खेमराज रिजाल
तुलसीपुर, २० पुस । जीवन बिर्सिएका उनीहरु सोमवारको सायमकालमा नृत्यमा रमाइरहेका थिए । बिरक्तिएका मनमा प्रशन्नता देखिन्थ्यो, अनुहारमा चमकसँगै उत्सुकता, अनि फेरि जीवन सम्झिने आशामा व्यक्त भइरहेका थिए उनीहरु ।
तुलसीपुरस्थित मानव सेवा आश्रमले सोमवार आयोजना गरेको भोजनका लागि भजन कार्यक्रममा भजन नृत्यमा रमाउने उनीहरुलाई धेरैले सडक मानव भन्छन्, तर आश्रमले उनीहरुलाई लक्ष्मीनारायण र बालगोपालका रुपमा आश्रय दिइरहेको छ । तुलसीपुरको गाइडरमा रहेको सो आश्रममा अहिले पनि कम्तीमा तीन दर्जन जति नागरिकहरु आश्रित छन् । केही बालबालिका, केही युवा अधवैसे त धेरै बृद्धबृद्धाहरु आश्रित छन् आश्रममा । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवहरुको भरणपोषण र पुनःस्थापनका लागि विशुद्ध मानव सेवा भावनाले आश्रम सञ्चालनमा आएको छ ।
उनी आश्रितहरुलाई साँझ–विहान भोजनको जोहो गर्न सोमवार आश्रममै आयोजना गरिएको भोजनका लागि भजन कार्यक्रममा दर्जनभन्दा बढीले कसैले एक छाक त कसैले पुरै दिनको भोजनको सहयोग उद्घोष गरिरहँदा आश्रितहरुको अनुहारमा पनि खुसी झल्किन्थ्यो । त्यो खुसी भजनको नृत्यमा व्यक्त हुन्थ्यो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले एक दिनको आश्रमको खर्च व्यक्तिगतरुपमा व्यहार्ने बताउँदै भोजन नजुटेको बाँकी दिनको भोजन तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्ने उद्घोष गरे ।
कार्यक्रमको सफलताको कामना गर्दै प्रमुख अतिथिसमेत रहेका पाण्डेले मानवसेवा आश्रमको दीर्घकालीन व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले यही बर्षको अन्तसम्म जग्गा व्यवस्थापनको काम टुंगो लगाउने तथा अर्को एक बर्ष आश्रम आफ्नै स्वामित्वको भवनमा सञ्चालन हुने उद्घोष पनि गरेका छन् । ‘तुलसीपुर उपमहानगरलाई मानवताको शहर बनाउन र सडक मानव मुक्त बनाउनका लागि आर्थिक एवं भौतिक व्यवस्थापनमा पनि तुलसीपुर उपमहानगरपालिका प्रतिवद्ध छ, यसमा नगरबासी एवं अन्य संघसंस्थाको पनि सहयोगको अपेक्षा गर्दछौं’, प्रमुख अतिथि पाण्डेले भने ।
कार्यक्रम सुरु भएको केही क्षणमै भोजनका लागि सहयोग जुट्न थालेको थियो । सो अवसरमा एक छाक वा पुरै दिन खाना खुवाउने दानबिरहरु खुलिरहेका थिए । लायन्स क्लव अफ दाङका अध्यक्ष टेकनप्रसाद कँडेल र यमुना कँडेल, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला विकास शाखा प्रमुख माया श्रेष्ठ, आँचल बगाले, वडाध्यक्ष टोपबहादुर केसी, शान्ता चापागाई, सुशीला शाह, हरिकला भण्डारीलगायत दर्जन बढी सहयोगी मनहरु खानाको निम्तो दिइरहेका थिए ।
‘दान गरेर संसारमा कोपो भाछ गरिब’ भजन गायक दिनेश बलम्पाकी मगरले भजन गाइरहँदा आश्रममा रहेका युवादेखि बृद्धबृद्धासम्म छमछमी नृत्य प्रस्तुत गरिरहेका थिए । फोटोशेसन चलिरहेको थियो, भजनमा खुसी साटासाटको दृश्य पनि देखिन्थ्यो । जन्मदिन, विवाहको बर्षगाठ, पितृ सम्झनालगायतका अवसरमा आश्रममा मानोमुठी सहयोग गर्न आश्रम सञ्चालकले आग्रह गरिरहेको थियो । जसका कोही हुँदैनन्, जसको केही हुँदैन उसैका लागि समर्पित छ मानव सेवा आश्रम ।
आश्रमले आफ्नो संस्थागत पारदर्शिता र सामाजिक उत्तरदायित्वका लागि आर्थिक बर्ष २०७७÷२०७८ सालको बार्षिक प्रतिवेदन पनि सोही कार्यक्रममा सार्वजनिकसमेत गरेको छ । वि.सं. २०६९ सालमा मकवानपुर जिल्लाको हेटौडाबाट ५ जना सहयोगाभेक्षी सडक आश्रित व्यक्तिहरुलाई उद्धार गरी सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल ७ प्रदेशका १७ जिल्लामा २४ सेवाकेन्द्रमार्फत आफ्नो सेवा सञ्चालन गरेको सो अवसरमा जानकारी गराइएको थियो । अहिले पनि ती आश्रमहरुको संरक्षणमा १ हजार ६ सय आश्रित रहेका छन् ।
आश्रमले दाङ जिल्लामा मात्रै हालसम्म ५४ जनालाई सेवा प्रदान गरेको जानकारी दिइएको छ । त्यसैगरी ७ जनालाई परिवारमा पुनःस्थापित गरिएको, उपचारपश्चात स्वेच्छाले परिवारमा आफै पुनःस्थापित भएका, आश्रमको संरक्षणमा रहँदा निधन भएका ५ जना रहेको सो अवसरमा जानकारी दिइएको थियो भने हाल आश्रममा ३८ जना आश्रित रहेको बताइएको छ ।
मानिसको रुपमा जन्मिएर पनि सामान्य मानिससरह जीवन बाँच्न नपाइरहेका, खुल्ला आकासमुनी अर्थात सडकपेटी र मठमन्दिरमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका, स्वयं आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका मानवलाई खाना, नाना र छानाको व्यवस्थापनमा आश्रम लागिरहने बताएका छन् । सहृदयी नागरिकहरुको सहयोग, तीनै तहका सरकारको अनुदान सहयोग, विदेशमा रहेका नेपालीहरुको निशर्त सहयोग तथा परोपकारी संघसंस्थाहरुको मानोमुठी सहयोगले आश्रम चल्दै आएको छ ।
आश्रममा रहेका आश्रितहरुको भोजनका लागि भजन कार्यक्रम मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछाने, वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आश्रमका कर्मचारी दिपेश गुप्ताले गरेका थिए । संस्थाले कुनै पनि धार्मिक संस्था, एनजिओ तथा आइएनजिओको कुनै पनि सशर्त सहयोग नलिने पनि प्रतिबद्धता जनाउँदै बताएको छ । आश्रम विशुद्धरुपमा मुनाफारहित संस्था हो ।