लिलाधर वली
दाङ,१३ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथामक लागि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देश लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण मंगलबारदेखि यातायातका साधान, व्यापार, व्यवसाय, उद्योग बन्दसँगै सडकमा मानिसहरु निस्कन पाएका छैनन् ।
लकडाउन उल्लघन गरेर सडकमा हिड्ने सवारीसाधनसँगै व्यक्तिलाई समेत प्रहरीले कारवाही गर्न सुरु गरेको छ । जसका कारण मानिसहरु सडकमा हिड्नसमेत सकेका छैनन् । लकडाउनका कारण अत्यावश्यक पसलहरु समेत सञ्चालन गर्न कठाई भैरहेको व्यवसायीहरुले बताउने गरेका छन् । लकडाउनका क्रममा स्वास्थ्य संस्था, डेरी, खाद्यान्न, पानीलगायतका पसलहरु सञ्चालन भने खुला राखिने प्रशासनले सूचित गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले खाद्यान्न खरिदका लागि विहान ६ देखि ९ बजेसम्मको समयलाई छुट्याएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको तीन घण्टाको समयमा खाद्यान्नका सामग्री खरिद गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्। ‘सर्वसाधारणका लागि खाद्यन्न खरिदका लागि हरेक दिन विहान ६ बजेदेखि ९बजेसम्म समय दिएका छौँ’,प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘त्यही समयमा आवश्यक पर्ने सामग्री किन्दिनुहोस, अन्य समयमा घरबाहिर ननिस्कनुहोस।’
जिल्ला प्रशासन कार्यालयले खाद्यान्न सामग्री किन्ने समयमा भीडभाड हुने गरि खरिद नगर्न समेत आग्रह गरेको छ ।
उनले भने, ‘यदि खाद्यान्न खरिदका नाममा भीडभाड हुने अवस्था आए, त्यसलाई लाईन लगाएर वा रेखाकंन गरी व्यवस्थापन गर्न सकिन्छ ।’ तर अहिले जिल्लामा त्यस्तो अवस्था नआएको समेत उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले दिएको समयमा कुनै निश्चित व्यवसायीहरु मात्र नभएर इच्छुक व्यवसायीहरुले पसल खोल्न सक्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिएका छन् ।
अप्ठेरो परिस्थितिमा जनतालाई सहज रुपमा सेवा दिने गरी कुनै निश्चित स्थान मात्र नभएर सम्पुर्ण खाद्यान्न पसलहरु खुल्ने उनले बताए । ‘लकडाउनको अवस्थामा जनतालाई समस्या नहोस भनेर बिहान ६ देखि ९ बजेसम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदका लागि तोकेको छ’,अध्यक्ष भुषालले भने, ‘ यो समयमा सम्पूर्ण उपभोक्ताहरुले खाद्य बस्तुहरु किन्न सक्नुहुन्छ ।’
यो समय जिल्ला प्रशासन कार्यालयले नै छुट्याएकाले विक्रि गर्ने व्यवसायी र खरिद गर्ने उपभोक्ताहरुलाई केही नहुने उनले बताए । उनले प्रशासनले दिएको समयमा पसल बन्द नगर्न र बजारमा कृत्रिम अभावको सिर्जना नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले भने जिल्लामा खाद्यान्न खरिदको समयमा भीडभाड नदेखिएको बताएको छ । ‘जिल्ला प्रशासन कार्यालयले नागरिकहरुलाई समस्या नहोस भनेर खाद्यन्न खरिदका लागि विहान तीन घण्टाको समय दिएको छ’,जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक सुमित खड्काले भने,‘त्यो समयमा उपभोक्ताहरुले आवश्यक सामग्री खरिद गर्नुभैरहेको छ ।’ जिल्लामा छुट्याइएको विहान ६ बजदेखि ९ बजेसम्मको समयमा अहिले जिल्लाका बजारहरुमा भीडभाड नदेखिएको उनले बताए ।
उनले सकभर उपभोक्ताहरुलाई खाद्यन्न खरिदका क्रममा भीडभाड नगरी खरिद गर्न समेत आग्रह गरे । ‘कुनै पनि स्थानमा भीडभाड नगर्न भन्दै प्रहरीले चेतनामुलक सन्देश प्रवाह गर्ने काम गरिरहेको छ’,उनले भने, ‘यदि खाद्यान्न खरिदका नाममा भीडभाड हुने अवस्था आए, त्यसलाई लाईन लगाएर वा रेखाकंन गरी व्यवस्थापन गर्न सकिन्छ ।’ तर अहिले जिल्लामा त्यस्तो अवस्था नआएको समेत उनले बताए ।
प्रशासनले दिएको तीन घण्टाको समयलाई अटेरी गरी अन्य समयमा पसल खोल्ने र बाहिर निस्कनेलाई कानुन अनुसार कारवाही गर्ने समेत चेतावनी दिएको छ । कोरोनाको संक्रमणबाट बच्न घर बाहिर ननिस्कन, भेटघाट नगर्न, सरसफाईनमा ध्यान दिन समेत प्रशासनले जिल्लावासी नागरिकहरुमा आग्रह गरेको छ ।