मेडिकल हव बन्दै बिजौरी आयुर्वेद अस्पताल

खेमराज रिजाल
बिजौरी, २२ पुस । तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ७१ बर्षीय विष्णुप्रसाद शर्मालाई बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वास्थ्य परीक्षण गराउँदा सोमवार बेग्लै अनुभूति भयो । लामो समयदेखिको सुख्खाखोकीको चेकजाँच गराउन आयुर्वेद अस्पताल पुगेका उनले मुटुको इसिजी, मृगौलाको चेकजाँच, कलेजोको चेकजाँच, मधुमेह र उच्च रक्तचापको पनि चेकजाँच गराउन पाए ।

‘खोकी जचाएर औषधि लिन आएको थिएँ, हामीजस्ता मधुमेह रोगीका लागि निःशुल्क शिविर चलेको रहेछ, प्याकेजमा भएको सबै चेकजाँच निःशुल्क गराएर फर्के’, विष्णुले भने । आयुर्वेद अस्पतालले आफूजस्ता मधुमेह तथा प्रेसरका बिरामीहरुलाई निःशुल्क शिविर आयोजना गरेको प्रचार–प्रसार उनले गाउँमा अरुहरुलाई पनि गर्ने बताउँदै अस्पतालबाट फर्के । दंगीशरण गाउँपालिकाकी शुषमा खड्काले पनि आफ्नो बुवाको सुगर, प्रेसर, मृगौला, कलेजो, मुटु जाँच निःशुल्क गराउन पाएकोमा निकै खुसी देखिन्थिन् ।

हरेक महिना तुलसीपुरको प्रादेशिक अस्पताल तथा निजी क्लिनिकमा महंगो शुल्कमा सुगर र प्रेसर जचाउँदै आएकी शुषमाले बिजौरीमा निःशुल्क डायाबिटिज क्याम्प चलेको जानकारी पाएपछि सोमवार विहानै खालि पेट अस्पताल आएको बताइन् । ‘खालि पेटको रगत जाँच गराएँ, यतै होटलमा खाना खाएर फेरि रगत जचाएँ र रिपोर्ट पनि आजै देखाएर फर्कदैछु’, शुषमाले भनिन् । मधुमेह तथा उच्च रक्तचापका यस्ता दीर्घरोगीहरुका लागि अस्पतालले सके महिनैपिच्छे, नसके ६÷६ महिनामा भए पनि यस्ता क्याम्प राखे आफूहरुलाई सहयोग पुग्ने उनको विश्वास थियो ।

विष्णु र शुषमा मात्र होइनन्, सोमवारसम्म करिब एक सय जनाले निःशुल्क डायबिटिज क्याम्पमा सेवा लिइसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विशेषगरी मधुमेहका दीर्घरोगीहरुका लागि निःशुल्क डायबिटिज क्याम्प सञ्चालन गरेको छ । दीर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य सेवाको सामाजिक दायित्वअनुरुप यो शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ । डायबिटिज शिविरमा सुगरको पिपी, फास्टिङ, मृगौलाको क्रिटिनिन्, रगतको कोलस्टोरल, मुटुको इसिजी तथा उच्च रक्तचापको पनि निःशुल्क जाँच भइरहेको छ । यी सबै परीक्षणका लागि निजी क्लिनिक तथा प्रयोगशालामा एक व्यक्तिले कम्तीमा १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ ।

‘हामीले यो शिविर पुस महिनाभर सञ्चालन गर्ने छौं, ताकि यो अवधिमा हामीले कम्तीमा ३ सय जना बिरामीहरुलाई सेवा दिनसक्ने योजना बनाएका छौं’, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. महेश खनालले गोरक्षलाई भने । बिरामीहरुको निःशुल्क परीक्षणसँगै औषधि निर्माणको पनि पहल भइरहेको उनले बताएका छन् । लामो समयदेखि निरन्तररुपमा सुगरको औषधि सेवन गरिरहेका बिरामीहरुका लागि आयुर्वेदिक औषधि निर्माण गरी बिरामीलाई निःशुल्क उपलव्ध गराउने तयारी पनि अस्पतालले गरेको छ ।

औषधि बनाउनका लागि ७ प्रकारका जडिबुटीहरु प्रयोग गरिने छन् । एलोप्याथिक औषधिसँगै आयुर्वेदिक औषधिको पनि प्रयोग गर्दा कुनै स्वास्थ्य समस्या नहुने निमित्त निर्देशक खनालले बताए । ‘डायाबिटिजका बिरामीलाई हामी आयुर्वेदिक औषधि पनि केही समयका लागि प्रयोग गर्नेछौं, बिरामीलाई परेको प्रभावकारिता हेरेर एलोप्याथिक औषधि हटाएर नियमितरुपमा आयुर्वेदिक औषधि पनि प्रयोग भइरहन सक्नेछ’, डा. खनालले भने ।

