राजनैतिक परिवर्तनले श्रम र पसिनाको मूल्य जानेन

नारायणप्रसाद श्रेष्ठ

एकाधिकारवादी शासनको अन्त्य गरी सामूहिक शासन पद्धतिको बोध गराउने राजनीतिक परिवर्तन २०४६ र २०६२ सालको जनआन्दोलनले ल्याएको थियो । त्यसबेला जनतामा उत्साह र उमंग छाएको थियो । प्रजातान्त्रिक शासन प्रणालीभित्र नागरिक हक अधिकारको संरक्षण हुने विश्वासको अंकुर पलाएको थियो । जनताद्वारा जनताका लागि गरिने शासनमा जनताको यथार्थ भावना प्रतिनिधित्व हुन्छ भन्ने भावना स्थापित भएको थियो ।

शान्तिपूर्ण जनआन्दोलनमा जनताको अधिकार श्रम र शक्तिको उचित मूल्यांकन हुने ग्यारेण्टी प्रदर्शन भएको थियो । शोषणर उत्पीडनमा बाँच्न बाध्य विवश नेपाली घर बस्तीमा सधैँ बसन्त आउने आशा र भरोसा पलाएको थियो । राष्ट्र र राष्ट्रियता हाम्रा जननी हुन्, हामी यिनकै सन्तान हौँ, यिनको संरक्षण र सम्बद्र्धन गर्दै विश्व रंगमञ्चमा नेपालको स्वाभिमान उच्च बनाउने संकल्प गरिएको थियो । दुई छाक खानको लागि अरुको सहारा लिनुपर्ने बाध्यता हट्नेछ, सामाजिक, आर्थिक समृद्धि भइ श्रम र पसिनाको उचित मूल्यांकन हुनेछ, योग्यता र सक्षमताको आधारमा मातृभूमिप्रतिको जिम्मेवारीमा सबैको समान अधिकार र जिम्मेवारी हुनेछ, यस्तो किसिमको आशा र भरोसा त्यो बेला गरिएको थियो ।

सदियौँदेखि कायम भएको नेपालको गौरवमय इतिहासमा अर्को पाना थपिनेछ । राष्ट्रिय विकासमा प्रत्येक नेपालीको पौरख र पसिनाले सिंचित भइ नयाँ नेपालको इतिहास कोरिनेछ । यसरी आशा र भरोसामा बसेका नेपाली मनमा जननेतृत्वकर्ताले आफ्नो स्वार्थभित्र राजनीतिक चरित्र प्रदर्शन गर्न थाले । शक्ति हत्याउने दाउँमा राष्ट्रिय सम्पत्ति कौडीको भाउमा विदेशीको इसारामा बेचिन थालियो । तब त्यसपछि उद्योगबिनाको कोरा भाषणले जनताको श्रम र पसिना विदेशिन वाध्य हुने परिस्थिति जन्माइयो । भनाइ र गराइमा देखिएको भिन्नताको कारण नेताप्रति जनताको विश्वास टुट्न सुरु भयो ।

युवा जनशक्ति विदेश पलायन भइ राष्ट्रिय अर्थतन्त्र अरुको सहयोग र सद्भावमा भरपर्ने अवस्था सिर्जना भयो । राष्ट्रिय ऋणमा बढोत्तरी हुँदै राज्य सञ्चालन समेत अरुको आर्थिक सहयोगमा चल्नुपर्ने परिस्थिति उत्पन्न हुन थाल्यो । श्रमको उचित मूल्यांकन हुने आशा र भरोसा राखेका युवा जनशक्ति राजनीतिक स्वार्थका कारणले विदेशीको भूमिमा रगत, पसिना बगाउन वाध्य हुन पुगे । श्रम र सीपको विकास कसरी गराउने भनी सोच्नुपर्ने अवस्थामा वैदेशिक रोजगारीको लागि सरकार स्वयम् विज्ञापन गर्न थाल्यो ।

