नारायणप्रसाद श्रेष्ठ
जीवन खाली कागजसमान हुन्छ । यसभित्रको चैतन्य शक्तिमा जे–जस्तो कर्म र व्यवहार, सामाजिक संस्कृति र संस्कारले भरिएको हुन्छ, जति सहज र बुद्धिमानी विचार, तर्क र कार्ययोजना यसभित्र समावेश हुन्छन् त्यही चरित्र र चिन्तन नै उसको आचरण र व्यवहारबाट प्रष्टिएको हुन्छ । जीवन यस्तो भाँडो हो, जो देख्दामा भरिएको जस्तो देखिए पनि यो सधै खाली नै भएको अवस्थामा रहेको हुन्छ ।
यति हुँदाहुँदै पनि यसभित्र अथाहा भण्डार अटाउन सक्छ भन्ने आँकलन गर्न नसकी मानिसको सोच र चिन्तनमा आफूलाई भरिएको महसुस गरी अहंकार र घमण्ड प्रदर्शन गर्न पछि नपरेको अवस्था विद्यमानमा छ । आधा गाग्रीको पानी छचल्किएझैँ छताछुल्ल भइरहेको अवस्था छ । उसको सोच र चिन्तन केवल सीमित घेराभित्र केन्द्रिकृत रहने वातावरण ऊ स्वयंले सिर्जना गरिरहेको पाइन्छ । अर्धज्ञान हुनुु भनेको आफ्नो क्षमतालाई खुम्च्याउनु हो । यसरी विचारमा संकीर्णता र व्यवहारमा स्वार्थ झल्किनु भनेको मानिस अहंकारी बन्नु हो ।
अहंकार र घमण्डले भरिएको चिन्तनले मानिस कहिल्यै सफल हुँदैनन् । जीवनमा सफलता प्राप्त गर्नुछ भने मानिसले आफू र आफ्नो परिवेशलाई समयको गतिसँगै विचारमा शुद्धता र चिन्तनमा सकारात्मक भाव जागृत गराइराख्नुपर्दछ । बोलीमा शिष्टता, कर्म र व्यवहारमा धैर्यता अपनाउन सक्नुपर्दछ । भविष्यमा यस्तो गर्छु भनी सपनाको महल बनाई विचारमा स्वार्थपरक कार्यशैलीमा अल्झिनु र अहंकारी भई सपनामै रमाउनु भनेको आफूले आफैलाई धिक्कार्नु हो । तसर्थ प्रत्येक असल मानिसले समयले देखाउन खोजेको वर्तमानलाई बुझी परिस्थितिको आँकलन गर्दै उपलब्धिमूलक विचारशील योग्य बन्न लागिपर्नु पर्दछ ।
जीवनले निर्वाह गर्नुपर्ने कुनै पनि कर्म र व्यवहार गर्दा संयमित र विचारवान् बन्नुपर्दछ । सीमित सोच र निहीत स्वार्थभित्र लुकेको विचारले कहिल्यै पनि अरुको विश्वास र भरोसा जित्न सक्दैन । वर्तमान समयमा मानवीय चेतनमा आउन सक्ने विचलनलाई परित्याग गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । तब नै जीवन भरिपूर्ण भई सार्थक हुन सम्भव हुन्छ । अर्धज्ञानको डिग्री हासिल गरी मैले सबै गर्छु भन्नु केवल दिवास्वप्नमात्र हुन्छ । त्यसैले त्याग र समर्पणमा आधारित वचन र कर्म गरी आफ्ना भावनालाई भरोसा र मननयोग्य बनाउन आफै लाग्नुपर्दछ । भनाइ र गराईमा तालमेल भएन भने न त त्यो सफलताउन्मुख हुन्छ न त विश्वास नै आर्जन गर्न सक्छ ।
तसर्थ मानव चरित्रले निर्धारण गर्ने कर्म र कर्मले निर्धारण गर्ने उद्देश्यप्रति जिम्मेवारी भई आफूले गर्ने हरेक कर्म र व्यवहारलाई परिस्कृत गर्दै एकरुपता कायम गर्न सक्नुपर्दछ । अरुको देखासिकी र नक्कल गरिने कर्मले कहिल्यै मूर्तरुप लिन सक्दैन । किनकि परनिर्भर र परचिन्तन चरित्रले आजसम्म सफलता प्राप्त गरेको इतिहास पाइँदैन । अर्को कुरा अरुलाई सम्पन्न देखेर आफूलाई दुःखी बनाउनु भनेको कमजोर मानसिकता पनि हो ।
