नारायणप्रसाद श्रेष्ठ
मानिसको मन, विचार र भावना फरक–फरक किसिमको हुन्छ । एउटाको विचार अर्कोसँग नमिल्न सक्छ । समय, काल, परिस्थितिअनुसार विचार र कर्ममा पनि फरक–फरक अनुभूति हुनसक्छ । एउटै कर्म र विचार भएर पनि यसको गन्तव्य अलग–अलग हुनसक्छ । हिँड्ने गोरेटोदेखि कर्म गर्ने तौर–तरिका भिन्न हुनसक्छ । सोच्ने शक्ति र पन्छाउने बाटो अलग हुनसक्छ । कोही त्यही कुरालाई सकारात्मक दृष्टिले हेरिरहेका हुन्छन् भने कोहीले त्यही कुरालाई नकारात्मक दृष्टिले हेरेको पाइन्छ ।
ज्ञान र विवेकले ल्याउने शिष्टता र व्यवहारमा हुने फरक दृष्टिकोण प्रवृत्तिमा आउने उतार–चढाव फरक हुनसक्छ तर उसको गन्तव्य एउटै उद्देश्यले निर्दिष्ट भएको पाइन्छ । सबै सुख, आनन्द र खुशी चाहन्छ । यसरी गन्तव्यसम्म पुग्ने विविध उद्देश्यमध्ये नेपाल र नेपालीको अस्तित्व बचाउने आदर्श कार्य व्यक्तिको राजनीतिक गन्तव्यभित्रको उपलब्धि पनि हो । राजनीति कर्म र व्यवहारमा जे–जस्ता रोल देखिए पनि वा आपसी वैरभाव र वैमनष्यता देखापरे पनि यसको उचित समाधानको विकल्प पनि राजनीति रहेको कुरा ध्रुवसत्य मानिन्छ ।
समाजमा देखिने जति पनि विकृति र विसंगति छन्, तिनको निराकरण गर्दै जनताको जीवनस्तर माथि उठाई सामाजिक रुपान्तरणमा सबैलाई सहभागी गराएर राष्ट्र र राष्ट्रियता बचाउने अभियान पनि राजनीति नै रहेको हुन्छ । राष्ट्रको गौरवमय इतिहासलाई अक्षुण्ण राख्दै भावी पिढीलाई सही र स्पष्ट दिशानिर्देश गरी शारीरिक र मानसिक तथा बौद्धिकरुपमा राष्ट्रिय चिन्तनमा सरिक गराउने पनि राजनीतिक क्षेत्र मानिन्छ । समस्याको समाधान गर्दै एकता र सद्भाव कायम गर्न समेत राजनीतिक सुझबुझ आवश्यक ठहरिन्छ ।
राजनीतिक गोरेटो यस्तो संकल्प हो, जुन क्षेत्रबाट कोठा–चोटा, घर–परिवार, समाज, राष्ट्र सबै समृद्धिको दिशाउन्मुख हुन सहज हुन्छ । अर्को अर्थमा भन्ने हो भने वर्ग, क्षेत्रलगायत सम्पूर्ण क्षेत्रको समृद्धिको आधार राजनीति नै हो । तसर्थ राजनीतिलाई केवल क्षणिक मोह र स्वार्थमा नलगाई समृद्धिको नारासँग जोडी प्रत्येक कर्म र व्यवहार एवं नयाँ पिढीका लागि सकारात्मक परिवेश तयार गर्ने उत्तम विकल्पको रुपमा राजनीतिलाई लिइन्छ । तसर्थ यसलाई गम्भीररुपले सोचेर निर्दिष्ट गन्तव्य निर्धारण गर्नु अहिलेको आवश्यकता मानिन्छ ।
राजनीति जीवनको समग्र गतिमा प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने बलियो गन्तव्य हो । जीवनको हरेक क्षण गति र कर्ममा चालिने विचारको समिश्रण पनि राजनीति भएकाले यसको औचित्य पुष्टि गर्दै औपचारिक वा अनौपचारिक दृष्टिमा रहने कार्ययोजनाको प्रत्यक्ष प्रभावलाई सकारात्मक गति दिन स्वच्छ राजनीतिक दृढता र संकल्प हुन जरुरी छ । मानिसको मनोविनोदलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परिभाषित गरी नयाँ लहर सिर्जना गर्ने र सिर्जनाको फूलहरुले सजाइएको सकारात्मक चिन्तनरुपी फूलको गुच्छालाई आत्मसात् गर्दै जीवन र जगतको व्याख्या गर्ने पनि राजनीति रहेको कुरा बिर्सन हुँदैन ।
जीवनको आदिदेखि अन्तसम्म तथा राष्ट्रिय विकासको चिन्तनदेखि व्यक्तिको वैयक्तिक आकांक्षा परिपूर्ति गर्ने विचार शक्ति सल्बलाउने क्षेत्र पनि राजनीति भएको कुरा कदापि भुल्नु हुँदैन । तसर्थ अहिले वर्तमानमा देखिएको स्वार्थको पेचिलो संघर्षले राजनीतिको मुहानलाई सफा गर्ने दृढ इच्छाशक्तिको गाँठो कहाँ बल्झिएको छ ? त्यसको गम्भीर चिन्तन–मनन हुन जरुरी छ । नेपाल र नेपालीको भविष्य निर्धारण गर्न क्षमता राखेर राजनीतिक गुरु वर्तमानको परिस्थितिलाई सल्टाउन कहाँ अल्मलिएका छन् ?
यसलाई खोज्दै बिग्रँदो परिस्थितिलाई पुनः जीवन्त राखी उज्यालो भविष्यको गन्तव्य निर्धारण गर्न सबै जिम्मेवार हुनुपरेको छैन र ? हामीले हाम्रो दायित्वलाई सीमित घेराभित्र परिभाषित गर्दै विचारशक्ति खुम्च्याउँदै जाने हो भने हाम्रो राजनीतिक गोरेटो कतातिर धकेलिँदै जाने हो ? समयले कोल्टे फेर्दै गरेको वर्तमानले नेपालको इतिहास कता मोडिने हो ? बेलैमा सोच्नुपरेको छ । प्रत्येक दलका आ–आफ्नै डम्फु र स्वार्थलाई परिभाषित गर्दै जाने र स्वच्छ तथा पवित्र राजनीतिक विचारशक्तिलाई अल्मल्याउने प्रवृत्ति विकसित हुँदै जाने हो भने विकासको लागि राजनीति कि राजनीतिको लागि विकास हो ?
विकासको लागि राजनीति नभई राजनीतिको लागि विकास गर्ने राजनीतिक परिदृश्य देखिँदै जाने र राजनीतिलाई केवल वर्गस्वार्थ र पार्टीको स्वार्थभित्र केन्द्रिकृत गर्ने हो भने यसले कस्तो परिणाम ल्याउने हो ? पवित्र राजनीतिक सोच र चिन्तनलाई बङ्ग्याउँदै जाने प्रवृत्तिले प्रश्रय पाई विचारशक्तिलाई खुला वातावरणमा सल्बलाउन नदिई खुम्च्याउँदै जाने हो भने हाम्रो राष्ट्र र राष्ट्रियताले खोजेको राजनीतिक दृढता कता पुग्ने हो ?
नेपाल र नेपालीको बृहत्तर हित र चिन्तनको लागि गरिने राजनीतिक परिदृश्य सत्ता, लत्ता, भत्ता प्राप्तिभित्रको उद्देश्यसँग बहकिँदै गएको वर्तमान अवस्थाले साँढेको जुधाई बाच्छाको मिचाई हुने त होइन ? राजनीतिक सुत्रधारका नेतृत्वबीचको संघर्ष प्रतित्युपादक बन्ने त होइन ? राष्ट्रिय राजनीति विदेशीको इशाराबाट परिचालन गर्ने परम्परा बस्यो भने इतिहासले के लेख्ने हो ? कस्तो संरचनातर्फ इतिहास मोडिने हो ? राजनीतिक गाँठो कहाँबाट कसिँदै गएको हो ? के गाँठो फुकाउने साँचो नेपाली राजनीतिक नेतृत्वसँग छैन ?
