दाङ, २३ पुस । नेकपा एमालेको दाङसहित देशभरका जिल्लामा शुक्रवार अधिवेशन हुने भएको छ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशनको भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेसँगै जिल्लाका अधिवेशन औपचारिकरुपमा सुरुवात हुनेछन् । दाङ जिल्लाको १३औं अधिवेशन घोराहीको बहुउद्देश्य सभागृहमा हुने भएको हो । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ । अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० मनोनीत गरेर १३१ सदस्यीय जिल्ला कार्यसमिति हुने एमाले दाङले जनाएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले दाङले जनाएको छ । जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्ने एमाले दाङले जनाएको छ ।
‘सबै वर्ग र भूगोल मिलाएर सर्वसम्मत नेतृत्व चयनको काम हुनेछ’, एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने । अधिवेशन सम्पन्न गर्न एमाले दाङले विभिन्न उपसमिति गठन गरेको थियो । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिति, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, स्वयंसेवक तथा मञ्च व्यवस्थापन, अतिथि सत्कार तथा आवास व्यवस्थापन, सांस्कृतिक र प्रचार–प्रसार उपसमिति निर्माण गरेको थियो ।
‘सबै उपसमितिले काम सम्पन्न गरेका छन्’, सचिव बुढाथोकीले भने । उनका अनुसार शुक्रवार बिहान ११ बजेदेखि अधिवेशनको उद्घाटन कार्यक्रम शुरु हुनेछ । अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली जिल्ला आएका छन् । दाङ ज्ञवालीको गृहजिल्ला समेत हो । अधिवेशनलाई व्यवस्थित बनाउन ठूलो संख्यामा स्वयंसेवक परिचालन समेत गरिएको छ । त्यसैगरेर घोराही बजार क्षेत्र सजाउने कामसमेत भएको छ । अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागी हुनेछन् । एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनोटको काम गरेको थियो ।