केपी सुवेदी
वातावरणीय प्रदूषण दिनदिनै बढ्दो क्रममा छ । मानिसले उत्पादन गरेको प्रदूषण मानिसकै समस्या बनेको भए तापनि यसबाट पाठ सिक्ने बानी झटपट विकास नहुने रहेछ । मानिसले उत्सर्जन गरेको वस्तुले स्वयंलाई हानी गरिरहेको हुन्छ । यो क्रम जनसंख्या वृद्धिसँगै फोहरका स्रोतहरु पनि बढिरहेका कारण दिन प्रतिदिन जटिल समस्या बनेर मानव स्वास्थ्य घेरिएको छ ।
स्थानीय स्रोतबाट उत्पन्न धुलोका कणहरु र धुवाँ‘ वायुमण्डलमा मिसिएर जताततै फैलिने हुंाँ एकठाउँमा उत्पादित धुलो र धुवाँले व्यापक रुपमा असर गरिरहेको हुन्छ । आजभोलि वायुमण्डल कति धुलो छ भनेर अनुमान गर्न चिल्ला सतह भएका वस्तुमा टाँसिएको धुलोको तहलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै अर्को उदाहरण लिऔँ, बाहिर राखिएका सवारी साधन वा त्यस्तै वस्तुहरु राखि छोडेका बेला हल्का मात्र वर्षा हुँदा हिलोले छ्यापेझैँ हुन्छ । धेरै दिन पानी नपरेको अवस्थामा धेरै धुलो वायुमा बाक्लिएर त्यस्तो भएको हुनु स्वभाविक हुन्छ तर दुई÷चार घण्टा मात्र पानी नपर्दा वायुमा त्यति धेरै माटो थुप्रिनु स्वास्थ्यको दृष्टिले गम्भीर चुनौती बनेर उभिएको बुझ्नुपर्छ ।
अब हाम्रो वायुमण्डलमा यति धेरै धुलो कसरी जम्मा हुन्छ ? निश्चय पनि सोचनीय विषय हो र यसले हाम्रो स्वासयन्त्र कति प्रभावित होला ? हामी अनुमान गर्न सक्छौँ । किनभने पानी नपरेको दुई घण्टा वित्न नपाउँदै हामीले फोक्सोमा हुलेर प्राणमा रुपान्तर गर्ने वायु यतिका धुलोले भरिएको हुन्छ । त्यो त्यही सिमसिमे पानीले भिजेर सुकेको ठोस सतहहरुलाई हेरेर थाहा पाउन सकिन्छ । धुलोको स्रोत हामीले विकासको नाममा गर्दै गरेका उद्योग वा यान्त्रिकहरुको अव्यवस्थित प्रयोगले सिर्जना गरेकोमा कुनै शंका छैन । हाम्रो सडक, सिमेन्ट कारखाना, ढुङ्गा खानी, बालुवा खानी, सबै विकासका शीर्षकहरु हुन् ।
जसले धुलो उत्पादन गरिरहेका छन् । त्यो धुलो कसैको रोजगारीसँग सम्बन्धित छ त कसैको समस्या मात्र बनिरहेको छ, तैपनि यसबारेमा कमैले मात्र आँकलन गरिरहेका होलान्, यसको समाधान खोज्नुपर्छ कि पर्दैन । समस्या मानिसकै कारणले बढेको हुनाले समाधान गर्नै नसक्ने पक्कै पनि नहुनुपर्ने हो तर विचार पु¥याउनुपर्ने समय गइसकेपछि हेरफेर गर्न धेरै क्षति व्यहोरेर गर्नुपर्छ । सहर बजार होस् वा गाउँले व्यापारिक केन्द्र, जहाँ पनि सडकको सुविधा पहिले हेरिन्छ र त्यहाँ त्यही धुलाम्मे सडक ।
त्यहाँ पसलका सामानहरु धुलोले बिग्रिरहेका, खाद्य सामग्री नस्ट भइरहेका, औषधी, कपडा, मिठाईलगायतका सबै वस्तुहरु बिग्रेको बारेमा धेरै चिन्ता छैन र उपभोक्ताहरु पनि त्यसको गुणस्तरप्रति सचेत भएको देखिँदैन । सरकारी निकायबाट अनुगमन गरिन्छ, नाम मात्रको त्यसले प्रदूषणको स्रोत नियन्त्रण गर्ने सोच र जिम्मेवारी नहुने भएकोले औपचारिकतामा सीमित हुन्छ ।
