प्रतिनिधि छन्दै एमाले

दाङ, १७ पुस । नेकपा एमाले दाङको पुस २३ को ‘नेतृत्व छान्ने’ जिल्ला अधिवेशनको लागि शनिवार प्रतिनिधि छनोटको काम हँुदैछ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनोटको काम हुने भएको छ । दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए ।

त्यसैगरेर दलित संगठित सदस्यका हकमा जिल्लामा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् । एमालेले सबै वडाहरुमा अधिवेशन प्रतिनिधि छनोट गर्न सर्कुलर र सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतसमेत खटाएको छ । ‘प्रतिनिधि छनोट कार्य सम्पन्न गर्नको लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाउने काम भएको छ’, एमाले दाङका सचिव बुढाथोकीले भने– ‘पार्टीको निर्देशन र मापदण्डअनुरुप प्रतिनिधि छनोटको काम हुनेछ ।’

एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनोटको मापदण्डमा महिलाको हकमा १२ बराबर १ जना, दलितको हकमा १० बराबर १ को व्यवस्था गरेको छ । त्यसैगरेर अन्यको हकमा २० बराबर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड यूनियन महासंघबाट ३, अनेरास्ववियूबाट ३ जना राष्ट्रिय युवा संघबाट ३, अनेमसंघबाट ३ जना, अखिल नेपाल किसान महासंघबाट ३, आदिवासी जनजाति महासंघ नेपालबाट ३, नेपाल भूमिहीन सुकुम्वासी संगठनबाट ३ जनाको व्यवस्था गरेको छ ।

त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट ३ जना, प्रेस चौतारी नेपालबाट ३, लोकतान्त्रिक थारु संघबाट ३ जना, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघबाट ३ जना, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना, राष्ट्रिय जनसांस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल बुद्धिजीवी परिषद्बाट ३ जना, लोकतान्त्रिक अपांग संगठनबाट ३ जना, प्रगतिशील पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानवअधिकार एलाईन्सबाट ३ जना, राष्ट्रिय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदस्यबाट सबै प्रतिनिधि रहने व्यवस्था छ । एमाले दाङको १३औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ ।

अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ । अधिवेशन सपन्न गर्न एमाले दाङले विभिन्न उपसमितिसमेत गठन गरेर काम थालेको छ । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिति, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति , प्रतिनिधि व्यवस्थापन उपसमिति, स्वयंसेवक तथा मञ्च व्यवस्थापन, अतिथि सत्कार तथा आवास व्यवस्थापन, सांस्कृतिक र प्रचार–प्रसार उपसमिति निर्माण भएका छन् ।

अधिवेशनको लागि गठन भएका उपसमितिका बैठक दैनिक बस्ने गरेका छन् । ‘अधिवेशन सम्पन्न गर्न धेरै उपसमिति गठन गरेर जिम्मेवारी दिएका छौँ’, एमाले दाङका सचिव बुढाथोकीले भने– ‘त्यो अनुसार उपसमितिले काम सम्पन्न गर्दैछन् ।’ शुक्रवार पनि आर्थिक व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ । आर्थिक व्यवस्थापन उपसमितिका संयोजक खिमबहादुर डाँगीको अध्यक्षता एवं पार्टी अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्य र पार्टी सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा बसेको बैठकले अधिवेशनको लागि स्रोतको खोजी कार्यलाई प्रभावकारीरुपमा लैजाने निर्णय गरेको छ ।