तुलसीपुर खानेपानीमा पदभार
बालाराम खड्का
तुलसीपुर, २२ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलब्ध गराउने परिपाटी विकास गर्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् ।
‘सबै प्रक्रिया पुगेका छन् भने उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलब्ध गराउने परिपार्टीको विकास गर्नुस्, त्यसमा सहयोग गर्न तुलसीपुर उपमहानगरपालिका तयार छ’, नवनिर्वाचित नेतृत्वलाई नगर प्रमुख पाण्डेले भने । एक घर एक धारा आफ्नो चुनावी एजेण्डा पनि रहेको बताउँदै नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा खानेपानीको सहजताका लागि हरेक विकल्पमा प्रवेश गर्न पनि नयाँ नेतृत्वलाई आग्रह गरे । अहिले उपमहानगरपालिकाले यस क्षेत्रका तीनवटा खानेपानी संस्थामा सहलगानीका योजना ल्याउन प्रयासरत रहेको बताउँदै सहलगानीका योजनाको प्रक्रिया तत्काल अगाडि बढाउन पनि आग्रह गरे ।
‘सहलगानीको प्रक्रिया चाँडै अघि बढाउनुस्, उपभोक्ताले उठाउने १० प्रतिशत रकमका सन्दर्भमा जमानी बस्नेसमेत म तयार छु’, नगरप्रमुख पाण्डेले भने । सहजरुपमा पानीको उपलव्धता मुलुकको संविधानले नै मौलिक हकका रुपमा लिएकाले त्यसलाई कार्यान्वयनमा ल्याउँदै उपभोक्तालाई मुहानदेखि मुखसम्मै शुद्ध पानी उपलव्ध गराउन पनि प्रमुख अतिथि पाण्डेले आह्वान गरे । त्यसैगरी कार्यालयलाई चुस्त बनाउन आधुनिक सूचना प्रविधिको अत्यधिक उपयोग गर्न तथा कर्मचारीको चुस्त सांगठनिक संरचना निर्माणमा लाग्न पनि उनको सुझाव थियो ।
निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा बोल्ने बक्ताहरुले जनतालाई स्वच्छ र सहजरुपले खानेपानी पु¥याउन नवनिर्वाचित पदाधिकारीहरु लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले ९ दलीय संयन्त्रले नेतृत्व चयनका लागि गरेको प्रयास सफल भएको भन्दै यो ऐतिहासिक सफलतालाई कायम राखी खानेपानीको सहज आपूर्तिका लागि सबैको साथ सहयोग रहने बताएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष खेमराज वलीले आन्तरिक कलहका कारण खानेपानीमा यसअघि केही समस्या देखिएको भन्दै आफ्नो सहयोग सधै रहने बताए ।
उनले खानेपानीभित्र भ्रष्टाचार भयो भनेर गलत प्रचार नगर्न पनि आग्रह गरे । ‘खानेपानीभित्र भ्रष्टाचार भयो भनेर भन्दै हिँड्नु आधारहीन हो, अख्तियारसम्म यो विषय पुगेको छ त्यो टुङ्गो अख्तियारले लगाउने छ’, उनले भने । उनले आफ्नो पालामा धेरै राम्रा कामहरु भएको पनि दाबी गरे । त्यसैगरी कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले विधि–विधानअनुसार संस्थालाई चलाउनुपर्ने भन्दै निजी क्षेत्रको सहयोग सधै समितिलाई रहने बताए । त्यस्तै बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतमले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्नो साथ र सहयोग सधै हुने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यमकान्त भण्डारीले खानेपानीमा केही न केही परिवर्तन गरेर देखाउने बताए । उनले सबैको साथ सहयोग र सल्लाहअनुसार संस्थाको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेका नगर सचिव रुपबहादुर खत्रीले खानेपानीलाई अव विधि अनुसार चलाउनुपर्ने भन्दै नमुनायोग्य बताउनतर्फ लाग्नुपर्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका नगरसचिव विमल पौडेलले खानेपानीको जनतालाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन र केही परिवर्तनका लागि नयाँ नेतृत्वलाई चयन गरेको भन्दै सोही अनुसार लाग्न सुझाव दिए । नेकपा माओवादीका नगरसचिव तुलाराम भण्डारीले यो पटक दलीय सहमतिले नेतृत्व चयन भएको भन्दै राम्रो काम भएको बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष विष्णु थापाले उपभोक्ताको मन जितेर काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
त्यस्तै जनता समाजवादी पार्टीका संघीय सदस्य जीवन भण्डारी, राष्ट्रिय जनमोर्चाका नगर सचिव दुर्गा भण्डारीले तुलसीपुरमा पानीको अभावभन्दा पनि व्यवस्थापन राम्रो नभएको भन्दै अहिलेको कार्यसमितिले संस्थाभित्र र मुहानहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए । पद हस्तान्तरण कार्यक्रममा नेकपाका नेता ईश्वरी पाण्डेले ९ दलीय संयन्त्र सफल हुन नसकेको भन्दै राजनीति बेइमानी भएको बताए । उनले कोषाध्यक्षमा आफ्नो पार्टीको उमेदवारले पराजय भोगेको भन्दै प्रतिबद्धता कार्यान्वयन हुन नसकेको बताए ।
कार्यक्रममा नेकपा क्रान्तिकारीका नेता ईश्वरीप्रसाद गैरे, राप्रपाका श्रीमण न्यौपाने, घोराही खानेपानीका अध्यक्ष देबीबहादुर डिसी, तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष टोपबहादुर शाह, निर्वाचन अधिकृत ध्रुव रेग्मी, भीम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख सुशील श्रेष्ठले गरेका थिए ।