श्रम र सीपको अवमूल्यन भइ राष्ट्रिय विकासमा अहोरात्र खट्ने पौरख विदेशी भूमिमा रहन गइ बचेखुचेका थोरै व्यक्तिहरु राजनीतिक नेतृत्वको चाकडी र चाप्लुसीमा रुपान्तरण हुन पुगे । वास्तवमा यस्तो अवस्था आउनुमा दोषी को ? भनेर भन्न सक्ने क्षमता पनि ह्रास हुँदै गयो । २०४६ साल अघि चामल निर्यात गर्ने राष्ट्र ०७८ मा आउँदा राजस्वको ठूलो भाग आयातमा परिणत हुन थाल्यो । दिनहुँ हजारौँ युवा विदेशिन वाध्य भए । राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र राष्ट्रियताले खोजेको श्रम र पसिनाको उचित मूल्यांकन हुन सकेन ।

राजनीतिक परिवर्तनले खोजेको स्वतन्त्रता र स्वाधीनतामा पार्टी स्वार्थ घुस्न पुगी साँढेको जुधाइ बाच्छाको मिचाइ हुने अवस्था सिर्जना हुँदै आयो । स्वार्थपरक राजनीतिक आचरणको कारणले सीप र श्रमलाई विदेशमा कौडीको भाउमा लगाउन नेपाली बाध्य हुन थाले । देशलाई आत्मनिर्भर गराउने पौरख विदेशी भूमिमा पसिना बगाउने परिस्थिति उत्पन्न गराइ राष्ट्रिय शक्तिलाई विदेश पलायन गराइयो । बाँझो खेतमा धान फलाउने सपना बाँडी राजनीतिज्ञले श्रम र पसिनाको उचित मूल्यांकन हुन्छ भन्न छाडेनन् ।

कागजी खेतमा लहलह पाकेको धानको बाला सुरुप–पुरुप काट्दै भोकाएको पेटलाई मीठो भाषण र आश्वासनले भर्ने कूचेष्टा हुन थाल्यो । स्वदेशमै रोजगारको उचित प्रबन्ध गरी युवाशक्तिलाई प्रयोग गर्नुको साटो सरकार र राजनीतिक नेतृत्व विदेशबाट पठाएको रेमिट्यान्समा रमाउन थाले । राष्ट्रिय श्रमलाई विदेश पठाउन सरकार स्वयम् लागिपर्न थाल्यो । यसरी विकृति र विसंगतिभित्र हुर्कन बाध्य भएका नेपाली जनतामा राजनीतिक वितृष्णा बढ्नुका साथै विदेश पलायन हुने परिपाटी विस्तार हुँदै गयो । राजनीतिक सोच र चिन्तनमा देखिएको असक्षमताले जनताले आफ्नो परिश्रमको मूल्य पाउने अवस्था रहेन ।

कार्यक्रम त केही ल्याइयो तर त्यो कार्ययोजना केवल पार्टी पंक्तिको पालनपोषण गर्नेतर्फ मात्र ध्यान पुग्न गयो । योग्यता र गुणस्तर मापन कमजोर भयो । आवश्यकता अनुकूल श्रम परिचालन गर्ने नाममा आफ्नालाई पोष्न नेता स्वयम् लागिपरेको अवस्था रह्यो । व्यक्तिको श्रम र पसिनाको अवमूल्यनले राष्ट्रिय विकासमा पु¥याउने क्षतिको मूल्यांकन नगरी केवल संकुचित विचारभित्र राज्य नीति परिचालन हुने परिपाटीको विकास हुन पुग्यो । के यही हो राष्ट्रिय जागरण ? यही प्रश्न सर्वत्र उठ्न थालेको छ ।

पाँचतारे होटेलमा कुखुराको सपेटासँगै बेलायती ह्वीस्कीको चुस्की लिँदै नारी आमा, बहिनी हुन् भनी कुर्लने मानसिकता बनाउने तर नारी अस्मिता जोगाउन सोच र दृष्टिकोणमा परिवर्तन गर्न नचाहने कर्म र व्यवहारले के नारी अस्मिता बच्न सक्छ र ? भावनात्मक हिसाबले नारीको अस्तित्वलाई स्वीकार्न जान्नु पर्छ, प्रत्येक नारी आमा, भाउजु, बहिनी, छोरी भाउजु हुन् भनी यथोचित सम्मान दिन जान्नुपर्छ । सबैको हेर्ने चिन्तनमा फेरबदल गर्न सक्नुपर्छ । अन्यथा होटेलको भात र ह्वीस्कीको चुस्कीले कहिल्यै नारीको अस्मिता बच्न सक्दैन ।

