भुवन पोख्रेल
कोरोना संक्रमणको महामारीको तेस्रो लहरको पारो ह्वात्तै बढेको छ । डेल्टा र ओमिक्रोन प्रजातिका भाइरस एकै साथ फैलिँदा पछिल्लो समय विश्व नै आक्रान्त बन्न पुगेको छ । नेपालमा खुला सीमा रहेको भारतमा पछिल्ला दिनमा महामारी फेरि उकालो लाग्दैछ, जुन नेपाल र नेपालीका लागि चिन्ताको विषय हो ।
भारतमा संक्रमण फैलिएपछि विस्तारै नेपाललाई पनि महामारीले गाँज्ने गरेको विगतको लहरबाट पाठ सिकेर नेपाल सरकारले रोकथाम र नियन्त्रणका प्रभावकारी उपायहरु अपनाउन कत्ति पनि ढिलाई गर्नुहुन्न । ओमिक्रोन भाइरसको संक्रमणदर डेल्टाका तुलनामा दुई–तीन गुणा बढी भएको बताइएकाले पनि सरकारले सकेसम्म चाँडो खोप नलगाएकलाई पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुपर्छ भने अर्कोतिर खोप लगाएर महिना नाघिसकेकालाई बुस्टर डोजको अभियान थाल्नुपर्छ । कोभिड ओमिक्रोन भाइरसका संक्रमित मानिसको संख्या भारतमा उकालो लागेसँगै तेस्रो लहरको त्रास बढेको छ । धेरै देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम तीव्र भएको अवस्थामा नेपालका भाइरसविज्ञहरुले तयारीमा तीव्रता दिनुपर्ने बताएका छन् ।
कोभिड १९ दोस्रो लहरबाट ऋण नपाउँदै अर्को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको छ । कोभिडको नयाँ भेरियन्टको संक्रमणले विश्वव्यापीरुपमा चिन्ता थपेको छ । ओमिक्रोन भाइरसलाई नेपाल भित्रिन नदिन हाम्रो तत्कालको रणनीति के हुनुपर्छ भन्दा विशेषतः दुई नाकामा बढी ध्यान दिनुपर्छ । पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, दोस्रो नेपाल–भारत सीमा हो । शिक्षणलाई चुस्तता दिनुपर्छ । कसैलाई संक्रमण देखिए आइसोलेसनको व्यवस्थामा जोड दिनुपर्छ । विगतमा देखिएका कमी–कमजोरीको समीक्षा गरी सुधार गर्नुपर्छ ।
ओमिक्रोनले पनि धेरैलाई प्रभावित पार्ने सम्भावना छ । ओमिक्रोन भेरियन्ट पनि तीव्र गतिमा फैलिन सक्ने भाइरस हो । ओमिक्रोनको भेरियन्टबाट जोगिनका लागि हामीले पालना गर्दै आइरहेको जनस्वास्थ्यका मापदण्ड सही तरिकाले प्रयोग गर्न सके पुग्छ । ओमिक्रोन भाइरसका लक्षणबारे पूर्ण एकीन भएको छैन । तर, दक्षिण अफ्रिकाका चिकित्सकहरुको अनुभव अनुसार लक्षण त्यति कडा छैन । अत्यधिक थकान, टाउको र जीउ दुख्नेजस्ता समस्या देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ ।
भारतभर पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । शनिवारको यो तथ्यांक शुक्रवारका तुलनामा करिब ६ हजारले बढी हो । केही दिन अघिसम्म ६–७ हजार आसपास रहेको यो संख्या एक्कासी आकासिन थालेपछि त्यहाँका संघ र प्रान्त सरकारहरु चिन्तित बनेका छन् । उनीहरुले रोकथामका उपायहरु अपनाउनका साथै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न थालिसकेका छन् । सरकारको पहिलो प्राथमिकता भनेको खोप अभियानलाई तीव्रता दिनु हो । खोप नलगाएकालाई यथाशीघ्र खोपको व्यवस्था मिलाउनुपर्छ ।
सरकारले खोप अभियान चलाउनुपर्छ । यसैगरी खोप अभियानका बारेमा सर्वसाधारणले सहज ढंगबाट जानकारी पाउने गरी प्रचार–प्रसारको व्यवस्था मिलाउन जरुरी छ । पछिल्लो समय नेपालमा मेला, महोत्सव, भीडभाडजस्ता क्रियाकलापमा नागरिक निस्फीक्री र निर्धक्क देखिइरहेका छन् । यो प्रवृत्ति घातक हुनसक्छ । घरबाहिर निस्कँदा अर्थात् भीडभाडमा जाँदा सबैले अनिवार्यरुपमा मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने र समय–समयमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने नियमको हरदम हेक्का राख्नुपर्छ ।
सरकारले सार्वजनिक यातायात, सार्वजनिक स्थलमा पनि यो नियम पालना गराउन यस्ता स्थलहरुमा भीडभाड कम गराउने पनि उपाय सोच्नुपर्छ । संक्रमण फैलिएर कडा खालका लकडाउनजस्ता प्रतिबन्धात्मक उपायहरु अपनाउनुपर्ने अप्रिय अवस्थामा मुलुकलाई नपु¥याउन समय छँदै सरकार र नागरिक दुवै सचेत बन्नुपर्छ । कोरोना रोकथाम तथा नियन्त्रणको सरकारी अभियानको होस्टेमा नागरिकले हैसे गर्नुपर्छ । विशेषगरी सरकारले अन्तर्राष्ट्रिय नाकाबाट नेपाल भित्रिनेहरुका निम्ति परीक्षण, क्वारेन्टाइनलगायतका पक्षमा पनि यथेष्ट ध्यान पु¥याउनुपर्छ ।
संक्रमणको तेस्रो लहर फैलिएर महामारीको रुप लिनुभन्दा पहिले सरकारले यस्तो दूरावस्था ननिम्तियोस् भनी यथोचित सम्पूर्ण पूर्वतयारी र पूर्व सतर्कता अपनाउनुपर्छ । संक्रमणको संख्या बढ्दै जाँदा भारतले यस्तो तयारी गरिसकेको छ । नेपालको विगतको प्रवृत्ति हेर्दा ढिलो–चाँडो संक्रमणको लहरबाट नेपाल जोगिन सक्दैन । नेपालमा पनि ढिलोचाँडो प्रकोप बढ्ने अवश्यंभावी छ । विज्ञहरुले पनि नेपाल संक्रमणबाट अछुतो रहन नसक्ने राय दिएका छन् । त्यसैले सरकारले पनि अहिल्यैदेखि अस्पतालहरुमा बेड, अक्सिजन, भेन्टिलेटर, सघन उपचार कक्ष र सम्बन्धित जनशक्तिहरुलाई तयारी र व्यवस्थित अवस्थामा राख्नुपर्छ ।
पहिलेको जस्तो अस्पताल पुगेका बिरामीले समेत उपचार नपाउने अवस्था दोहोरिन दिनुहुँदैन । सरकार र नागरिक दुवै पक्ष बेलैमा सजग र सतर्क भएर आ–आफ्नो कर्तव्य र दायित्व निर्वाह गरेर सम्भावित महामारीको उचित रोकथाम र नियन्त्रण गरेर जनधनको क्षति हुनबाट मुलुक र जनतालाई जोगाउनुपर्छ । अत्यन्त तीव्र गतिमा सुरक्षित र प्रभावकारी खोप विकास गरेर वैज्ञानिकले आफ्नो भूमिका निर्वाह गरे पनि सबैलाई खोप पु¥याउन राष्ट्रहरु असफल रहे । फितलो व्यवस्थापनका कारण ओमिक्रोन फैलिँदैछ र सीमा नाकामा सतर्कता अपनाउन आवश्यक छ । ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा परीक्षण तीव्र बनाउनुपर्छ । गत मंसिर २० मा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखियो ।
त्यसको केही दिनमै एक नेपाली नागरिकमा कोरोनाको नयाँ भेरियन्ट देखियो तर ती नागरिकको कन्ट्रयाक्ट टे«सिङका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरुपमा केही भनेन । शनिवार एकैदिन नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भयो । देशभरि २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा पिसिआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको हो । यो संख्या पुस महिनाकै बढी संक्रमण हो । भारतमा संक्रमण फैलिएको र नेपाल र भारतको सीमा जोडिएको कारणले नेपालमा सहजै संक्रमण फैलिनसक्ने विज्ञहरुको भनाइ छ । तर संक्रमण रोक्न तयारी भने चुस्त बनाइएको छैन ।
