खानेपानीको कोषाध्यक्षमा चुनाव जित्दा…

उनी सधै सामाजिक अभियानमा लाग्ने गरेका छन् । पेशा र व्यवसायले कम्प्युटर एजुकेशन सेन्टर सञ्चालन गरेका तुलसीपुर निवासी भोलाप्रसाद थापा हालै भएको तुलसीपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको कोषाध्यक्षमा निर्वाचित भए । तुलसीपुरमा वि.सं. २०६१ सालदेखि व्रेनवेयर कम्युटर एजुकेशन सेन्टर सञ्चालन गरी कम्प्युटरसम्वन्धी ज्ञान बाँढेका थापा लगनशील, कर्मशील र सबैको मनमा बस्न सफल व्यक्ति हुन् ।

जुनियर रेडक्रस सर्कलबाट आफ्नो यात्रा सुरु गरेका थापाले अहिले ९ दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचत भएका छन् । उनी बाल्यकालदेखि नै संघर्ष गरेर यहाँसम्म आएको सुनाउँछन् । थापाको सानैदेखिको सपना इन्जिनियर बन्ने थियो । तर पारिवारिक तथा अन्य आर्थिक अवस्थाका कारण उनी इन्जिनियर बन्न नसके पनि आफू समाज सेवामा लागेर समाज रुपान्तरणमा अगाडि बढ्ने काम गरेको भन्दै खुसी व्यक्त गर्छन् । विभिन्न आरोह–अवरोह पार गर्दै दुःख–संघर्ष भित्रबाट खुसी खोज्दै आएका थापाले आफ्नो पहिलो खुसी खानेपानी जस्तो पवित्र संस्थामा कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा चुनाव जित्दालाई लिएका छन् ।

‘संघर्षभित्रका खुसीहरु मेरा धेरै छन् तर मैले भर्खरै सम्पन्न खानेपानी संस्थाको कोषाध्यक्षमा चुनाव जित्दा मलाई पहिलो खुसी मिलेको छ । ‘यही नै मेरो पहिलो खुसी हो’ उनले भने । वि.सं. २०५३ सालदेखि राजनीतिमा क्रियाशील थापाले करिब २५ वर्षको संघर्षपछि सफतलता हासिल गरेको बताए । विगत १७ वर्षदेखि आफ्नै व्यवसाय कम्प्युटर इन्स्टिच्युटमा आबद्व हँुदाहँुदै योजना खानेपानीका समस्या र सेवालाई प्रविधिसँग जोड्न पाउँदा खुशी लागेको सुनाए । ‘सिंगो ९ दल एकातिर हुँदा पनि मलाई सबैले विश्वास गरी निर्वाचित गराउनु भएको छ, यो कुनै चानचुने उपलब्धि होइन’, उनले भने । थापाले आफ्नो लागि यो अवसर तथा चुनौती भएको बताए ।

‘आफ्ना व्यक्तिगत रिसिइबीका कारण खानेपानी उपभोक्तालाई सेवाबाट बञ्चित गर्ने परम्परा तोड्ने मेरो प्रयास हो म सफल भए यसैमा खुसी छु’, थापाले भने । आफूले खानेपानीको संथाको नजिकै घर बनाए पनि ६ वर्षपछि मात्र धारा जडान भएको र ६ बर्षदेखि व्यक्तिगत कारणले आफूले धारा जडान गर्न नपाएको भन्दै दुःखी भएको समेत कुरा सुनाए । ‘आफू पनि आम उपभोक्ताका समस्यालाई नजिकबाट नियालेको हुनाले उपभोक्ताका सानाभन्दा साना समस्या समाधान गर्ने प्रतिबद्धता आफ्नो रहेको सुनाए ।