यो केवल दम्भको खेती मात्र मानिनेछ । हो, त्यस्तै भएको छ राष्ट्रिय श्रम शक्ति र पसिनाको मूल्यमा । कुरा आदर्श गर्ने तर सोचमा परिणत नगर्ने । थोपा–थोपा मिलेर बनेको पानीको स्रोतलाई यो त हाम्रो प्राकृतिक पानीको मुहान हो भनी हेर्ने मानसिकताले थोपा–थोपा भएर चुहिने पसिनाको मूल्य नबुझ्नेलाई के भन्ने ? पसिना र श्रमको मूल्य अलग–अलग हुनसक्छ ? कुण्ड–कुण्ड पानी मुण्ड–मुण्ड बुद्धि भनेर भनिएला । श्रमबिनाको पसिना र पसिनाबिनाको श्रम छुट्याउने सकिएला तर श्रम र पसिनाको औचित्य बुझिएन भने यसले कस्तो प्रभाव ल्याउला ? गम्भीर प्रश्न उठेको छ ।

कुरा आदर्श गर्ने तर सोच र चिन्तनमा वैदेशिक रोजगार अफिस खोलेर विदेश पलायन गराउने नीति के यो आदर्श चिन्तन हो ? पसिना र श्रमको परिभाषा अलग–अलग हुनसक्ला । कोही शारीरिक परिश्रम त कोही मानसिक श्रम गर्ला फरक यत्ति मात्रै हो । श्रम र पसिनाको मूल्य अनमोल हुन्छ । राष्ट्रियताको व्याख्या गर्ने काविल व्यक्तिले राष्ट्र राष्ट्रियता हाम्रो लागि जन्म दिने आमाभन्दा प्यारो छ भनी कुर्लन सक्लान् तर त्यही आमाको छाती नाङ्गो बनाइ बज्र प्रहार गर्नु कहाँसम्मको उचित सोच र चिन्तन हो ? लाजमर्दो कार्य हो । हो, त्यस्तै भएको छ समृद्ध नेपाल, सुखी नेपालीको नारामा । श्रम र पसिनाको मूल्यलाई स्वार्थभित्र कौडीको भाउमा सौदा गरी सदियौँदेखि परिश्रम र पसिनाले बनाएको नेपालको अस्तित्व अरुको पोल्टमा पर्ने गरी कार्य गरिनु के उपयुक्त विचार हो ?

अहिले नेपालको श्रम शक्ति र स्वाभिमान रकममा सटही भइरहेको छ । मानिसको श्रम किनबेचको स्थितिमा रहेको छ । शारीरिक र मानसिक रुपमा मानिसको मन, बुद्धि र विवेकमा तुषारो पर्न थालेको छ । दुई छाक राम्रोसँग खान र बस्न बाध्य भएर विदेशिएका युवाशक्ति बाकसको डिब्बाभित्र घरपरिवार र समाजलाई रुवाउँदै फर्कंँदै छन् । साहूको ऋण्मा डुबेका घरका परिवार इन्तु न चिन्तुको अवस्थामा रहेका छन् ।

सरकार मुकदर्शक भएर हेर्दै छ । यस्तो स्थितिमा हाम्रो स्वाभिमानभित्र हुर्केको श्रम र पसिनाको मूल्य के अर्थ रहला ? यो वर्तमानको चुनौती भएर देखापरेको छ । राजनीतिमा शान्तिपूर्ण परिवर्तनले नयाँ उत्साह अवश्य जागेको छ तर प्रत्येक नेपालीले खाइ, नखाइ बचाएको सम्पत्तिबाट तिरेको राजस्वभित्र नाङ्गो हात पारी लुछाचुँडी गर्नु के बुद्धिमानी हो ?श्रमको उचित व्यवस्थापन नभइ युवाशक्ति विदेश हुत्तिँदै जाने हो भने राष्ट्रिय विकासको धरोहर मानिएको श्रमशक्ति कहाँबाट ल्याउने हो ?

हाम्रो विकासको अवधारणा कसरी साकार हुने हो ? संसारको भूगोलमा सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको प्राकृतिक सत्य। सम्पदा, पौरख र पसिना हुँदाहुँदै पनि नीति र व्यवहारमा परिवर्तन ल्याउन नसक्नु कसको जिम्मेवारी हो ? गम्भीर प्रश्न अहिले सल्बलाइरहेको छ ।