कमजोर मानसिकताले न त दृढता प्रदर्शन गर्न सक्छ न त सामाजिक र सांस्कृतिक उद्देश्य साध्य बनाउन सक्छ । कमजोर मानसिकताले विचारमा संकुचन पैदा गर्न पुग्दछ । देखासिकी गरेर केही उपलब्धि हासिल गर्न सक्दछु भन्ने मान्यता राख्नु भनेको आफूले आफैलाई स्वार्थभित्र धकेल्नु हो । यस्तो चरित्रले जीवनले सार्थकता पाउन असम्भवप्रायः हुन्छ । त्यसैले वर्तमान समयले मानवीय चरित्रप्रति इंकित गरेको विकृतिलाई सहज परिचालन गरी यसको समूल नष्ट गर्न आफैलाई सक्षम बनाउनुपर्दछ । धैर्य र लगनशील भई वर्गीय र क्षेत्रीय भावना उत्पन्न हुने कुनै पनि कार्य गर्नु, गराउनु हुँदैन । प्रथमतः आफ्नो घरआँगन र विचारलाई सफा र शुद्ध गरी अरुलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा सकारात्मक भाव जागृत गर्नु, गराउनुपर्दछ ।
घाँटी हेरी हाड निल्नुपर्दछ भन्ने मान्यताअनुसार आफ्नो क्षमता र कार्यगत विचारलाई समायोजन गरी सबै अटाउने वातावरण आफै सिर्जना गर्नुपर्दछ । आफ्नो क्षमताभन्दा बढी आकांक्षा राख्नु सपनाको महल खडा गरी सपनामै रमाउनु, आफ्नो अवस्था नबुझी अरुले जे भन्छ त्यसैमा रुमलिनु यो कदापि योग्य र सक्षम व्यक्तिका लागि मान्य कुरा हुँदैन । तसर्थ मन, वचन र कर्ममा शुद्धता ल्याई भनाइ र गराइमा तालमेल मिल्ने चिन्तन प्रवाह गर्न सक्नुपर्दछ । म जे गर्छु सबैको भलाइका खातिर गर्छु, जे बोल्छु सच्चा मनले बोल्छु भनी प्रस्तुत हुन बुद्धिमानी हुन्छ । हुनत कतिपयले सपना नदेखेर त्यसलाई कसरी मूर्तरुप दिने भनी तर्क गरेको पाइन्छ ।
सपना देख्नु कुनै अमान्य विषय पनि होइन । यही सपनाले वर्तमानले निकै फड्को मारेको दृष्टान्त पनि धेरै पाइन्छ । सपना नदेखेको भए अहिले चन्द्रमामा मानिस कसरी पुग्न सक्थ्यो भन्ने जिज्ञासा पनि उठ्न सक्छ । सपनाकै आधारमा यो युगले विज्ञानका ठूला–ठूला आविस्कार पनि भएको छ भन्ने पाइन्छ । विश्वमानचित्रलाई साँघुरो घेराभित्र राख्न सकेको उदाहरण पनि दिन सकिन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने आफूले कस्तो किसिमको कर्म र व्यवहार गरिरहेको छ ? मेरो योग्यता र क्षमता के छ ? त्यसको मूल्यांकन नगरी केवल सपनाको महलमात्र बनाउने, कार्यान्वयन पक्ष फितलो राखी कर्ममा स्वार्थ घुसाउने हो भने त्यो प्रतित्पादक नबन्ला भन्न सकिन्न ।
