आम किसानहरुको आयस्तर उकास्नका लागि प्रादेशिक कार्यालयले पृथक भूमिका निर्वाह गर्ने पनि निर्देशक रेग्मीले बताएका छन् । प्रादेशिक बैंक कार्यालयले कृषि विकास बैंक केन्द्रीय कार्यालय र अन्य ब्रान्चहरुबीच पुलको समेत काम गर्ने बताइएको छ ।
सूचना प्रविधिको पहुँच र विस्तारसँगै यस कार्यालयले एटिएम कार्ड, डेविट÷क्रेडित कार्ड, ई—बैंकिङ सेवा, अनलाइन बैंकिङ सेवा, मोवाइल एप र किसान कार्डजस्ता डिजिटलाइज प्रविधिमा समेत यो बैंक जोडिएको छ । किसानहरुले पाउने कार्डबाट अरुलाई भुक्तानी मात्र होइन, अन्यबाट आफूले समेत भुक्तानी पाउन सकिने व्यवस्था कृषि विकास बैंकले गरेको छ । ‘डेरीमा दूध बेच्न गएको किसानले पनि अब दूध बेचेको पैसा खल्तीमा बोकेर घर आउनुपर्ने छैन, किसान कार्डमार्फत सोझै उसले पैसा बैंकमा जम्मा गर्न सक्नेछ’, निर्देशक रेग्मीले भने ।
‘बैंकको नीति र नियमबमोजिम परियोजना ल्याएर आउनुस्, हामी तपाईलाई नेपाल सरकार र कृषि विकास बैंकको नीति–नियममा रहेर कर्जा प्रवाह गरी तपाईको जीवनस्तर उकास्न थप सहयोग गर्ने छौं’, निर्देशक रेग्मीले आम किसानहरुलाई आग्रह गरेका छन् । यस बैंकले निक्षेप संकलन, साना किसान कर्जा, ठूला हाइड्रो कर्जा, विनाधितो किसान कर्जा, व्यावसायिक कर्जा, सीप सिकेकालाई सानो व्यवसाय विनाधितो कर्जालगायत ठूला कृषि प्रालिहरुलाई समेत समेट्दै कर्जा प्रवाह गर्ने पनि बैंकले जनाएको छ ।