युवराज शर्मा
नेपाल भूपरिवेष्ठित देश हो । प्राकृतिक सौन्दर्यता भए पनि ओझेलमा छ । यसलाई विश्वसामु गोर्खाली नामबाट चिनाइएको छ । गोर्खा राज्य शक्तिशाली राज्य थियो । त्यहाँका राजा पृथ्वीनारायण शाहले बहादुरीका साथ नेपाललाई एीकरण गर्दा गोर्खाली फौजहरुको रणकौशलता थियो ।
त्यसलाई मध्यनजर गरेर काठमाडौं उपत्यका आक्रमण गर्दा गोर्खाली सैनिकहरुको बहादुरी रणकौशलतालाई नेवार जातिहरुले बहादुर गोर्खाली भनेका थिए । त्यस्तै भारतको ब्रिटिस सरकारका फौजहरुलाई नेपाली सेनाले लखेटे र खुकुरीले काटेका पनि थिए । उनीहरुको बहादुरी रणकौशलतालाई मुक्तकण्ठले धेरै प्रशंसा गरेका थिए । खुकुर र लाठीका हतियारले ब्रिटिस फौजलाई धपाउन सफल भएको इतिहासले नेपाल स्वतन्त्र राष्ट्र विश्वमा देखिएको हो । यो देश कसैको अधिनमा भएन । राष्ट्रप्रेम र राष्ट्रिय भावना नेपालीहरुमा थियो ।
उहिले नेपालमा गठन हुने सरकारका पदाधिकारीहरुले राष्ट्रप्रेम र राष्ट्रियताको भावना आफ्नो कार्यकालमा इतिहास रचेका छन् । त्यसमध्येका प्रधानमन्त्री कीर्तिनिधि विष्ट अग्रपंक्तिमा गणना हुन्छ । उहाँले राजा महेन्द्र शाहको शासनकालमा आफू प्रधानमन्त्री भएका बखत नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानाकामा राखिएका चेकपोष्टहरु १७ वटा थिए । यी चेकपोष्टहरु भारतीय सैनिकका थिए । नेपाल स्वाधिन राष्ट्रमा भारतीय सैनिक चेकपोष्ट राखिनु छिमेकी राष्ट्र नेपालको अनुकूलमा ठीक भएन भन्ने पत्र भारतलाई पठाउँदा भारत चिढियो ।
नेपाललाई सानो मुलुक ठानेर हेपाहा प्रवृत्ति भारतीय नेताहरुले देखाएका थिए तर प्रधानमन्त्री कीर्तिनिधि विष्टले सन् १९५० को सन्धिको कुनै वैधानिकता छैन भनेर चेकपोष्टहरु हटाइदिएका थिए । उहाँको साहसिक कदमलाई चौतर्फी प्रशंसा भयो । त्यही निहुँमा भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । छिमेकी देशप्रति भारतको हेपाहा प्रवृत्तिले नेपालीहरु चिन्तित छन् तर नेपालमा बनेको तत्कालीन सरकार झुक्न चाहेन ।
भारतले नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई भारत भ्रमणको निम्तो दिएका बखत ४ प्रकारका विषयहरुमा सम्झौता गर्न चाहेको थियो । जसमा १ नेपालको जलस्रोतमा भारतको अधिकार रहने, २. प्राकतिक स्रोत र खनिज उत्खनन्मा भारतीय अनुमति हुनुपर्ने, ३. नेपाली सेनाका लागि हतियार खरिदमा भारतीय हतियार खरिद गर्नुपर्ने, ४ नेपालको आन्तरिक सुरक्षामा भारतीय सेना परिचालन हुने थिए । राष्ट्रप्रेम र राष्ट्रिय भावना भएका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठबाट त्यस्ता विषयमा सम्झौता भएन ।
उहाँले नेपाली सेनालाई रणकौशल बनाउन र नयाँ–नयाँ हतियारहरु भित्र्याउन लाग्नुभयो । उहाँले स्वतन्त्र मुलुकले अपनाउने नीति अपनाएर कोदारी राजमार्गको बाटोबाट चीन देशसँग हतियार भित्र्याएपछि भारत चिढियो । नेपाललाई २०४५ सालमा नाकाबन्दी ग¥यो । त्यसपछि भारतीय रअका एजेण्टहरु नेपालमा फैलिए । भारतीय नेताहरुप्रति बफादार बने ।
