खेमराज रिजाल
दाङ, २१ पुस । ‘अस्पतालमा त धेरै बिरामी छैनन्, तर कोरोनाको संक्रमण भने फेरि फैलन थालेको पुष्टि हुन थालेको छ’, तुलसीपुरको प्रादेशिक अस्पताल कोरोना इकाईका व्यवस्थापक दोर्ण वलीले भनिरहेका थिए– ‘हामी नयाँ भेरियन्टमा पनि पुरानै किटबाट काम चलाइरहेका छौं ।’ दोर्णको भनाइमा पछिल्लो समय दाङमा फैलन थालेको कुन भेरियन्ट हो स्पष्ट भन्न सकिने अवस्था छैन । डेल्टा दाङसम्म आयो वा आएन भन्ने पनि यहाँ थाहा हुन सकेन ।
अहिलेको भाइरस ओमिक्रोन हो वा होइन भन्नेमा पनि स्वास्थ्यकर्मी एवं चिकित्सकहरु अनभिज्ञ रहेका छन् । परीक्षण भए पो थाहा हुने हो, एउटै प्रविधिको परीक्षणले कोरोना हो वा होइन भन्ने मात्रै जानकारी हुन्छ’, तुलसीपुर अस्पतालका एक चिकित्सकले बताए । ती चिकित्सकका अनुसार अचेल धेरै शंकास्पद बिरामीले पनि कोरोनाको परीक्षण गराउन छाडिसकेका छन् । यदि परीक्षणको दायरा बढाउने हो भने दाङ जिल्लामा अहिलेको भन्दा धेरै संक्रमण पुष्टि हुनसक्ने उनको भनाइ थियो । भारतमा ओमिक्रोनकै संक्रमण दिनदिनै बढिरहेको तथा नेपालगञ्ज नाकाबाट यहाँ आउनेहरुमा पनि कोरोना पुष्टि हुन थालेपछि यहाँ पनि ओमिक्रोनको संक्रमण फैलनसक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । तर यहाँ भने पुरानै एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । दुई हजार शुल्क तिरेर शंकास्पद संक्रमितहरुले पिसिआर परीक्षण गराउन चाहेका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमै पनि यहाँका संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।
अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका बिरामी छैनन् । देउखुरीका अस्पतालमा पनि संक्रमण पुष्टि भएका बिरामी छैनन् । तुलसीपुरको अश्वारास्थित मेट्रो अस्पतालमा पनि कोरोना संक्रमणका बिरामी छैनन् । तर तुलसीपुरको प्रादेशिक अस्पतालमा रहेको कोरोना उपचार युनिटमा भने अझै पनि चारजना बिरामी रहेको अस्पतालले जनाएको छ । पछिल्लो दुई दिनमा कोरोनाका बिरामीहरु ह्वात्तै बढ्न थालेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले मंगलवारै प्रदेश स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयमा पत्र पठाएर अक्सिजनको पाइपलाइन जडानका लागि आवश्यक बजेटसमेत माग गरिएको व्यवस्थापक वलीले बताएका छन् ।
वलीका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बालबालिका र अन्य गरी कम्तीमा ६० जना कोरोना संक्रमित बिरामीलाई स्वास्थ्य उपचार गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक एनआइसियु बेडसहित एचडियु बेड पनि तयारी अवस्थामा रहेका छन् । आवश्यक जनशक्ति समेत अस्पतालले व्यवस्थापन गरेको दावी गरेको छ । अस्पतालमा हाल २ सय ५४ वटा अक्सिजन सिलिण्डरसमेत जगेडा रहेको बताइएको छ ।