बिरामीहरुको आकर्षण बढ्दै

यसैबीच अस्पतालले पछिल्लो समयमा बिरामीहरुको आकर्षण आयुर्वेद चिकित्सामा बढिरहेको जनाएको छ । कुनैबेला एक दर्जन बिरामीको पनि उपस्थिति नहुने सो अस्पतालमा अहिले दैनिक एक सयको हाराहारीमा ओपिडीमा बिरामीहरु आउने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । विशेषगरी दीर्घरोगी र अधिकांश पायल्स, फिस्टुला तथा फिसरका बिरामीहरु आयुर्वेदिक उपचारका लागि आउने गरेका छन् ।

बिजौरी अस्पतालमा पायल्स र फिस्टुलाको क्षारसुत्रबाट शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्दै गएको बताइएको छ । यसअघिका निमित्त मेसु रामकामेश्वर ठाकुरको पालादेखि सुरु भएको क्षारसुत्रको शल्यक्रियामा पछिल्लो समयमा सोही क्षेत्रकै विशेषज्ञ डा. मदन भण्डारी आएपछि बिरामीहरुको थप आकर्षण बढेको हो । अस्पताल प्रशासनका अनुसार अहिले करीब दैनिक ८ जना बिरामीहरुको क्षारसुत्रबाट शल्यक्रिया हँुदै आएको छ । पञ्चकर्ममा दैनिक १५ जनाभन्दा बढीले सेवा लिइरहेको अस्पतालका निमित्त निर्देशक खनालले बताए । ‘पञ्चकर्म विशेषज्ञ राख्नका लागि अन्तर्वार्ता लिने कामसमेत सकिइसकेको छ, केही दिनपछि विशेषज्ञबाटै पञ्चकर्म सेवा सञ्चालनमा आउनेछ’, निर्देशक खनालले भने ।

त्यसैगरी ढाड कम्मरका बिरामीहरुका लागि बिजौरी आयुर्वेद अस्पतालमा यसअघि नै विशेषज्ञद्वारा फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । ‘हामीले दैनिक कम्तीमा १५ जनालाई नियमितरुपमा फिजियोथेरापी सेवा दिइरहेका छौं’, अस्पतालकी फिजियोथेरापिष्ट डा. नेहा रेग्मी भन्छिन्– ‘विशेषगरी ढाड कम्मर दुख्ने समस्याका सेवाग्राहीहरु बढी आउने गरेका छन् ।’

अस्पतालमा नशा च्यापिएका, हड्डी खिइएका, दुर्घटनामा जोर्नीहरुमा समस्या भएका, घाँटी दुख्ने, हात माथि नजाने तथा प्यारालायसिसजस्ता बिरामीहरुका लागि फिजियोथेरापी सेवा सञ्चालनमा आएको डा. नेहाले बताइन् । त्यसैगरी भर्खरै अस्पताल प्राङ्गणमा सञ्चालनमा आएको नागरिक व्यायमशालामा पनि सेवाग्राहीहरुको उत्तिकै चाप बढ्न थालेको छ । नागरिक व्यायमशालामा जोसुकै नागरिकहरुले निःशुल्क अभ्यास गर्न सक्ने अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालको भर्ना कक्षमा पनि सुधार भएको छ । पुराना बेडहरुलाई विस्थापित गरी नयाँ आधुनिक बेडहरु बिरामीका लागि ल्याइएको छ । ‘केही समय अघिदेखि क्षारसुत्रबाट शल्यक्रिया गरेका बिरामीहरुका लागि पोष्ट अप्रेटिभ वार्ड पनि सञ्चालनमा आएको छ’, अस्पतालको इण्डोरमा कार्यरत स्टाफ नर्स राधा केसीले भनिन् । उनका अनुसार अस्पतालमा हाल करीब १५ जनाभन्दा बढी बिरामीहरु क्षारसुत्रको शल्यक्रिया गरेका छन् भने केही अन्य बिरामीहरु पनि छन् । ३० बेडको अस्पतालको इण्डोर कक्ष करीब पुरै भरिने गरेको बताइएको छ ।

बिरामीहरुका लागि प्रशोधित पिउने पानीलगायत पायल्सका बिरामीहरुका लागि तातोपानीको समेत अस्पतालले व्यवस्थापन गरेको छ । पायल्स तथा फिस्टुलाको निजी क्लिनिकमा भन्दा करिब ५ गुणा सस्तो पर्ने भएकाले पनि अस्पतालमा क्षारसुत्रका शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई पालो कुर्नुपर्ने समेत अवस्था रहेको अस्पतालले जनाएको छ । यसले बिजौरी आयुर्वेद चिकित्सालय पछिल्लो समयमा बिरामीहरुका लागि मेडिकल हव बन्दै आएको छ ।