नेपालका ७ राजनीतिक दलहरु मिलेर नेपाली कांग्रेसका नेता गणेशमान सिंहको अगुवाईमा पञ्चायती व्यवस्थालाई हटाएर लोकतन्त्रलाई प्रतिस्थापना गर्न २०४५ साल फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भयो । बहुदलीय लोकतन्त्र स्थापना भयो । आन्दोलनको उपलब्धि नेताहरुले मानेका थिए । राजा भएको लोकतन्त्र भयो । अन्तरिम सरकार गठन भयो । प्रधानमन्त्री नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई बन्नुभयो । तबमात्र भारतले २०४७ बैशाखमा नाकाबन्दी हटाएको थियो ।
भारतले आफ्नो हितका लागि नेपालको आन्दोलनकारी शक्तिलाई साथ दिँदै आएको इतिहास छ । नेपाललाई कायरतापूर्ण तरिकाले भारतीय नेताहरुले दुःख दिएको तीतो अनुभव नेपालीलाई छ । छिमेकी देशको ममता भारतीय नेताहरुले कहिल्यै देखाएनन् । दलहरुमा अन्तद्र्वन्द्व चर्काएर नेताहरुलाई उकास्दै आएको भारतीय नेताहरुले नेपालीहरुलाई द्वन्द्वमा फसायो । पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, मोहन वैद्यजस्ता नेताहरुले २०५२ साल फागुन २ गतेदेखि जनयुद्ध नामको अन्तद्र्वन्द्व चक्र्यो । धेरैलाई घरबारविहीन बनाए । कतिपयको ज्यान गयो । मानवीय र भौतिक क्षति धेरै भयो ।
अन्दाजी १७ हजारले ज्यान गुमाए । यस्तो द्वन्द्वबाट भारतले फाइदा उठायो । सीमाना मिच्यो । नेपालीहरुलाई रातारात भारतीय बनायो । अधापिसम्म यस्ता विषयहरुमा नेताहरु बोल्दैनन् । भारतले जमिन र नागरिकहरुसमेत लुटिरहेको वातावरण छ । बलियाले निर्धालाई दुःख दिनु अवसर ठान्नेहरु धेरै छन् । २०७२ सालमा भारतले तराई मूलका नागरिकहरुलाई सान्त्वना दिन चौथोपटक नाकाबन्दी ६ महिनासम्म लगायो । जुन समयमा भूकम्पले धनजनको क्षति पु¥याएको थियो । त्यस समयमा सरकार परिवर्तन भयो । प्रधानमन्त्री पदमा के.पी शर्मा ओली बन्नुभयो । उहाँले नाकाबन्दीको सामना गर्नुप¥यो ।
नाकाबन्दीको वास्ता नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरको छिमेकी देश चीनसँग पारवहन सन्धि गर्नुभयो । तत्कालीन परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघमा भाग लिँदा भारतले नेपाललाई नाकाबन्दी गरेर नागरिकहरुलाई दुःख दिएको भाषण गर्दा भारतको बदनाम भएको थियो । नाकाबन्दीको सामना गर्नुप¥यो । यातायात, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ नपाउँदा भूपरिवेष्ठित देश नेपालजस्ता देशले भोग्नुपर्ने समस्या नेपालीहरुले भोगेका थिए । व्यापार र व्यवसाय बिग्रियो । नेपालीहरुले धेरै समस्या भोगे ।
नेपाललाई चारपटक भारतले नाकाबन्दी लगायो । विहारका विहारीहरुले नेता बनेर नाकाबन्दी लगाउन लगाएको इतिहास छ । तर भारतले नेपालीहरुलाई सेनामा भर्ना गरेर पसिना र रगत बगाएर आफूलाई बलिदान गरेका छन् । उनीहरुका जहान–बच्चालाई नाकाबन्दीको समस्यामा पारेको थियो । सीमा मिच्ने, नाकाबन्दी गर्ने, सीमानाकामा बसेका नागरिकहरुलाई पारवहन सुविधामा समस्या पार्ने त्यस्ता ठाउँमा बसेका बासिन्दाहरुलाई भारतीय मूलका बासिन्दा र पहाडी मूलका बासिन्दा बीचमा अन्तर्कलह गराउने, सीमा पारका भारतीय र सीमावारका नेपालीबीचमा वैमनष्यता सिर्जना गराउने काम सीमा रक्षकहरुबाट सताइरहेको छ, दुःख दिइरहेको छ । तर नेपाली नागरिकहरुलाई नेताहरुले शान्ति प्रदान गर्न सकेका छैनन् ।
