दाङ, १६ पुस । नेकपा एमाले दाङको ‘नेतृत्व छान्न’ अधिवेशन हुँदैछ । एमाले दाङको १३औं अधिवेशन पुस २३ मा जिल्ला सदरमुकाम घोराहीम तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ ।
अधिवेशनबाट १ सय २१ जना निर्वाचित हुने र १० मनोनीत गरेर १ सय ३१ सदस्यीय जिल्ला कार्यसमिति हुने एमाले दाङले जनाएको छ । अधिवेशन सम्पन्न गर्न एमाले दाङले विभिन्न उपसमिति गठन गरेको छ । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिति, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, स्वयंसेवक तथा मञ्च व्यवस्थापन, अतिथि सत्कार तथा आवास व्यवस्थापन, सांस्कृतिक र प्रचार–प्रसार उपसमिति निर्माण भएका छन् । अधिवेशनको लागि गठन भएका उपसमितिका बैठक दैनिक बस्ने गरेका छन् ।
बिहीवार पनि अधिवेशन प्रचार उपसमितिदेखि अन्य समितिका बैठक र छलफल भएका छन् । ‘अधिवेशन सम्पन्न गर्न धेरै उपसमिति गठन गरेर जिम्मेवारी दिएका छौँ’, एमाले दाङका अध्यक्ष टीकाराम खड्काले भने– ‘त्यो अनुसार उपसमितिले काम थालेका छन् ।’ एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेतले अधिवेशनको तयारीलाई तीव्रता दिएको बताए । ‘उपसमितिले आफ्नो जिम्मेवारीको काम थालेका छन् । दैनिकजसो उपसमितिका बैठक र छलफल भैराखेका छन्’, उपाध्यक्ष बस्नेतले भने । उनका अनुसार पुस १७ गते जिल्लाभर अधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका छ ।
यसैबीच विहीवार प्रसार–प्रसार उपसमितिको बैठक सम्पन्न भएको छ । बैठकले अधिवेशन सफल बनाउन प्रचार–प्रसारको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकले अधिवेशनको पहिचानका लागि प्रतिकात्मकरुपमा घोडाको मस्कट तयार गरेर अधिवेशन स्थलमा राख्ने निर्णय गरेको छ । त्यसैगरेर जिल्लाको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास समेटिएको ५ मिनेटको भिडियो क्लिप निर्माण गर्ने, कम्युनिष्ट आन्दोलनमा योगदान पुराएका व्यक्तिको पहिचान झल्किनेखालका स्ट्याण्ड तयार पारी अधिवेशन स्थलमा राख्ने, जिल्लाका प्रतिष्ठित व्यक्तिहरुसँग अधिवेशन सफलताको शुभकामना रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने, अधिवेशनसँग सम्बन्धित प्रचार–प्रसार सामग्री तयार गर्ने र दैनिकरुपमा अधिवेशनका समाचार सम्प्रेषण गर्ने निर्णय गरेको प्रचार–प्रसार उपसमिति संयोजक श्याम डाँगीले बताए ।
‘प्रचार उपसमितिको बैठकले अधिवेशन सफल पार्न प्रचार सामग्रीदेखि जिल्लाको कम्युनिष्ट आन्दोलनमा योगदान पुराएको व्यक्तिको पहिचान झल्किने खालका सेल्फी स्ट्याण्ड तयार पार्ने निर्णय गरेको छ’, संयोजक डाँगीले भने– ‘यो अधिवेशनमा प्रचारको शैली फरक नै हुनेछ । त्यो अनुसारको जिम्मेवारीसमेत बाँडफाँड भएको छ ।’ संयोजक डाँगीका अनुसार जिल्लाका कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास समेटिएको भिडियो निर्माणको लागि प्रचार–प्रसार उपसमिति सदस्य दुर्गालाल केसी संयोजक रहेको समिति गठन गरेको छ । सदस्यमा बसन्त आचार्य, छवि पुरी, दशरथ घिमिरे र बिमला घर्ती छन् ।
त्यसैगरेर प्रचार–प्रसार सामग्री निर्माणको लागि प्रचार–प्रसार उपसमिति सदस्य किरण गौतम संयोजक छन् । सदस्यमा एकराज भण्डारी र अनन्त आरसी छन् । त्यसैगरेर सेल्फी स्ट्याण्ड निर्माणको लागि उपसमिति सदस्य संगीत बस्याल संयोजक रहेको समिति गठन गरेको छ । सदस्यहरुमा किरण गौतम र दीप्तिशिखा चौधरी छन् । त्यसैगरेर शुभकामना रेकर्डको लागि प्रचार उपसमिति सदस्य बसन्त आचार्य संयोजक छन् ।
सदस्यहरुमा निमुसगम घर्ती र दशरथ घिमिरे छन् । त्यसैगरेर अधिवेशनको पहिचानको रुपमा प्रतिकात्मक घोडाको मस्कट तयार पार्नको लागि संगीत बस्याल संयोजक र सदस्यहरुमा प्रेम राम्जा र ओपेन्द्र बस्नेत छन् । त्यसैगरेर अविधेशनका समाचार सम्प्रेषनको लागि प्रचार–प्रसार उपसमिति सदस्य इन्द्र डिसी संयोजक र सदस्यहरुमा निमुसंगम घर्ती, गोकर्ण पौडेल, चन्द्रप्रकाश नेपाली, बसन्त परियार, शिवराज पन्थी, रञ्जिता शर्मा, रीता लामा, बालकृष्ण पाण्डे, ओमप्रकाश गुप्ता र मञ्जु रोका छन् । प्रचार–प्रसार समितिको बैठक उपसमिति संयोजक श्याम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।