राप्रपा अध्यक्ष लिंग्देन तुलसीपुरमा

तुलसीपुर, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिंग्देन दाङ आउने भएका छन् । तुलसीपुरमा हुने आमसभा तथा अभिन्नदन कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिंग्देन दाङ आउन लागेको राप्रपा केन्द्रीय सदस्य तथा तुलसीपुरका युवा नेता दामोदर भण्डारीले जानकारी दिएका छन् ।

अध्यक्ष लिंग्देनसँगै अन्य केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान र महामन्त्री धवल शमशेर राणा, अर्का महामन्त्री भुवन पाठक, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयलगायतका नेताहरु पनि दाङ आउने कार्यक्रम तय भएको राप्रपा दाङले जनाएको छ । बिहीबार बिहान ११ बजे तुलसीपुरको विपी चोकमा राप्रपाले आयोजना गर्न लागेको आमसभा तथा अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्न नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देन आउन थालेका हुन् ।

एकता महाधिवेशनबाट अध्यक्षमा निवार्चित भएपछि लिंग्देन पहिलोपटक तुलसीपुरमा हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् । हाल देशमा भइरहेको समसामायिक परिस्थिति, भ्रष्टाचारले जडा गाडिरहेको अवस्था, न्याय मरिरहेको अवस्थामा राप्रपा पार्टीले के गर्न सक्छ यावत विषयवस्तुलाई मध्यनजर गरेर सम्बोधन गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।

साथै आफू निर्वाचित भएपछि देशलाई कसरी अगाडि लैजान सकिन्छ, कसरी अगाडि बढ्दा देशका निमित्त अनुकूल वातावरण बन्छ भन्ने उद्देश्यले केन्द्रीय अध्यक्ष लिंग्देनले खुला आमसभालाई सम्बोधन गर्न आउन लागेको उनले बताए । सोही दिन लुम्बिनी प्रदेशका नवनिर्वाचित कार्यसमितिलाई पदभार ग्रहण तथा सपथ खुवाउने कार्यक्रम रहेको उनले बताए । कार्यक्रम तुलसीपुरको मेट्रो पार्टी प्यालेसमा दिउँसो ४ बजे हुनेछ । साथै पदभार ग्रहण तथा सपथग्रहणपश्चात् लुम्बिनी प्रदेशको कार्यसमितिको बैठक बस्ने कार्यसूची छ ।