बुधवार दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटा क्षेत्रमा गरिएको एन्टिजेन परीक्षणमा कम्तीमा १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । बुधवार संक्रमित यो तथ्यांकसहित केही महिनायता तुलसीपुरमा मात्रै ३९ पुगिसकेको छ ।
जिल्लाका अन्य पालिकाहरुमा पनि संक्रमितको संख्या यसरी नै बृद्धि भएको हुनसक्ने अनुमान गरिएको छ । किनकि अन्य पालिकाहरुमा लक्षण देखिएका बिरामीलाई पनि पालिकाहरुले निःशुल्करुपमा एन्टिजेन परीक्षणको व्यवस्थापन गर्न चाहेका छैनन् । परीक्षण गरिएका नमुनाका आधारमा देखिएको यो संक्रमण कम्तीमा पनि दश प्रतिशतभन्दा बढी हो । विश्व स्वास्थ्य संगठनले परीक्षण गरिएको नमुनाका आधारमा ५ प्रतिशतभन्दा बढीमा संक्रमण देखियो भने त्यसलाई महामारीका रुपमा लिइन्छ ।
यो समयमा उच्च सावधानीसँगै सम्पूर्ण स्वास्थ्य उपचार एवं व्यवस्थापनका गतिविधिहरु चलायमान हुनुपर्दछ । तुलसीपुरको संक्रमण पछिल्लो समयमा एउटा विद्यालयबाट फैलिएको छ । संक्रमण फैलिएसँगै विद्यालय बन्द भएको छ । संक्रमितलाई होम आइसोलेसन वा क्वारेन्टाइनमा राखिएको छ । यसपछि अन्य विद्यालयहरुमा पनि संक्रमणको त्रास बढिरहेको छ ।
विश्व समुदाय ओमिक्रोन भेरियन्टको संक्रमणबाट ग्रस्त भइरहँदा छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण व्यापक बन्दै गएको छ । नेपाल भारत खुल्ला सीमानाका कारण भारतबाट नेपाल आउने मानिसहरुमा पनि सीमानाकामा परीक्षण गर्दा केहीलाई कोरोना पोजेटिभ देखिएको छ । नेपालगञ्ज नाकामा मात्रै केही दिनअघि भारतबाट आएका मानिसहरुमा कोरोना परीक्षण गर्दा कम्तीमा दश जनालाई पोजेटिभ देखिएको छ ।
ती नागरिकहरु नेपालगञ्जलगायत छिमेकी जिल्ला दाङका पनि हुन सक्छन् । यद्यपि त्यहाँ परीक्षण गरिएको कोरोना ओमिक्रोन भाइरस हो वा होइन भन्ने त्यहाँको परीक्षणले पुष्टि हुन सक्दैन । किनकि काठमाडौँबाहेकका जिल्लाहरुमा भेरियन्ट नयाँ भए पनि परीक्षण पुरानै किटबाट हुने भएकाले ओमिक्रोन भाइरस हो वा होइन भन्ने पुष्टि हुन बाँकी रहेको छ । सरकारले अब सीमानाकामा भए पनि ओमिक्रोनको पुष्टि हुनसक्ने किट प्रयोग गर्न जरुरी पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनकै अनुसार ओमिक्रोन घातक भेरियन्ट नभए पनि फैलन सक्ने क्षमता भने यसअघिका भाइरसको भन्दा निकै बढी हुन्छ ।
नयाँ वा पुरानै भेरियन्ट जेसुकै भेरियन्ट फैलिए पनि मुलुकलाई क्षति अवश्य हुन्छ । त्यसमा सबैभन्दा बढी जिम्मेवार र जवाफदेही स्थानीय सरकार नै हुनुपर्दछ । विश्व समुदायमा कोरोना पुनः फैलिइरहेको अवस्थामा यहाँका स्थानीय सरकारहरु भने धमाधम भीड जम्मा पार्ने मेला महोत्सवका लाइसेन्सहरु दिइरहेका छन् ।
स्थानीय प्रशासनले आँखा चिम्लेर स्वीकृति दिने गरेको छ । यो दुर्भाग्यपूर्ण अवस्था हो । कोरोना भाइरसको खोप लगाइसक्दा पनि फैलने क्रम नरोकिएको अवस्थामा यसबाट जोगिने उच्चतम विकल्प भनेकै उच्च सावधानी हो । यसमा सबै क्षेत्र गम्भीर बन्न आवश्यक छ । यो अवस्थामा सरकारले तोकेका जनस्वास्थ्यका न्यूनतम मापदण्डको अनिवार्य पालना गरौं । कोरोना संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाऔं ।