ड्रग्स डिलर डिस्ट्रोय अभियानमा छौ : डिएसपी अर्याल

तुलसीपुर पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको अखडा मात्र नभएर कारोवारीहरुको समेत एरिया ट्रान्जिट बन्दै छ । यहाँबाट घोराहीलगायत पश्चिम दाङका विभिन्न भूभाग तथा सल्यान, रुकुम र रोल्पामा समेत लागूऔषध सप्लाई हुने गरेको तथ्य खुलिसकेको अवस्थामा तुलसीपुर प्रहरीले केही समययता बढाएको लागूऔषध अप्रेशनमा दुईवटा लागूऔषध डिलर ध्वस्त बनाएको दावी गरेको छ ।

प्रहरीको सूचनामा अझै पनि केही डिलरहरु तुलसीपुरमै क्रियाशील छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले बताउँछ । सर्च अभियानकै क्रममा प्रहरीले यसै आर्थिक बर्षमा मात्रै ४४ जनालाई लागूऔषध कारोवारमा मुद्दासमेत चलाएको छ । अहिले पनि तुलसीपुर प्रहरीको हिरासत लागूऔषध कारोवारी र दुव्र्यसनीहरुले भरिएको छ । इलाका प्रहरीले थालेको लागूऔषध अप्रेशनका सन्दर्भमा गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्नः लागूऔषध अप्रेशनका सन्दर्भमा पछिल्लो अपडेट बताइदिनुस् न ?

उत्तरः म इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएको करिब ६ महिना पूरा भैसकेको छ । यही अवधिको मात्रै तपाईले तथ्यांक हेर्नुहुन्छ भने हामीले विभिन्न मितिमा कम्तीमा ४४ जना लागूऔषध दुव्र्यसनी एवं कारोबारीलाई पक्राउ गरेर मुद्दा चलाइसकेका छौं । अझै पनि केही अभियुक्तहरु प्रहरी हिरासतमै रहेका छन् । उनीहरुलाई पनि मुद्दा चलाउने सन्दर्भमा थप अनुसन्धान गरिरहेका छौं । पक्राउ परेकाहरुबाट हामीले ४४ ग्राम ४० मिलिग्राम लागूऔषध ब्राउनसुगर, नाइट्रोभेट ट्याब्लेट ३ सय ट्याब्लेटभन्दा बढी र केही गाजासमेत बरामद गरिसकेका छौं ।

यस अवधिमा हामीले तुलसीपुर क्षेत्रमा दुईवटा लागूऔषध कारोवार गर्ने मुख्य डिलरलाई ध्वस्त बनाइसकेका छौं । हाम्रो सूचनामा अरु तीनवटा मुख्य डिलर यहाँ सञ्चालन भइरहेको पाएका छौं । ती बाँकी डिलरलाई पनि ध्वस्त बनाउन हाम्रो लागूऔषध अनुसन्धान टिम खटिरहेको छ । मलाई लाग्छ, केही समयमा हामी त्यसमा पनि सफल हुने छौं । दुव्र्यसनीको एकिन तथ्यांक त पहिचान गर्न सहज छैन, तैपनि हामीले यस क्षेत्रमा कम्तीमा ५ सयभन्दा बढी लागूऔषध ब्राउनसुगरका नियमित युजरहरु रहेको प्रारम्भिक अनुमान गरेका छौं ।

प्रश्नः तपाईहरुको अप्रेशन जारी रहेको छ, तर एकपछि अर्को गर्दै रुपैडिया भन्सार नाकामा दाङ तुलसीपुर क्षेत्रकै कारोवारीहरु पक्राउ परिरहेका छन् नि ?

उत्तरः हो, हामी अहिले यस क्षेत्रको सबैभन्दा ठूलो सुरक्षा चुनौती लागूऔषध दुव्र्यसनी नै हो भन्ने एकिनका साथ यसमा लागिरहेका छौं । हामीले लागूऔषध नियन्त्रणमा नलिएको सायद कुनै साता छैन होला यो आर्थिक बर्षमा । हामीले पाएको सूचनाका आधारमा यहाँ नयाँ कारोवारीको सञ्जाल बढ्दै आउन थालेको होइन, जुन यहाँका नियमित युजरहरु छन्, उनीहरुलाई नै ड्रग्स किन्न पैसा अभाव हुन थालेपछि सानोतिनो डिलर चलाउ भन्ने उद्देश्यका साथ डिलर सञ्चालन गरिरहेको पाइएको छ ।

अब विस्तारै हाम्रो निगरानी कारोबारीसँगै युजरतर्फ पनि बढेको छ । खासमा यस क्षेत्रबाट नेपालगञ्ज नाका हुँदै गाजा–चरेस भारत भित्रिने हो, उताबाट ब्राउनसुगर यहाँ आइरहेको छ । लागूऔषधसहित पक्राउ गर्न सक्नु भनेको निकै चुनौतीको काम पनि हो । हामीले त्यस्ता चुनौतीहरुलाई चिर्दै अघि बढिरहेका छौं ।

प्रश्नः चुनौतीको कुरा उठाउनुभो, यसमा केकस्ता चुनौतीहरुको सामना गरिरहनुभएको छ ?

उत्तरः सबैभन्दा पहिला त लागूऔषध भनेको नितान्त सानो परिणाममा हुन्छ, यौनांगदेखि मोजाभित्रसम्म राखेर कारोवार हुने गरेको छ । त्यसमा पनि कति कारोबारीले त प्रहरी भएको आशंका पाउनासाथ कहाँ फ्याकिदिन्छन् पत्तै हुँदैन । कारोवारीहरु यति चलाख हुन्छन् कि उनीहरुले आर्थिक कारोवार समेत ई–सेवामार्फत गर्ने गरेका छन् ।

हामी सादा पोशाकमा युजर बनेर उनीहरुसम्म पहुँच राख्नुपर्ने अवस्थामा कतिपय ठाउँमा हाम्रा सुरक्षाकर्मीले भाटा खाने समेत अवस्था रहन्छ । घर थाहा पाइहाले पनि त्यहाँ छापा मारेर लागूऔषध पक्राउ गर्नु कम चुनौतीको अवस्था होइन । त्यति सानो परिणामको बस्तु कहाँ लुकाएका हुन्छन् भन्ने पत्तो पाउनै समस्या । अर्को कुरा कारोवारीहरु र दुव्र्यसनीहरुका बारेमा जानकार समाजका अगुवाहरुले पनि सहजै सूचना दिने अवस्था छैन ।

प्रश्नः लागूऔषध दुव्र्यसनी नियन्त्रण अभियानमा हुनुहुन्छ, सबैभन्दा ठूलो समस्या भनेको के देख्नुभएको छ ?

उत्तरः हामीलाई सबैभन्दा ठूलो समस्या भनेको सूचनाकै हो । हाम्रो यो अभियानलाई समाजका हरेक अंगहरुले हातेमालो गरी सहयोग गरे हामीलाई निकै सहज हुने थियो भन्ने हाम्रो अपेक्षा छ । किनकि हरेक परिवारका बुवाआमालाई थाहा हुन्छ कि मेरो सन्तान लागूऔषधको नियमित सेवनकर्ता हो भनेर । स्कुलमा पढाउने शिक्षकलाई थाहा हुन्छ कि मेरो यो विद्यार्थीको गतिविधि दुव्र्यसनीको जस्तो छ भनेर । एउटा कार्यालय प्रमुखलाई जानकारी हुन्छ कि मेरो यो स्टाफ दुव्र्यसनीमा फसेको छ भनेर ।

तर समाजका सबै अंगहरु लागूऔषध कारोवारीका बारेमा प्रहरीलाई सही सूचना दिएर लागूऔषध दुव्र्यसनीको दलदलबाट मुक्त पारौं भनेर । एकजना आमा पनि प्रहरीकोमा मेरो सन्तान दुव्र्यसनीमा फसेको छ, यसको उद्धार गरौं भनेर आएको । उल्टो आमाहरुले हामीले समाएका लागूऔषध दुव्र्यसनीका अभियुक्तलाई मेरो छोराले त त्यस्तो नगर्नुपर्ने हो भनेर ढिपी गर्न थाल्नुहुन्छ । यो अवस्थाले पनि लागूऔषध दुव्र्यसनी न्यूनीकरण अभियानमा एउटा समस्या देखिएको छ । त्यसैले यसले समाजमा जरो गाडिरहेको हामीले पाएका छौं ।

प्रश्नः लागूऔषध दुव्र्यसनी अप्रेशनकै क्रममा तपाईले तुलसीपुरको एउटा मेडिकल स्टोरमा पनि छापा मार्नुभो, केकस्तो अवस्थामा त्यसरी छापा मार्न मिल्छ ?

उत्तरः हो, हामीले तुलसीपुरको एउटा मेडिकलमा पनि छापा मारेका हौं । दुव्र्यसनीले आफूले दैनिक सेवन गरिरहने लागूऔषध पाएन भने औषधि पसलको पनि सहारा लिन सक्छन् । सामान्य तया एउटा दुव्र्यसनीले ब्राउनसुगरकै कुरा गर्ने हो भने एकदिनमा एक मात्रा प्रयोग गर्ने गरेको पाइएको छ । उनीहरुको भाषामा एक क्वाटर भनेको कम्तीमा ५० देखि ८० मिलिग्रामसम्म हो । यसलाई किन्दा कम्तीमा पनि १ हजार ५ सय रुपैयाँ पर्छ ।

यदि पैसा भएन भने उनीहरुले मेडिकलमा पुगेर लठ्याउने औषधि पनि सेवन गरी धित मार्ने गरेको पाइन्छ । हामीले युजरको सूचनाका आधारमा मेडिकल स्टोरमा छापा मारेका हौं । हामीले त्यहाँ जफत गरेका औषधिलाई यद्यपि लागूऔषध भनिँदैन, तर ती नियन्त्रित औषधि हुन् । एण्टिकफ ट्याव्लेट, ट्रमाजोल ट्याब्लेट, डिकोफ, सिट्यावलगायतका औषधिहरु चिकित्सकको प्रिस्किप्सन विना बिक्री गर्न मिल्दैन ।

प्रिस्किप्सन भएपछि अभिलेखीकरण गरेरमात्र यस्ता नियन्त्रित औषधिहरुको कारोवार हुन्छ, तर हामीले छापा मारेको मेडिकल स्टोरमा त्यस्तो कुनै अभिलेखीकरण थिएन । यसलाई मुद्दा चलाउने भनेको औषधि व्यवस्था विभागले हो, हामीले त्यो केस औषधि व्यवस्था विभागमा पठाएका छौं । मैले यसै पत्रिकामार्फत सम्पूर्ण मेडिकल स्टोरलाई आग्रह पनि गर्दछु कि प्रिस्किप्सन र अभिलेखीकरणविना यस्ता औषधिहरु नबेचिदिनुस् ।

प्रश्नः लागूऔषध दुव्र्यसनीका अभियुक्तलाई छुटाउन कत्तिको राजनीतिक दबाव आउँछन् ?

उत्तरः अन्य घरायशी झैझगडा, घरेलु तथा यौनजन्य हिंसा, कुटपिट, बलात्कारजस्ता केशमा धेरै दबावहरु राजनीतिक दलका नेता तथा अन्य समाजका सम्भ्रान्त व्यक्तिहरुबाट आइरहेको पाएका छौं । तर मलाई अहिले ६ महिनाको अवधिमा लागूऔषधका घटनामा संलग्न व्यक्तिलाई छुटाएदिनुस् भनेर कुनै पनि आग्रह आएको छैन । हामीले यो केशमा स्वतन्त्र अनुसन्धान गर्न पाइरहेका छौं । मलाई लाग्छ, यो विषयमा हामीले अदालतमा लगेका केशहरु सबैमा अधियुक्तलाई कानुनबमोजिम कारबाही भइरहेको पनि छ । लागूऔषधका मुद्दा कमजोर हुँदैनन् ।

प्रश्नः यो अभियानका सन्दर्भमा थप केही भन्न चाहनुहुन्छ कि?

उत्तरः समाजमा हुने हरेकखाले सामाजिक अपराधहरु लागूऔषध दुव्र्यसनीकै कारण भएका छन् । चोरी–डकैती, लुटपाट, व्यक्ति हत्या, मानव बेचविखन तथा अपहरणलगायतका थुप्रै सामाजिक अपराधहरु दुव्र्यसनीकै कारण भएका छन् । सभ्य समाज र सुरक्षित समाजको परिकल्पना दुव्र्यसनी मुक्त समाजबाट मात्रै गर्न सकिन्छ ।

लागूऔषध न्यूनीकरण अभियान प्रहरीले एक्लै थालेर मात्र सफल हुने होइन । हामीले सचेतना दिएर मात्र सबथोक हुने होइन । यसमा हामीले यहाँका नागरिक समाज, विद्यालयका गुरुहरु, उद्योगी व्यवसायी, सम्पूर्ण अभिभावक तथा सञ्चारकर्मीहरुबाट समेत साथ र सहयोगको अपेक्षा गरेका छौं । दुव्र्यसनी मुक्त समाजको महान अभियानलाई समाजका सबै तह र तप्काले आफ्नै अभियानका रुपमा लिएर हामीलाई सही सूचना दिएर सहयोग पु¥याउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । तपाईको सूचना नै हाम्रो सफलताको प्रमुख आधार बन्ने पनि मैले विश्वास लिएको छु ।