एमाले दाङले छान्यो अधिवेशन प्रतिनिधि

गोरक्ष समाचारदाता
दाङ, १८ पुस । नेकपा एमाले दाङको पुस २३ को जिल्ला अधिवेशनको लागि शनिवार प्रतिनिधि छनोट गरेको छ । एमाले दाङकाअनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनोटको काम भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा शनिवार खानेपानी उपभोक्ता समितिको चुनाव भएकाले ती क्षेत्रमा आइतवार अधिवेशन प्रतिनिधि छनोट गर्ने पार्टीले जनाएको छ । दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको छ ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् । एमालेले अधिवेशन प्रतिनिधि छनोट गर्न सर्कुलर र सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत खटाएको थियो । ‘प्रतिनिधि छनोट कार्य सम्पन्न गर्नको लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतहरू पठाएर छनोटको काम भएको छ’, एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने ।

अधिवेशनको लागि जिल्ला भरबाट १ हजार ४ सय ३७ प्रतिनिधि सहभागी हुनेछन् । एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनोटको मापदण्डमा महिलाको हकमा १२ बराबर १ जना, दलितको हकमा १०बराबर १ को व्यवस्था गरेको थियो । यसैगरेर अन्यको हकमा २० बराबर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड युनियन महासंघबाट ३, अनेरास्ववियुबाट ३ जना, राष्ट्रिय युवा संघवाट ३, अनेमसंघबाट ३ जना, अखिल नेपाल किसान महासंघबाट ३, आदिवासी जनजाति महसंघ नेपालबाट ३, नेपाल भूमिहीन सुकुम्बासी संगठनबाट ३ जनाको व्यवस्था गरेको थियो ।

यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट ३ जना, प्रेस चौतारी नेपालबाट ३, लोकतान्त्रिक थारू संघबाट ३ जना, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघबाट ३ जना, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना, राष्ट्रिय जनसांस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल बुद्धिजीवि परिषदबाट ३ जना, लोकतान्त्रिक अपाङ्ग संगठनबाट ३ जना, प्रगतिशील पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानवअधिकार एलाइन्सबाट ३ जना, राष्ट्रिय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदस्यबाट सबै प्रतिनिधिको व्यवस्था गरेको थियो ।

एमाले दाङको १३औँ अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ ।