कोराना विरुद्धको अभियानमा राजनीतिकदल

संयन्त्र निर्माण, अभिलेख राख्ने, अुनगमन

इन्द्र डिसी
दाङ १३ चैत । दाङ जिल्लाका कृयाशील राजनीतिकदलहरुले कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउने भएका छन् ।

विहीवार घोराहीमा बसेको नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा दाङको संयुक्त बैठकले जिल्लाका सवै वडामा जनप्रतिनिधि र राजनीतिक दल सम्मिलित संयन्त्र निर्माण गर्ने र सो संयन्त्रलाई भारत र अन्य मुलकबाट आएका व्यक्तिको अभिलेख राख्ने, क्वारेन्टाइनमा बसे, नवसेको अनुगमन गर्ने तथा कोरोनाको लक्ष्यण देखिएमा सरकारले तोकेको स्थानमा पठाउने व्यवस्था गर्ने जिम्मा दिने निर्णय निर्णय गरेका हुन् ।

त्यसैगरेर सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनको लागि सवैदलहरुले आफनो ठाउँबाट सहयोग गर्ने निर्णय पनि गरेका छन् । बैठकले कोराना प्रकोप नियन्त्रणका लागि जनचेतना जागृत गर्न सवै राजनीतिक दलहरुले भूमिका निर्वाह गर्ने र प्रकोप नियन्त्रणको लागि उपचारमा खटिएका स्वास्थ्यकर्मी र शुरक्षाकर्मीलाई पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेको बैठकपछि नेकपा दाङका सचिव सुवास पुन, नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्का र राजमो दाङका अध्यक्ष गणेश आचार्यद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोष स्थापना

यसैविच विपत्त व्यवस्थापन समितिले स्थानीय तहहरुसँगको समन्वयात्मक बैठक गरेको छ । बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउन स्थानीय तहको सहयोग लिने निर्णय गरेको छ । बैठकले बिरामीलाई खाना खुवाउन एउटा कोष समेत निर्माण गरेको छ । कोषमा घोराही र तुलसीपुर उपमहानगरले १÷१ लाख तथा अन्य पालिकाले ५०÷५० हजार सहयोग गर्ने भएका छन । बैठकले संकास्पद बिरामी भेटिए स्थानीय स्वास्थ्य निकायमा ज्वरो जाँचगरी कोरोनाको लक्षण देखिए बेल्झुन्डी अस्पताल पुयाउन सहयोग गर्ने निर्णय गरेको छ । बैठकमा अस्पताल ब्यबस्थापन समितिको निर्णय समेत जानकारी गराइएको थियो । बैठकले सबै वडामा वडाध्यक्षको नेतृत्वमा सर्बदलीय समिति बनाउने निर्णय समेत गरेको छ ।