४६औं मेलमिलाप दिवस
दाङ, १७ पुस । नेपाली कांग्रेसलाई सशक्त र प्रमुख पार्टीका रुपमा स्थापित गर्न विपी कोइरालाले लिएको मेलमिलाप नीतिलाई आत्मसात् गरेर जानुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाली कांग्रेस दाङले ४६औं राष्ट्रिय मेलमिलाप दिवस दिवसका अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति बीरकेशरी गौतमले मेलमिलाप नीतिलाई आत्मसात् गरेर मात्र नहुने भन्दै अब पार्टीको हितविपरीत कुनै पनि काम गर्दैन भनेर संकल्प सबैले गर्नुपर्ने बताए । ‘विपीले प्रतिपादन गरेको मेलमिलाप नीति आत्मसात् गरेर मात्र भएन, अब पार्टीको नीति नियमविपरीत कुनै पनि गतिविधि गर्दैन भनेर सवैले संकल्प गर्न आवश्यक छ’, गौतमले भने– ‘पार्टीको हितविपरीत कसैले काम नगरे पार्टी बन्छ ।’ साथै पूर्व जिल्ला सभापति गौतमले १४औं महाधिवेशनमा भएको आन्तरिक प्रतिष्पर्धालाई भुलेर अब सबै नेतृत्वले गुटको नेताभन्दा पनि पार्टीको नेताका रुपमा काम गर्नुपर्ने बताए ।
‘निर्वाचनमा फरक–फरक गुटमा भएर निर्वाचन लडेका छौँ । त्यसले कतिपय साथीहरुका बीचमा तिक्तता कायम गरेको छ’, उनले भने– ‘अब तिक्तता राखेर पार्टी बन्दैन । भुल्नुपर्छ ।’ कार्यक्रममा कांग्रेस नेता तथा पूर्व क्षेत्रीय सभापति भूपबहादुर डाँगीले आन्तरिक प्रतिस्पर्धाका तिक्ततालाई भुलेर पार्टी र देश निर्माणका लागि लाग्नुपर्ने बताएका थिए । उनले पार्टी अहिले चुनावको संघारमा रहेकाले चुनावमा पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अहिलेदेखि जनतासँग सम्बन्ध पार्टी लाग्नुपर्ने बताएका हुन । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भीमप्रकाश खड्काले कांग्रेसलाई बलियो आगामी चुनावमा पहिलो पार्टी बनाउनका लागि बोलीमा मात्र नभएर व्यवहारमै लागू गरेर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) का सभापति अभियान बस्नेतले नेपाली कांग्रेस र कांग्रेसको संगठनलाई मजबुत र बलियो बनाउनका लागि पार्टीले गाउँकेन्द्रित कार्यक्रमहरु बनाएर अघि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेसका निर्वतमान जिल्ला सचिव टेकबहादुर वली, कांग्रेसका जिल्ला सदस्य भोला अधिकारी, महाधिवेशन प्रतिनिधिहरु सुशीला थापा, दीपक पाण्डेय, ध्रुव केसी, जिल्ला समन्वय समितिका सदस्य लोका बिकलगायतले बोलेका थिए ।
कार्यक्रममा कांग्रेस नेताहरु पदमबहादुर थापाले मेलमिलाप नीति र सिद्धान्तका बारेमा जानकारी गराएका थिए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई उपसभापति गिरिराज सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए ।