सरकारले भूमिहीनको अधिकार खोस्ने काम गरेको छ : ढकाल

गोरक्ष समाचारदाता
दाङ, १८ पुस । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकार भूमिहीन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको बताएका छन् । उनले वर्तमान सरकारले भूमिहीन सुकुम्बासीलाई न्याय दिन नसक्ने समेत बताए ।

‘यो सरकारले भूमिहीन सुकुम्बासीलाई न्याय दिन सक्दैन’ नेपाल भूमिहीन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई शनिवार दाङको घोराहीमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले भने, ‘यो सरकारमा जनताप्रति कुनै उत्तरदायित्व छैन ।’ उनले वर्तमान सरकार परमादेशबाट गठन भएको भन्दै यसले जनमुखी काम गर्न नसक्ने दाबी समेत गरे । उनले विगतमा एमालेको सरकारले राम्रो काम गरेको समेत चर्चा गरे । ‘एमालेको सरकारले राम्रो र जनमुखी योजना ल्याएर काम थालेको थियो तर त्यो देख्न नसकेर घेराबन्दी गरेर एमालेको सरकार हटाउने काम भएको हो’, स्थायी कमिटी सदस्य ढकालले भने । उनले भूमिहीन र सुकुम्बासीको जग्गा प्राप्तिको अधिकारमा पार्टी सधैँ अग्रमोर्चामा रहेर काम गर्ने समेत बताए ।

नेपाल भूमिहीन सुकुम्बासी संगठनका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ सहइञ्चार्ज सीता न्यौपाने, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठनका सहइञ्चार्ज कमल गौतम, नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र सचिव मनोहर बुढाथोकीले मन्तव्य राखेका थिए । संगठनका उपाध्यक्ष लीला विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका महासचिव इन्द्र तामाङले गरेका थिए । बैठकमा प्रदेशस्तरको रिपोर्टिङलगायत अन्य विषयमा छलफल भएको थियो ।