मधुसूदन सुवेदी
सन् २०२१ साल फेरिएर २०२२ मा फेरिइसक्यो । पुसका १५ जाँदा उत्तरी गोलाद्र्धको अति छोटो दिन र अति लामो रात पनि क्रमशः बढ्दै र घट्ने चक्र सक्यो । हेमन्त ऋतुले आफ्नो एक वर्ष यात्रा पूरा रगरेर शिशिरको सिरोटोले सबैको शिर शिताङ्ग पारिसक्यो । सूर्य दक्षिणी गोलाद्र्धको यात्रा पूरा गर्दै उत्तरी गोलाद्र्धमा सर्ने सुर कस्दैछन् ।
दिन, मास, ऋतु, बर्ष, मौसम हरेक परिवर्तनशील छ र नियमित तवरले फेरिँदैछ । तर समयको गति र चक्रसँगै घुम्ने मानव समूहको चाला सधै फेरिनै रहनेछ । अझ पछिल्लो समयको विकास र समृद्धिमा फड्को मार्ने तीव्र गतिको प्रतिस्पर्धा विश्वमै नमुनाका भरमा चलायमान छ । आन्तरिकरुपमा होस् वा बाह्यरुपमा होस्, देखावटीरुपमा होस् वा लुकावटीरुपमा होस्, कुटनीतिक माध्यमले होस् वा शक्ति प्रदर्शनका माध्यमले होस् । जे जसरी भए पनि शक्ति, शक्ति, शान्ति र समृद्धिकै होडबाजीमा सारा देशहरु लागिरहेको बेला नेपाल के गर्दैछ ? भनेर प्रश्न गर्ने हो भने नेपाल आजसम्म पनि घर झगडामै व्यस्त छ ।
आफ्नो घर झगडा आफै मिलाउन नसकेर छिमेकलाई समेतलाई थाहा दिने गरी हारगुहार माग्दैछ । आफ्नै कारणले शुरु भएको घर झगडा साँच्चिकैको खडेरीको आगोजस्तो हुन थालेपछि झगडा पार्ने नै छिमेकी हुन् समेत भनेर छिमेकी बोलाउने अभिनय गर्दछन् । यो देशको चाल किन फेरिएन होला ? सबै कुरा प्राकृतिक तथा कृत्रिमरुपमा नै फेरबदल हुँदै जाने तर नेपालको अवस्था जस्तासको त्यस्तै रहने ? यो नेपाली चाला, मामला, पाइला, कदम र गतिलाई लाज लाग्छ कि लाग्दैन होला ? यस्तो चालामा रमाउने नेपालका शक्ति पृथकीकरणको सिद्धान्त बोकेका झोले, खोले, डोले र बोले नेताहरुलाई झनै लाज लाग्छ कि लाग्दैन होला ?
आफ्नै देशको नरम–नरम अवस्था र आफ्नै कारणले देशमा गरम–गरम झगडा हुँदा विश्वसामु जान्छन् कसरी ? घुम्छन् कसरी ? भन्छन् कसरी ? विकास र समृद्धिका कुरा गर्ने हो भने हाम्रो देशका नेताले हाम्रोजस्तो सानो मुलुकमा जे भएको छ त्यो धेरै भएको छ भनेर पनि चित्त बुझाउने गर्छन् । तर विदेशमा हाम्रो एउटा जिल्ला वरपरको वा सोभन्दा साना साना देशमा नेपाली कामदार गएर महिनामा १ लाखदेखि २ लासम्मको तलब थापेर श्रम बेचिरहेका छन् । नेपालजस्तो प्राकृतिक स्रोत र साधनले भरिएका, श्रमका हस्तीहरु सानाभन्दा अति साना मुलुकमा गएर त्यसरी काम गर्दासम्म हामीलाई कुनै पछुतो छैन र हामीले भनिरहेका छौं– देश सानो र सपना ठूला छन् ।
