अमरराज आचार्य
दाङ, ८ पुस । भित्र्याउनै लागिएको धान डुबानमा परेर कामै नलाग्ने भएका कारण किसानहरु खिन्न भइरहेका बेला जिल्ला कृषि ज्ञान केन्द्रले भने धान उत्पादनमा बृद्धि भएको खवर सञ्चार माध्यमहरुलाई दिएको छ । सो कार्यालयको तथ्यांकले पोहोर सालभन्दा यो बर्ष धान उत्पादन बढेको देखाएको छ । तर यथार्थमा यस्तो अवस्था होइन, कार्यालयले तयार पारेको तथ्यांकमा त डुबानमा परेर संकलन नै नगरिएको धानलाई उत्पादनमा जोडिएको छ ।
बेमौसमी बर्षातका कारण एक गेडा पनि धान स्याहार्न नपाएका किसानहरुलाई पनि यो तथ्यांकले झुक्याउने किसानहरुको अभिव्यक्ति छ । किनकि बगेको धानलाई उत्पादनमा बृद्धि भन्नु हाँस्यास्पद भएको किसानहरुले बताएका छन् । धान उत्पादन बृद्धिको तथ्यांक जतिबेला सत्य हुन्छ, त्यो बेला किसानले यथार्थमा धान भित्र्याइसकेका हुन्छन् तर कार्यालयले भने बारीमा सडेर कामै नलाग्ने धानलाई पनि उत्पादनमा बृद्धि भनेको छ । यदि नपसाउँदै धान बाढीले बगाएको भए पनि कार्यालयले यसलाई धान उत्पादनमा बृद्धि भनेर कृषि तथ्यांकको उपहास गर्ने किसानहरुको अभिव्यक्ति छ । कृषिले तथ्यांक दिँदा डुबानमा नपरेको भए उत्पादन बढी हुने थियो भनेर तथ्यांक दिनुपर्ने पनि किसानहरुले बताएका छन् ।
जिल्लामा गत वर्षभन्दा यस वर्ष धान उत्पादन बृद्धि भएको छ । धान खेती हुने क्षेत्रफलमा वृद्धि तथा समयमा नै वर्षात भएको कारण धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लामा यस वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । गत वर्ष दाङमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्ष जिल्लामा धान खेती ३९ हजार हेक्टरमा गरिएको थियो भने यस वर्ष ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको अर्थ विज्ञ लामिछानेले बताए । खेती गर्ने क्षेत्रफलसँगै उत्पादन समेत बढेको लामिछाने बताउँछन् । ‘यस वर्ष समयमा वर्षात हुनु, क्षेत्रफल बृद्धि हुनु कारण पनि उत्पादन वृद्धि भएको हो’, लामिछानेले भने ।
कोभिडको कारण धेरैले रोजगार गुगाएको र धेरै नागरिक घरमा बसेको कारण पनि खेती गरेका हुन् । अघिल्ला वर्षहरुमा बाँझो रहने जग्गामा पनि कोभिडपछि खेती गर्न थालिएको छ । जिल्लामा पछिल्लो समयमा कृषकहरुले हाइव्रेड धान खेती गर्न थालेका छन् । यसले पनि उत्पादनमा वृद्धि भएको कृषिका जानकारहरु बताउँछन् । पछिल्लो समय कृषकहरुले स्थानीय धानभन्दा पनि हाइव्रेड लगाउने गरेका छन् ।
थोरै क्षेत्रफलमा धेरै उत्पादन लिन सकिने भएकाले हाइव्रेड धान लगाउने गरेको कृषकहरु बताउँछन् । जिल्लाका पछिल्लो समय सिचाईको सुविधा विस्तार हुँदै जानुको कारण पनि उत्पादनमा सहयोग पुगेको ज्ञान केन्द्रले जनाएको छ । समयमा कृषकको लागि मल, बीउ र सिचाईको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन बढाउन मद्दत मिल्ने समेत बताइएको छ ।
२७ हजार ६ सय ६८ मेट्रिक टन धानमा क्षति
बेमौसमी वर्षातले दाङमा लगाइएको २७ हजार ६ सय ६८ मेट्रिक टन धानमा क्षति पुगेको छ । जिल्लाका १० वटा स्थानीय तहहरुबाट संकलन गरेको तथ्यांकअनुसार उक्त मात्रामा धानमा क्षति पुगको कृषि अर्थ विज्ञ लामिछानेले बताए । कृषि ज्ञान केन्द्रका अनुसार काटिएको धान ४ सय ७८ हेक्टर धान बगाएको थियो भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पु¥याएको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार बबई गाउँपालिकामा ५ सय २.५ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२.५ हेक्टर ढालेर क्षति पु¥याएको हो ।
शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३.५ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको थियो ।
१ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो । यसैगरेर तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा धान ढालेर क्षति पुगेको होे । घोराहीउपमहानगरपालिकामा १ हजार ९ सय ५८.८ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।
बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षति पुगेको थियो । उक्त पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो ।
त्यसैगरेर राप्ती गाउँपालिका ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१.८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो । गढवा गाउँपालिकामा ९ सय १९.७ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११.६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो भने ८ सय ८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो ।
राजपुर गाउँपालिकामा ८ सय ७५.३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८.६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको हो । ६ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको हो ।