भावी पिढीका लागि नयाँ दिशा निर्धारण गर्छु भन्ने सपना देख्ने तर आफ्नो कर्म र व्यवहारमा स्वार्थ प्रतिबिम्ब हुने गरी चरित्र निर्माण गर्न लागियो भने यो कति उपयुक्त हुनसक्छ ? भइरहेको संरचनालाई भत्काई नयाँ बनाउने नाममा पुरानो संरचनाको नामोनिसान गराउन खोज्ने तथा त्यसमा भएका राम्रा पक्षलाई समेत आत्मसात गर्न नसक्ने हो भने संस्कृतिले उसलाई अद्योगतिउन्मुख गराउन पनि बेर लाग्ने छैन । तसर्थ आफूलाई प्राप्त ज्ञान र क्षमता तथा शक्तिको आँकलन गरी आफूलाई रुपान्तरण गर्न सक्नुपर्दछ । समय र युगले मागेको परिवर्तनको संवाहक बन्नु छ भने परिस्थितिअनुकूल विचार प्रष्ट्याउनुपर्दछ । आफ्नो व्यवहार र कर्मलाई नतिजामूलक कार्यमा परिणत गर्न सक्नुपर्दछ ।
एकपटक प्राप्त विश्वासलाई दिगो राख्दै आवश्यकताअनुसार आफूलाई रुपान्तरण गरी सधै विश्वासयोग्य बनाउन सक्नुपर्दछ । भनाइ र गराइमा तालमेल मिलाई आफूलाई प्रस्तुत गर्ने चिन्तन गर्नुपर्दछ । मेरो काम भन्ने हो भन्दै व्यवहारमा अर्कै दिशा निर्धारण गर्ने हो भने जीवनको हरेक मोडले आफैलाई धिक्कार्दै जाने हुन्छ । आफ्नो कार्यले आफैलाई धोका दिन सक्दछ । तसर्थ यसरी मनमा विचार सम्प्रेषण गर्दा सकारात्मक भाव जागृत हुने विचारहरु सम्प्रेषण गर्दै जानुपर्दछ ।
त्यसैले आँखाले देखेको बस्तुमात्र सत्य हुन्छ भन्ने मिथ्या अभिमानलाई त्यागेर सोच र चिन्तनमा आउने उतार–चढावलाई गहिरिएर अध्ययन–मनन गरी जीवनले गर्न खोज्ने सकारात्मक कार्यको पेटारो खोली आफूलाई परिपोसित गर्दै जीवनलाई सार्थक बनाउनेतर्फ सबैको ध्यान जान जरुरी छ । जन्म–मरणको इतिहासमा आउने उतार–चढावलाई मनको तराजुमा तौलेर बानीमा शुद्धता र चिन्तनमा सकारात्मक भाव जागृत हुने कर्म गर्नुपर्दछ । अविनाशी आत्माले पहिचान गरेको मूलतत्वमा विनाशी शरीरले धारण गर्न खोजेको तात्विक सत्यको भिन्नतालाई बुझी आफूलाई काम–क्रोध, लोभ–मोहबाट मुक्त गराउनुपर्दछ ।
आफूभित्रको सत्यतालाई पहिचान गरी आशक्ति चिन्तनले ल्याउने दुष्परिणामको ख्याल गर्न सक्नुपर्दछ । आस्था र भरोसाले विभूषित विचार र कर्मले परिपोसित भावनात्मक सचेतना जीवनलाई सहज गति गराउने पवित्र चिन्तन हो भन्ने मानी खाली दिमाग सैतानको घर नबनाई दिमागमा पवित्र विचार र धारणाले भरिपूर्ण गराउनुपर्दछ । त्यसैले मर्यादाअनुकूल कार्य गरी–गराई जीवनले खोजेको संस्कृति र संस्कारको मार्गलाई उज्यालो गतिमा लैजाने चिन्तन गर्नुपर्दछ । गुलाबको फूलझैँ सुन्दरतामा प्रदर्शन गर्ने बानी र व्यवहार प्रदर्शन गर्नुपर्दछ ।
जीवनमा आइपर्ने जति पनि उतार–चढाव छन् त्यो परिस्थितिले सिर्जना नगरी गलत विचार र मानसिकताले जागृत गरेको हुन्छ भन्ने सत्यलाई बुझी कुनै पनि कार्ययोजनाभित्र शान्त र सकारात्मक चिन्तन पैदा हुने कार्य गरी आफूलाई सक्षम बनाउनुपर्दछ । प्रकृति आफैमा बगैचा हो, मानिस बगैचाको माली हो । यस कुरालाई मनन गरी आफूभित्रको सुन्दर पक्षलाई शुद्ध बनाई चरित्र निर्माण गर्नुपर्दछ । सधै प्रशन्न रही मुस्कारसहितको कर्म र चिन्तन प्रवाह गरी खाली रहेको मनको भाँडोलाई भर्दै अघि बढ्नुपर्दछ । यही नै जीवनको सार्थकता हो ।