पसलभन्दा पुराना खाद्य सामग्री

तुलसीपुरमा बजार अनुगमन

खेमराज रिजाल

तुलसीपुर, ११ पुस । घोराही–तुलसीपुर सडकखण्डमा रहेको तुलसीपुर उपमहानगरपालिका—६ को एउटा किराना पसल खोलेको तीन महिना मात्रै भएको छ तर तुलसीपुर उपमहानगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुजे्रको ६ महिना भइसकेका दैनिक उपभोग्य सामग्रीहरू थिए । चाउचाउ, बिस्कुटदेखि सुजीसमेत म्याद सकिएको अवस्थामा पाइएपछि अनुगमन टोलीले मुचुल्का उठाएर ती सामान नियन्त्रणमा लिएको छ ।

‘हामीले पसल सञ्चालन गरेको मात्रै ३ महिना भएको छ, कसरी अधिकृत विक्रेताले म्याद गुज्रेका सामान राखिदिए’, पसलका सञ्चालक छविलाल डाँगीले अनुगमन टोलीलाई बताए । कहिले लमही, कहीले घोराही त कहिले तुलसीपुरका विभिन्न डिलरहरूले गाडीमै सामान ल्याएर पसलमा छाडिदिने गरेका छन् । धेरैजसो डिलरहरूले म्याद जान एक महिना मात्रै बाँकी समय हुँदाका दैनिक उपभोग्य सामान लिएर खुद्रा विक्रेताकोमा छाडिदिने गर्दा समस्या आएको डाँगीले बताए ।

सोही सडकखण्डमा सुजन भण्डारीले किराना पसल सञ्चालन गरेको सन् २०२१ मा थियो तर उनको पसलमा पनि सन् २०२० मै म्याद समाप्त भइसकेका चाउचाउ, बिस्कुटहरू छरपस्ट थिए । उठाउँदाउठाउँदा पसल नै खाली हुनथालेपछि अनुगमन टोली आश्चर्यमा परेको थियो । त्यहाँ पनि म्याद गुज्रेका सामानहरूमा चाउचाउ, बिस्कुट, दालमोटलगायतका थिए ।

चारलेनको धुलोले मात्रै सामान पुरानाजस्ता देखिने बताएकी भण्डारीको स्टोरमा निरीक्षण गर्दा धेरै खाद्य सामग्रीहरू म्याद गुज्रिएका भेटिए । सुजनलाई ती सामानहरू कुन डिलरले ल्याएको भन्ने पनि पत्तै थिएन । ‘गाडी देखेपछि मात्रै चिन्छु’, उनले भनिन्, यो मुचुल्का उसैलाई थमाएर म्याद गएका सामानको पैसा भराउनेछु ।’ उनको भनाइमा उनले डिलरलाई म्याद गएका सामान नराख्न मात्रै भन्छिन् तर आफैले सामानको म्याद हेर्ने नगरेको उनले बताइन् ।

त्यही टोलको एउटा डेरी एण्ड किराना पसलको अवस्था पनि त्यस्तै । सानो पसलमा पनि सामानहरूको म्याद हेरिरहँदा झण्डै पसल रित्तै भएको थियो, म्याद गुज्रेका सामान निकाल्दा निकाल्दा । धुलैधुलोले पोतिएका सामानहरू थिए । उनले पनि सडकको धुलोकै कारण पनि यो धुलाम्मे हुने समस्या रहेको बताइन् । उनको आग्रह सडक पनि अनुगमन गरिदिनुभए हुन्थ्यो ।

उनको भनाइमा हात्तीखौवाको यो क्षेत्रको सडक करिब पाँच वर्षदेखि यस्तै दयनीय अवस्थामा छ । न सडक डिभिजनले बनाउँछ न चारलेनले बनाउँछ, न त नगरपालिकाले नै बनाउँछ । वर्षातमा गाडीले पसलैसम्म हिलो छ्याप्ने र हिउँदमा धुलैधुलोका कारण पसलमा खुल्ला राखिएका सामानहरू धुलाम्मे हुने त्यस क्षेत्रका व्यवसायीहरूको गुनासो थियो ।

सामानहरू मात्र होइन, त्यस क्षेत्रमा पसलहरू पनि डेट एक्स्पायर थिए । अधिकांश पसलहरू जहाँ–जहाँ दर्ता गरिएको थियो त्यहाँ पुनः नवीकरण गरिएको थिएन । मूल्यसूची हात्तीखौवा क्षेत्रभरि अनुगमन गर्दा एउटा पसलमा मात्रै थियो । त्यो पनि गत असोज महिनाको मूल्यसूची थियो । त्यो सूचीअनुसार सामानको मूल्य बढिसकेकाले यसको अर्थ नरहेको पनि पसलका सञ्चालकले बताए ।

अघिल्ला अनुगमनहरूमा एक पटकलाई सुध्रने मौका भन्दै अनुगमन टोली बाहिरिने गरेको थियो तर पछिल्लो समयमा अनुगमन टोली पनि एक्सनमा आएको छ । ‘हामीले म्याद गुज्रेका र उपभोग मिति उल्लेख नएका एक प्याकेट विस्कुट पनि छाडेका छैनौँ, पहिलो पटक चेतावनी स्वरूप सामान उठाएको मात्रै हो, फेरि पनि यस्तै दोहोरिए उपभोक्ता ऐनअनुसार कारबाही गरिने छ’, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखा प्रमुख रेखा शर्माले भनिन् ।

उनले दैनिक उपभोग्य जंकफुडमा उपभोग मिति र उत्पादन मिति स्पष्टसँग उल्लेख नगर्ने खाद्य उद्योगमै समेत पुगेर चेतावनी दिएको बताइन् । अनुगमनका क्रममा कारबाहीसँगै उनले व्यवसायीहरूलाई पटक–पटक आफूले राख्ने सामानको अनिवार्य रूपमा उपभोग मिति हेर्न र घुमुवा व्यापारीले ल्याएका कुनै पनि खाद्य सामग्रीहरू नराख्न पनि आग्रह गरेको बताइन् । कतिपय बजारमा त दैनिक उपभोग्य जंकफुडलगायत चिप्सहरू सादा प्लास्टिकमा प्याकिङ गरिएको पाइएको पनि शर्माले बताइन् ।

‘केही खाद्यवस्तुहरू यस्ता छन् कि ती वस्तुको नाम के हो, कहाँ उत्पादन भएका हुन्, कहिले उत्पादन भएको होलगायत कुनै पनि संकेत देखिँदैन, यस्ता धेरै सामानहरू जफत गरिएको छ’, उपभोक्ता हकहित शाखा प्रमुख शर्माले भनिन् । तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा भएको बजार अनुगमनमा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखाका प्रेम खड्का र नर्वदा पोख्रेल, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय तुलसीपुरका राजेश चौधरी, रिजन कार्की र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि जगतराम चौधरीको सहभागिता रहेको थियो । अनुगमनका क्रममा कुनै पनि व्यावसायिक प्रतिष्ठानमा पूर्ण शुद्धता देखिएको पाइएन ।