सीमा नाका खुला छन् । स्वास्थ्य मापदण्ड पालना छैन । अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् । भारतको सीमानाका र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रिने भएकाले संक्रमण रोक्न चुनौती देखिन्छ । विगतका दिनहरुमा सीमानाकामा समयमै कडाइँ नगर्दा कोरोना संक्रमण सातवटै प्रदेशमा तीव्र गतिमा फैलिएको थियो । पछिल्लो केही दिनयता दैनिक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिन्छ । अहिले मानिसहरु निर्वाधरुपमा आवत–जावत गरिरहेका छन् । माक्ससमेत लगाउन छाडिसकेका छन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन रोकथामका लागि सरकारले ठोस् योजना बनाएको छैन । तर रोकथामका लागि पटक–पटक मातहतका निकायलाई परिपत्र गर्दै आएको छ । छिमिेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिएपछि स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले मुलुकभरका सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई आग्रह गरेको छ । कोभिड महामारीको कहर अझै बाँकी छ । दोस्रो लहरको समाप्तिसँगै महामाकारीको असर कम भए पनि निश्चिन्त भइहाल्ने अवस्था छैन । भ्याक्सिनको विकास, विस्तार र उपयोगिताबाट लाभ लिन सकेका कारण नेपालमा महामारी नियन्त्रणकै अवस्थामा छ ।
महामारीका आर्थिक, सामाजिक बाछिटा भने अझै पनि उत्तिकै त्रासतिपूर्ण छन् । सामाजिक क्षेत्रमा भएको क्षति त पूर्ति गर्न सकिँदैन तर आर्थिक क्षेत्रमा भने चाँडै हामी पहिलेकै अवस्थामा पुग्न सक्नेछौं । अहिले अर्थतन्त्र लयमा फर्किने अवस्थामा फेरि ओमिक्रोनको त्रासले आक्रान्त बन्न पुगेको छ । महामारीले हामीलाई निश्चय नै इतिहासकै ठूलो पीडा दियो । महामारीको कठोर परीक्षामा उत्तीर्ण हुन नपाउँदै र अर्थतन्त्रले लय समात्न नपाउँदै फेरि त्रासदिपूर्ण स्थितिको सामना गर्नुपर्ने हो कि भन्ने तनाव सिर्जना भएको छ । हामी कोभिडको नयाँ लहरको नजिक छौं, माघ दोस्रो साता महामारी तीव्र बन्ने विज्ञहरुको आँकलन छ ।
नेपालमा कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको छ भन्ने बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एकजनाले कति जनालाई भाइरस सरिरहेको छ भन्ने देखाउँछ । आरभ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ । गत असार पहिलो साता कोभिडको दोस्रो लहर उच्च विन्दुमा पुगेर ओरालो लागेका बेला आर–भ्यालु ०.६ सम्म झरेको थियो । दोस्रो लहर उच्च हुँदाताका आरभ्यालु २ भन्दा बढी देखिएको थियो । त्यतिबेला ७५ जिल्लामा निषेधाज्ञा लगाइएको थियो । ओमिक्रोनले अमेरिका, युरोपमा मात्र नभएर छिमेकी भारतमै समेत त्रास मच्याउन थालिसकेको छ ।
भारतमा ओमिक्रोनको बढ्दो संक्रमणलाई हर्दा नेपालमा पनि तेस्रो लहर सन्निकट रहेको देखाउँछ । विगतमा भारतमा संक्रमण उकालो लाग्दा त्यसको दुई सातापछि नेपालमा पनि महामारी तीव्र बनेको थियो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी ल्याउनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरियन्टका कारण विश्वव्यापीरुपमै संक्रमण तीव्र भएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्ने देखिन्छ । डब्लुएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको देखिन्छ ।
न्यून आय भएका मुलुकमा खोपको आपूर्ति कम भएको र सिरिन्ज अभावका कारण उत्पादित भएका खोपको पनि म्याद जानसक्ने जोखिम थपिएको छ । यसले सन् २०२२ को जुलाइसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने डब्लुएचओको लक्ष्यमा चुनौती थपिएको छ । सीमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती देखिन्छ । कोरोना कहरकै बीच फेरि नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको छ ।