एउटा जिल्ला बराबरको विदेशी राष्ट्रले परदेश वा पर मुलुकलाई रोजगार दिन सकिरहेको छ भने मेचीदेखि महाकालीसम्म फैलिएको यो विशाल देशले दैनिक रोजगारकर्ताहरुलाई गुमाउँदै छ । आफू रोजगारदाता हुन नसकेकोमा नेपाललाई कत्ति पनि पछुतो छैन । बरु उल्टै हाम्रो देशका युवाशिक्त फलानो–फलानो मुलुकमा छरिएर विश्व बनाउने अभियानमा जुटेका छन् भनेर बेतुकको फूर्ति लगाउँदैछ । यो देश फेरिन्छ कहिले ? यो देश बदलिन्छ कहिले ? यो देश परिवर्तन हुन्छ कहिले भनेर हामी बेतुकका प्रश्न गर्छौं ।
देश आपसेआप फेरिने हो र ? देश फेर्ने, देश बदल्ने, देश बनाउने, देश हाँक्ने, देश चलाउने, देश बाल्ने, देश सपार्ने, देश बनाउने, देश सजाउने, देश बचाउने, देश जोगाउने, देश सिंगार्ने काम त राजनीतिकर्मीको हो । यो देशका राजनीतिकर्मी हाम्रा डकर्मी र सिकर्मीभन्दा पनि तल्लो दर्जाका छन् । अनि देश बन्छ कसरी ? नेपालका राजनीतिकर्मीमा हुनुपर्ने असल कर्म नै छैन । कर्म नै नगर्नेलाई कर्मी भन्ने कि जेठ महिनाको गर्मी भन्ने ? कहिल्यै देश र जनताको बारेमा होस र चेत आउने ? सधै यो देशको भलो नै नगरेर समय बिताउनेलाई के भन्ने ?
समयको गति र मागलाई समेत सम्बोधन गर्न नसक्ने ? खाली सानो देश, सानो राष्ट्र, सानो मुलुक भन्या छ समय बिताएको छ । यही सानो देश चलाउन त यो गति भएको छ, अझ ठूलो भएको भए कुन गति हुँदो हो ? ठूलो देश खोज्नेले एकपटक आफ्नो छाती खोलेर विशाल र फराकिलो पार्ने कि ? अस्ती उस्तै, हिजो उस्तै, आज उस्तै, भोलि पनि उस्तै यो परिवर्तनको संकेत हो ? अलिअलिको परिवर्तनलाई परिवर्तन भन्न मिल्छ ? देशलाई कहिल्यै पनि क्षेत्रफलका हिसाबले र जनसंख्याको हिसाबले सानो वा ठूलो भनेर घोषणा नगरौं । विकास, निकास, शिक्षा, स्वास्थ्य, रोजागरी, शान्ति सुरक्षाका हिसाबले देशको मापन गरौं ।
परिवारमा थोरै सन्तान, थोरै जहान र सानै परिवार सुखी भनेर प्रचार–प्रसार गर्ने, देश सानै हुँदैमा दुःखी कसरी भयो ? जनता थोरै हुँदैमा दुःखी कसरी भए ? सानो देशका थोरै जनता त भाग्यमानी हुनुपर्ने होइन ? अलिअलि लाज मान्ने कि नमान्ने ? परिवार बढाउन नदिने तर देश ठूलो र जनता धेरै खोज्ने ? यो निहुँ खोजेको हि बीउ खोजेको ? यदि यो देशमा गतिला नेता हुने हो भने यो देश स्वर्गकै अलगै टुक्रा समानको विश्वको नमुना देश हुनेछ । जसरी यहाँका जनता बाहिर कामका लागि जान लालायित छन्, त्यसरी नै यो देशको विकासको फड्कोपछि विदेशका युवासमेत नेपालमा कामका लागि आउन लालायित हुनेछन् ।
तर यो कुरा बुझ्ने कसले ? हामीले देखेर भएन । हामीले लेखेर भएन । हामीले बुझेर भएन । जो गर्ने हो उनै शून्य डिग्रीमा भरेको छ र आफै नै अलपत्रमा परेको छ, आफ्नै घर–गोठ बुझ्ने फुर्सदनभएकालाई यात्रो देश बुझ्ने फुर्सद कहाँ होला र ? भए पनि यो देशलाई सम्हाल्ने हिम्मत र योजना पो के होला र ? हिम्मतविनाको जोश, सीपविनाको होसले यो देशमा काम गर्ने संस्कार नै बन्दैन ।