पछिल्ला दुई दिनको अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा एकाएक कोरोना संक्रमणको त्रास फैलिएको छ । तुलसीपुर उपमहानगरपालिका–८ को अश्वारा माविमा अध्ययन गर्ने बहिरा विद्यार्थीमा सबैभन्दा पहिले संक्रमण पुष्टि भयो । त्यसपछि शिक्षकहरुमा पनि संक्रमण पुष्टि हुन थालेपछि अहिले अश्वारा स्कुलको बहिरा विद्यार्थी छात्राबास शिल गरिएको छ । पुरै विद्यालय शिल नगरिए पनि त्रासका कारण मंगलवार विद्यार्थीहरु विद्यालय गएनन् । कोरोना पोजेटिभ भएका विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ भने विद्यालय आइतवारसम्मका लागि बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन महाशाखाले जनाएको छ ।
तुलसीपुरको अश्वारास्थित मेट्रो अस्पतालका प्रशासनका एक अधिकारीमा पनि कोरोना संक्रमण पुष्टि भएको समाचार स्रोतले बताएको छ । जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अश्वारा स्कुलमा अध्ययनरत र अध्यापनरत गरी आइतबार ६ जनामा र सोमबार ८ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार तुलसीपुरको मेट्रो अस्पतालमा कोरोनाको शंकास्पद लक्षण भएका ज्वरो आउने, घाँटी दुख्ने, शरीर दुख्ने तथा रुघाखोकी लागेका ५० जनामा एन्टीजेनबाट परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिए । सोमबार कोरोना पुष्टि हुनेमा दुईजना बहिरा विद्यार्थी छन् ।
सोमबार कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का १ जना, वडा नं. ५ का १ जना, वडा नं. २ का २ जना, वडा नं. १८ का १ जना र वडा नं. ८ का ३ जना रहेका छन् । तीमध्ये ३ पुरुष र ५ महिला रहेका छन् । कोरोना संक्रमितमध्ये २ जना राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाईमा र १२ जना होम आइसोलेसमा रहेका छन् । पछिल्लो समय कर्मचारी, शिक्षक, विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरुको अवस्था सामान्य रहेको केसीले बताए । यसैबीच तुलसीपुरमा हालसम्म ९५ हजार ५ सय २० जनाले पहिलो मात्राको कोरोना खोप लगाएका छन् । त्यस्तै ६९ हजार ७ सय ९ जनाले कोरोनाको दोस्रो मात्राको खोप लगाएका छन् ।
खोपले बढायो आत्मबल
यसैबीच जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पाएका नागरिकहरुले आफ्नो आत्मबल बढेको बताएका छन् । सामान्य स्वास्थ्य सावधानी अपनाउने गरिए पनि खासै स्वास्थ्य सावधानीको अवस्था कहिँ पनि देखिएको छैन । यसले गर्दा पनि कोरोनाको संक्रमण फैलिइरहेको छ । स्थानीय पालिकाहरु भने संक्रमण फैलन सक्नेमा कत्ति पनि गम्भीर देखिएका छैनन् । स्थानीय प्रशासन र पालिकाहरुले भने यो समयमा एकपछि अर्को गरी मेला महोत्सवको स्वीकृति दिएर भीड जम्मा पार्न अभ्यस्तसमेत देखिए ।
खोपकै सन्दर्भमा जिल्लामा कम्तीमा पनि ७० प्रतिशत नागरिकले आवश्यक मात्रामा दुवै डोज खोप लगाइसकेका छन् । खोप लगाइसकेकाहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ । यद्यपि यसले गम्भीर प्रभाव भने पारेको छैन । पछिल्लो समयमा बालबालिकाहरुलाई समेत खोप लगाउन थालिएको छ । पालिकाहरुले आफूले तालिका बनाएर खोप कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।
समग्र नेपालको तथ्यांकअनुसार कोरोना भाइरसविरुद्धको खोप लगाएका कम्तीमा पनि ८९ प्रतिशत नागरिकहरुमा एन्टिबडी विकास भएको पाइएको छ । यसले पनि मृत्युदरलाई कम बनाएको एक चिकित्सकले बताएका छन् । साथै ओमिक्रोनको नयाँ भेरियन्ट चाँडै फैलन सक्ने विशेषताको भए पनि पहिलेको भाइरसभन्दा घातक भने नभएको पुष्टि भइसकेको छ ।