धुलोको नियन्त्रण गर्नसके मात्र धेरै हदसम्म मानिसको स्वास्थ्यमा प्रदूषणको असरबाट लाग्ने श्वासप्रश्वास र छालामा देखिने समस्या धेरै नियन्त्रण हुन सक्छ । छाला चिलाउने, घाउ, खटिराजस्ता बिरामीहरु पनि धुलोले हुनसक्ने भएकोले धुलोकोमात्रा बढेसंगै घाउ, खटिराm आँखामा र एलर्जिक लक्षणहरु बढिरहेको पाइएको छ । धुलो बाहेक मानव स्वास्थ्यमा समस्या ल्याइदिने प्रदूषणका अनेकानेक स्रोतहरु छन् ।केही नजानेर व्यवस्थित हुन सकेका छैनन् भने कति जानेर पनि वाध्यताले हुने ।
जस्तै धुवाँ, जथाभावि असुरक्षित प्रयोग गर्दा हावामा तैरिरहेका विभिन्न रसायनहरु, सडेगलेका पस्तुबाट निस्कने दुर्गन्धयुक्त वायु र अनावश्यक उत्पादन भइरहेका ध्वनिप्रदूषणले पनि हाम्रो स्वास्थ्यमा समस्या ल्याइरहेका हुन्छन् । खास कुरा के हो भने जुन प्रदूषण नगरिकन विकासको उपभोग गर्न सकिन्छ, त्यो पनि गर्न नखोज्नु या नचाहनु ठूलो समस्या हो । राज्य चलाउनेहरुमा, प्रशासन चलाउने क्रममा या विवेकीय प्रयोग गर्नुपर्ने नागरिक तहमा जहाँ पनि जिम्मेवारीबोध कम भइरहेकोछ ।
राम्रो कामको सुरुवात जसले गरे पनि त्यसलाई सबैले साथ दिनु अनिवार्य हुन्छ । सके आफैले सुरु गरौँ नसके अरुले गरेकोमा अर्थपूर्ण सहयोग गरेर त्यसको स्वामित्व ग्रहण गर्ने विवेक प्रदर्शन गरौँ । धुलोको प्रदूषणले ग्रस्त हामी दङाली सिमेन्ट उद्योग बनाउँदा ध्यान पु¥याउन नसक्दा पछुताउनु परेकै छ । अब जहाँसुकै टिप्परहरु चलाउने तर त्यसले मापदण्ड पूरा गरेको नगरेको कसैले वास्ता नगर्ने, व्यवसायीहरु आफ्नो व्यवसाय गर्दा जनसाधारणको स्वास्थ्यमा अथवा वातावरणीय प्रतिकूलता हुन्छ कि भन्ने किन्चित जिम्मेदारीबोध नहुने हो भने त्यसले अराजकता ल्याउने गर्छ र असभ्यताको परिचय दिन्छ तर यति मात्र होइन जताततै अराजकता व्याप्त छ ।
नियम कानुनको पालना अरुले नगरेको देखिरहँदा आफू पनि नियमको पालना गर्नु नागरिक कर्तव्य हो भनेर सोच्नै नपर्ने विचार सबैभन्दा खतर्नाक हुन्छ । जनमतबाट नेतृत्वदायी भूमिकामा पुगेको प्रतिनिधि पद र पैसामा लिप्त हुने चरित्रको निर्माण हुनु सबैभन्दा दुर्भाग्यपूर्ण हो । जनादेशको अर्थ आफू र आफ्नो वरिपरिका झुण्डलाई राज्यको सम्पत्तिमा मन लागेको गर्न दिने प्रवृत्ति घट्नुको साटो बनेको छ । जति–जति कथित क्रान्तिकारी र प्रगतिशीलहरु सत्तामा पुग्दैछन् त्यति नै व्यथितिहरु बढिरहेका छन् । ठेक्काको वहानामा राज्यको सम्पत्तिमा उनीहरु भोको स्यालले सिनो झम्टेझै गर्छन् ।
सत्ताको बागडोर सम्हालेपछि जनताले तिरेको करबाट तलव÷भत्ता बढाएर लिन हतार गर्ने, जनतालाई करको भार चौगुणा बढाएर व्यवसाय नै गर्न नसक्ने अवस्थामा पु¥याउने तर त्यसको प्रयोग केवल आफ्नो स्वार्थसँग गाँसेर गर्ने गलत प्रवृत्ति झनपछि झन बढेर गएकोले देश सधैँ यही नियतिबाट पीडित भइरहनुपर्ने हो भन्ने प्रश्न उठेको छ । सबैभन्दा उदेकलाग्दो विषय अहिले सडकको दूर्दशाले दर्शाउँछ । जहाँ–जहाँ सहर र व्यावसायिक केन्द्रहरुछन् ।
जहाँ अस्पताल र संवेदनशील क्षेत्र छन् त्यहाँ सबैभन्दा धेरै बिग्रेको छ । सबैले देख्ने ठाउँमा सरकारको ठेक्कावालाले देख्न नसक्ने, देख्न नपर्ने कारण के होला ? दाङको विकासको मेरुदण्ड मानिएको सडकको चारलोन ठेक्कामा यस्तै बेहाल बनाइरहेको सुनिन्छ । एकदिन त जनताको अगाडि आउनुपर्ला नि !