लयमा फर्काऔं खेल क्षेत्र

कोरोना भाइरसको संक्रमणका कारण मुलुकमा सबै क्षेत्र करिब दुई वर्ष निकै प्रभावित बने । धार्मिकदेखि सांस्कृतिक जमघट, सिने क्षेत्र, पर्यटन क्षेत्र, होटल व्यवसायलगायत सबै विधाका खेल क्षेत्र पनि कोरोना भाइरसको संक्रमणका कारण दुई वर्ष ठप्प रह्यो ।

राष्ट्रिय प्रतियोगिता, प्रदेश स्तरीय प्रतियोगिता तथा स्थानीय पालिकाहरुमा हुने प्रतियोगिताहरु पनि ठप्प रहे । तीनै तहका सरकारले खेलकुद क्षेत्रमा यी पछिल्ला दुई वर्षमा कुनै पनि कार्यक्रम ल्याएनन् । अन्ततः खेल जगतमा पनि खेलप्रतिको निरुत्साह निकै बढ्दै आयो तर कोरोना भाइरसको संक्रमण मत्थर भएपछि खेल क्षेत्र पनि विस्तारै लयमा फर्कन थालेको छ । यही दौरानमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि सुरु हुन थालेका छन् । राष्ट्रिय, प्रदेश स्तरीय र पालिका स्तरीय खेलकुद प्रतियोगिता समेत आयोजना हुँदै गर्दा अब विस्तारै कोरोनाको संक्रमणको त्रासमा रहेको खेल क्षेत्र पनि क्रमशः लयमा फर्कन थालेको अनुभूति हुन थालेको छ ।

करिब दुई वर्षको विश्रामपछि दाङमा पछिल्लो समयमा खेलकुद गतिविधिहरु बढ्न थालेका छन् । अघिल्लो साता बेलझुण्डीको रंगशालाको स्थलगत अनुगमन गर्न आएका संघीय खेलकुदमन्त्रीले समेत चाँडै क्याविनेटको बैठकबाट मुलुकका सबै रङ्गशालाहरु खोल्ने निर्णय गर्ने अभिव्यक्ति दिएसँगै दाङ जिल्लामा शुक्रवारदेखि तोक्वान्दो विधाका दुईवटा प्रतियोगिताहरु आयोजना भएका छन् । घोराहीमा प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

यसैगरी तुलसीपुरमा पनि तोक्वान्दोकै प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका सयभन्दा बढी खेलाडीहरु दाङमा आइपुगेका छन् । यसैगरी पालिकाहरुले पनि विस्तारै खेल क्षेत्रलाई खोल्न थालेका छन् । कोरोना भाइरसको संक्रमण मत्थर भएसँगै खेल क्षेत्र चलायमान हुँदा यसले खेलाडीहरुमा पनि उत्साह ल्याएको छ ।

खेल राष्ट्रियताको पहिचान हो, खेल स्वास्थ्य हो, खेल अनुशासनसँग पनि जोडिएको छ । यो अवस्थामा पनि खेललाई मर्न दिनु हुँदैन । विशेष बाध्यात्मक परिस्थितिमा बाहेक खेल क्षेत्रमा यो र त्यो वहानामा अंकुश लगाइनु हुँदैन । खेल जगत निष्क्रिय भइरहँदा यहाँ सयौ खेलाडीहरुका प्रशिक्षित हुने आशा मर्न थालेका छन् । विभिन्न विधाका दर्जनौँ खेल प्रशिक्षकहरु बेरोजगारजस्तै भएका छन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँ निर्माण भएका खेलकुदका संरचनाहरु उपयोगविहीन भएको अवस्थामा अब खेल क्षेत्रलाई चलायमान बनाउन तीनै तहका सरकारहरु गम्भीर हुनु आवश्यक छ । अब राजनीतिक दलहरुका कुम्भ मेला, व्यावार मेला तथा महोत्सवलगायतका सबथोक खुल्ला भएको अवस्थामा खेलकुद क्षेत्रलाई पनि खुल्ला गरेर प्रोत्साहन गर्न आवश्यक छ । निदाउन थालेको खेल क्षेत्रलाई लयमा फर्काऔँ । खेलाडीको उत्साहलाई सार्थक मोडमा लैजाऔँ ।