‘मैले मेरोजस्तो पानीको लागि समस्याहरुले भोग्न दिने छैन, खानेपानीमा सुशासन र सबैलाई समानरुपले पानी वितरणको अभियान सफलता नै मेरो अर्को खुसी रहने छ’, थापाले भने । तुलसीपुर–८ कट्कुइँयामा जन्मिएका थापाले अर्को खुसी वि.सं. २०५३ सालमा जुनियर रेडक्रस सर्कल मावि अश्वाराको अध्यक्षमा चुनाव जित्दाको मिलेको सुनाए । ‘म सानैदेखि यस्ता चुनावी प्रक्रियामा भाग लिन्थे, पहिलोपटक बाल्यकालमा चुनाव जित्दा पनि मलाई निकै खुसी मिलेको थियो’, उनले भने । समाजसेवा र राजनीतिको सुरुवात आफूले त्यहीबाट गरेको सम्झिए । ‘मैले बाल्यकालमा पनि नेतृत्वको लागि चुनाव लडेर सफल भए त्यसैको प्रेरणाले पनि मलाई अहिले यहाँसम्म ल्याएको छ’, थापाले भने ।

वि.सं. २०५९ सालतिर राप्ती बबई क्याम्पस नेपाल विद्यार्थी संघको इकाई सभापति हुँदा पनि अर्को खुसी प्राप्त भएको सुनाए । ‘ठ्याकै यो मिति हो कि होइन मलाई अलि एकिन भएन तर मैले त्यतिबेला पनि विद्यार्थी राजनीतिमा लागेर शिक्षा, तथा विद्यार्थी हकहितका लागि धेरै काम गरेको थिए, त्यसमा पनि म खुसी छ’ु, थापाले भने । उनले त्यतिबेला मूल्यवृद्धिदेखि विद्यार्थीको शैक्षिक हकहितका लागि आफू लागेको र सफल भएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै तुलसीपुर नगर जेसीजको सन् २०१५ मा कोषाध्यक्षमा भएका थापाले जेसीजको अभियानमा लागेर धेरै सामाजिक काम र त्यतिबेला सुपाटेन झुल वितरणदेखि विभिन्न नेतृत्व र व्यक्तित्वको विकास गरेको भन्दै खुसी व्यक्त गरे । थापाले तुलसीपुर उद्योग वाणिज्य संघअन्तर्गत इलेक्ट्रोनिक व्यवसायीहरुको उपसमितिको संयोजकको दुई÷दुई पटक जिम्मेवारी पाएर व्यावसायीक हकहितमा काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

‘मैले ६ बर्षसम्म संयोजकको जिम्मेवारी पाएर धेरै काम गर्ने अवसर मलाई साथीभाइले दिनुभयो म त्यसमा पनि खुसी छु’, उनले भने । थापाले त्यतिबेला चरम लोडसेडिङ र विभिन्न करको मारमा परेका व्यवसायीहरुको हकहितका लागि आफूले पहल गरेको सम्झिए । त्यस्तै विभिन्न संघसंस्थाका साथै आफूले कम्युटर सेन्टरमा सयौलाई शिक्षा दिएको भन्दै शिक्षा दिन पाउँदा पनि खुसी मिलेको सुनाए । ‘मैले पढाएका धेरै विद्यार्थीहरु कोही अमेरिका कोहि अष्ट्रेलिया हुनुहुन्छ, उहाँहरुको प्रगति सम्झदा अर्को खुसी मिल्ने गर्छ’, थापाले भने ।

उनले आफूले कम्प्युटर सम्वन्धी अध्यापन गराएका धेरै व्यक्तिहरु डाक्टर, इन्जिनियरलगायत धेरै कार्यालय तथा गैरसरकारी कार्यालयमा ठूलो ठूलो ओहादामा पुगेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै सानामा धेरै संघर्ष गरेको थापाले आफू यहाँसम्म आउनुमा आफ्नो श्रीमती, आफन्तहरुको धेरै सहयोग भएको भन्दै खुसी व्यक्त गरे । ‘मेरो खुसी र म यहाँसम्म आउनुमा साथीभाइ आफन्त र परिवारको पनि ठूलो हात छ’, उनले भने । मलाई विश्वास गरेर मेरो काम र मलाई सामाजिक सेवामा लाग्न सबैले सहयोग गर्नुभएकोमा म निकै खुसी छु’, थापाले भने ।

प्रस्तुती : बालाराम खड्का