नेपालमा भएको बहुदलीय शासन कस्तो हो ? नेपालीहरुले अनुभूति गर्न पाएनन् । नेपाललाई विकास गरेर समृद्ध नेपाल बनाउनुपर्ने नेताहरुको कर्तव्य हो तर नेताहरु कर्तव्यविहीन भएपछि नागरिकहरु निराश छन् । उनीहरुको नेताहरुप्रति विश्वास हराउँदै छ । पहिलोपटक राजकीय भ्रमणमा बेलायत जाने प्रधानमन्त्री जंगबहादुर राणा थिए । वि.सं. १९०६ माघ महिनामा बेलायत भ्रमण गरेर बेलायती महारानी एलिजावेदलाई नेपालीको शक्ति र बहादुरीपनको झलक दिएका थिए । उनले ब्रिटिस इण्डियासँग हत्या, हिंसा, हत्याको प्रयास, बलात्कार, राजद्रोह, लुटपाट र डकैतीजस्ता अपराध गरी इण्डियामा गई बस्नेहरुलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने सुपुर्दगी सन्धि गरेका थिए ।
साथै समाजमा अपराध गर्नेहरुलाई जहाँ गए पनि कानुनी प्रक्रियाअनुसार सजायको कानुनी व्यवस्था गरेका थिए । भारतले नेपालको जमिन हडप्छ भनेर सीमानामा पिलर बनाएका थिए । अहिले पनि ती पिलरहरुलाई जंगेपिलर भन्छन् । इण्डिया ब्रिटिस सरकारले कब्जा गरेको जमिनका बदलामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरु विनासर्त ल्याएका हुन् । उनमा राष्ट्रप्रेम र राष्ट्रिय भावना भियो ।
अहिले विश्वका विकसित देशहरु चन्द्रमामा बस्ती बसाउँदै छन् । ती देशहरुले गरीव र विपन्न देशहरुलाई सहयोग दिइरहेको छ तर दिएको सहयोग सदुपयोग नगर्ने सरकार पनि छन् । हामी देश बनाउँछौं भन्ने नेताहरु पनि नेपालमा प्रशस्त मात्रामा छन् । नाकाबन्दीका समयमा भारतलाई नेपालको नाकाबन्दी गराउन लगाउने दुईजिब्रे नेताहरु पनि थिए । भारतले कहिले तेलमा नाकाबन्दी, कहिले प्याजमा नाकाबन्दी, कहिले आलुमा नाकाबन्दी, अबको नाकाबन्दी नूनमा हुनेछ । यस्ता कुराले भारतीय मूलका नेताहरु हाँस्लान् तर नूनमा नाकाबन्दी भएमा नून खाएर मर्न तयार भएको कुखुराको भाले बन्ने नेताहरु नेपालका प्रशस्त मात्रामा छन् । नूनमा नाकाबन्दी भएमा नून खाने नेताहरुको मनोबल बढ्नेछ ।
नेताहरुले सोच्नुपर्छ कि हामी नेपालीहरु नूनमा परनिर्भरता कहिलेसम्म हुनुपर्ने हो ? यसमा के गर्न सकिन्छ ? राष्ट्रवादी नेताहरुले सोच्ने समय भएको छ । मानिसको दैनिकी पेट्रोलियम पदार्थ नभए पनि चल्ला तर नून मानिसका लागि नभै नहुने खाद्यवस्तु हो । तसर्थ अब भारतले नाकाबन्दी नूनमा लगाएर नेपालीहरुको भान्सा खल्लो हुने मात्र होइन, मानिसहरुको स्वास्थ्यमा असर पर्नेछ । त्यस समयमा नेपाली नेताहरुले के भनेर नागरिकहरुको मन बुझाउँलान् ? भारतीय नेताहरुलाई कसरी शान्ति प्रदान गर्लान्, सोचनीय अवस्था हुनेछ । नेपालीहरुले भारतबराट गराइने नाकाबन्दीका सास्तीहरु धेरै मात्रामा भोगेका छन् । नाकाबन्दी गरेर नेपालीहरुलाई चिढाउने काम भारतले गर्नुहुन्न भनाइ नेपालीहरुको छ । छिमेकी देशप्रति गर्ने व्यवहार भारतीय नेताहरुले बिर्सनु हुँदैन ।