खेमराज रिजाल
दाङ, १६ पुस । कुटपिट र गालीगलौजमा हिंसा, भोगाइमा हिंसा, हेराईमा हिंसा मात्र होइन समाजमा सबैभन्दा बढी हिंसा मौनताका कारण बढिरहेको छ । जुन व्यक्तिमाथि हिंसा भइरहेको छ, उनीहरु नै मौन बसिदिनाले समाजमा सबैभन्दा बढी हिंसा बढिरहेको महिला अधिकारकर्मीहरुले बताएका छन् । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले बिहीवार घोराहीमा आयोजना गरेको लैंगिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्वसम्बन्धी समन्वय तथा पैरवी कार्यक्रमका सहभागीहरुले यस्तो अभिव्यक्ति दिएका छन् ।
‘पीडितहरुले व्यक्त नगरिदिँदा जति लैंगिक हिंसाका घटना बाहिर आएका छन्, त्योभन्दा धेरै गुणा बढी हिंसा घरघरमै छिपिरहेका छन्, मौनताले पनि समाजमा हुने हरेक खाले हिंसालाई प्रोत्साहन गरिरहेको छ’, बहस पैरवी कार्यक्रममा सहभागी महिला अधिकारकर्मी हुमा डिसीले भनिन् । हिंसालाई कुटपिटमा मात्र सीमित नराखेर बोली व्यवहारमा, स्वरमा, अवसरमा पनि हिंसाबोध भइरहेको पनि उनको अभिव्यक्ति थियो ।
हिंसा न्यूनीकरणका लागि सचेतना नै बलियो आधार हुने भएकाले हिंसालाई गहन तवरले व्याख्या गरेर समाज हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको सुझाव थियो । सोही कार्यक्रममा अर्का अधिकारकर्मी तथा सामी परियोजनाका मनोविमर्शकर्ता सुशीला आचार्यको पनि बुझाई यस्तै–यस्तै थियो । हिंसा बुझ्न आत्मचेतनाको विकास हुनुपर्ने उनको भनाइ थियो । कतिपय अवस्थामा आफ्नो जिम्मेवारी वा हिंसा भन्ने छुट्याउनै कठिन हुने अवस्था पनि भएकाले बास्तविक पीडितहरुले आफ्ना भावनालाई खुलेर व्यक्त गर्न सक्ने सामाजिक अभ्यास नहुँदा पनि सबैखाले हिंसाहरुले समाजमा बढावा पाइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा अर्का अधिकारकर्मी तथा घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य एवं न्यायिक समिति सदस्य पवित्रा विश्वकर्माले आफू विभेदमा परेको विषय सार्वजनिक गर्न नसक्ने सामाजिक मनोबृत्तिका कारण पनि समाजमा हिंसा न्यूनीकरण चुनौतीपूर्ण रहेको बताइन् । ‘सहनै नसक्ने अवस्था भएपछि मात्रै हिंसा पीडितहरु न्यायका लागि हामीकहाँ (न्यायिक समिति) आउने गरेका छन्, मनोवैज्ञानिक हिंसाका विषयमा त एउटा केश पनि आएको छैन’, न्यायिक समिति सदस्य विश्वकर्माले भनिन् ।
कार्यक्रममा संकल्प महिला सञ्चार संस्थाका सचिव तथा गोरक्ष दैनिक पत्रिकाका प्रकाशक सुलोचना गौतमले भौतिक आक्रमणलाई मात्र लैंगिक हिंसाका रुपमा परिभाषित गरिँदै आएकाले हिंसा न्यूनीकरण चुनौतीका रुपमा रहेको बताइन् । हिंसा न्यूनीकरणलाई फराकिलो दायरामा अध्ययन गर्ने र दण्ड सजायको पनि व्यवस्था कानुनले स्पष्ट निर्देशित गर्नुपर्ने उनको सुझाव थियो । स्वास्थ्य उपचारमा समेत महिला र पुरुषबीच सामाजिक विभेद रहेकाले सबैभन्दा बढी गम्भीर यो क्षेत्रमा हुनुपर्ने सुझाव दिइन् ।
पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले स्थानीय निकायहरु सूचनामैत्री नहुनु र आफ्ना गतिविधिलाई जनतासामु सार्वजनिक गर्न नसक्नु पनि हिंसा न्यूनीकरणमा चुनौती रहेको बताइन् । कुनै पनि खाले हिंसाका कारण आफ्नो स्वास्थ्य उपचारमा समस्या भएका पीडितहरुलाई निःशुल्क स्वास्थ्य उपचारमा पहुँच पु¥याउन सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले हातेमालो गर्नुपर्ने पनि उपाध्यक्ष गौतमको सुझाव थियो । उनले स्थानीय सरकार समन्वयमा निकै कमजोर रहेको पनि उनको टिप्पणी थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती विश्वकर्माले अधिकांश लैंगिक हिंसाका घटनाहरु बाहिर आउनै नसकेको उल्लेख गर्दै स्वास्थ्य उपचारका क्षेत्रमा हिंसा पीडितलाई सहजता बनाउन घोराही उपमहानगरपालिका सकारात्मक रहेको बताइन् । ‘हामी यी विविध समस्यामा एउटा नीति बनाउँछौं, तपाईहरुले पनि कार्यविधि बनाएर आउनुस, हामी तपाइहरुसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’, मोतीले भनिन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला सेलका अधिकृत निमा डिसी, महिला अधिकारकर्मी सुशीला पौडेललगायतले अभिव्यक्ति दिएका थिए ।
खासमा लैंगिक विभेदका कारण स्वास्थ्य उपचारमा समेत पहुँच पुग्न नसकेका महिलाहरुलाई स्वास्थ्य उपचारको दायरामा ल्याउन तथा समाजमा हुने सबैखाले लैंगिक हिंसाको न्यूनीकरणका लागि यो बहस पैरवी अभियान थालिएको आयोजक राप्ती आँखा अस्पताल रक्षाचौर तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले बताएका छन् । कार्यक्रमको विषयप्रवेश गराउँदै प्रशासन प्रमुख थापाले राप्ती आँखा अस्पताल रक्षाचौर र बहादुरगञ्जमा पैसा नभएकै कारण कसैले पनि ज्योति गुमाउनु नपर्ने स्पष्ट पारेका थिए । यो अभियानमा आफूहरु एक्लै हिँड्न नसक्ने बताउँदै उनले सबैको साथ र सहकार्यमा यो अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रमुख अतिथि तथा महिला मानवअधिकार रक्षक सञ्जालका निवर्तमान केन्द्रीय सचिव लक्ष्मी आचार्यले पीडितका उजुरीमा गोपनीयताको समस्या भएको, मौनताका कारण पनि समाजमा हिंसाले प्रश्रय पाइरहेको लगायतका विषयमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने सुझाव दिइन् । कार्यक्रमका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका जिल्ला सचिव सुरेन्द्र खड्काले कार्यक्रममा देखिएको गुणात्मक उपस्थितिले आफूहरुलाई हौस्याएको बताउँदै व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिएर आफूहरु अघि बढ्ने बताए ।
‘हामी सरकारी तथा गैरसरकारी सबै संघसंस्थाहरुसँग हातेमालो गरेर यो अभियानमा हिँड्न तयार छौं, ताकि हाम्रो अभियानले सार्थकता पाउन सकोस्’, खड्काले भने । कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकृत बालाराम खड्काले गरेका थिए । यसै अवसरमा आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काको संयोजकत्वमा महिला हिंसा न्यूनीकरणका लागि लुज फोरमसमेत गठन गरिएको छ । कार्यक्रम एनएवीपी नर्वेको सहयोगमा भएको थियो ।