गाँठो बल्झाउने संस्कृतितर्फमात्र आफ्ना आदर्श घोप्ट्याउँदै हिँड्ने प्रवृत्ति झाङ्गिँदै गयो भने भावी पिढीले कस्तो राजनीतिक संस्कार सिक्ने हुन् ? के हाम्रो पौराणिक आदर्श र वीरताले सिर्जेको राजनीतिक धरातल यस्तो प्रवृत्तिउन्मुख थियो र ? के हामीसँग राजनीतिक सक्षमताको अभाव भएकै हो ? राजनीतिक गाँठो फुकाउने उत्तम विकल्प राजनीतिक दृढता र संकल्प हो भनेर स्वीकार्दै आएको हाम्रो संस्कृतिभित्र यो अवस्था कति समय गुम्सिने हो ? जनताबाट उठेको कर र रेमिटान्समा रमाउने प्रवृत्तिमात्रै बढ्यो भने राष्ट्रले कस्तो दिशानिर्देश गर्ने हो ?
बल्झिएको गाँठो फुकाउनुपर्ने बेला विविध बखेडा झिकेर राजनीतिक स्वार्थसिद्ध गर्ने दाउमा राज्यनीतिमै धराप पर्ने अवस्था के राजनीतिक सक्षमता हो ? राजनीतिक सुझबुझभित्र अल्झिएको गाँठो के प्रतिशोधभित्र मात्र मुखरित भएको हो ? कपासभित्र सल्किएको आगोले विस्तारै उग्र रुप लिने परिस्थिति किन जन्माउँदै गएको हो ? को, किन, कसका लागि, के कसरी तथा कुन राजनीतिक गोरेटो परिस्थिति निर्माण गर्दै हिँडेको छ, त्यो कुरा दिनको उज्यालोझैँ छर्लङ्ग हुँदा पनि परालको आगोभित्र गुम्सिने परिस्थिति किन बन्दैछ ?
के नेपालमा सक्षम नेतृत्व खड्किएकै हो ? यस्तो परिस्थिति उत्पन्न हुनुमा दोषी को हो ? नेपाल र नेपालीको गौरवमय इतिहासभित्र असक्षमताको पगरी गुथ्ने संस्कार किन भइरहेको छ ? कि शासन विधिको होइन, व्यक्तिको हुनुपर्छ भन्ने मान्यता स्थापना गरी परजीवी बन्नेतर्फ ध्यान केन्द्रित हुन पुगेको हो ? समस्याको समाधान गर्ने राजनीतिक विषय यो होइन र ? स्वार्थकेन्द्रित राजनीतिक सोचले मौलाउँदै गएको राज्यनीति कतै धराप पर्ने त होइन ?
स्वार्थपरक अस्तित्वको लडाइँमा देखापरेको राजनीतिक चिन्तनले हाम्रो समाज कतातिर मोडिँदैछ ? हाम्रो राजनीतिक उद्देश्य दुःखी, दरिद्र र पछौटेपनलाई हटाई सामाजिक आदर्श कायम गरी राष्ट्रिय धरातललाई मजबुद बनाउनेतर्फ केन्द्रित गरेको होइन र ? समग्र राष्ट्रिय विकास हाम्रो राजनीतिक उद्देश्य होइन र ? त्यसैले वर्ग वा व्यक्ति स्वार्थलाई हारजितको उपमा नदिई समग्र राष्ट्रिय समृद्धिको सही गन्तव्य निर्धारण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने अवस्था अहिले टड्कारोरुपमा देखिएको छ ।
अर्को कुरा राष्ट्रिय अस्तित्वसँग गाँसेर रणनीति बनाउनु हाम्रो राजनीतिक सोच हुनुपर्छ । तसर्थ इतिहासमा लेखिएको हाम्रो गौरव र पौरखलाई केन्द्रविन्दुमा राखी राष्ट्रिय अखण्डता कायम गर्दै खिचडी पकाउने कार्य सबै क्षेत्रबाट रोकिन जरुरी छ । सूर्य पूर्वबाट उदाई पश्चिममा अस्ताउँछ, यो प्रक्रिया हिजो थियो, आज छ र भोलि पनि रहिरहने सत्यलाई तथा समयको निरन्तरतालाई बङ्ग्याउने धृष्टता गर्नु कदापि उचित कुरा होइन ।
तसर्थ बेलैमा जनअभिमतको इमानदारीपनलाई बुझेर राष्ट्रिय चिन्तनमा सकारात्मक प्रवृत्ति जागृत गर्न तथा सहमति र सहकार्यको माध्यम एकअर्काप्रतिको मतभेद हटाई पर्ख र हेरको राजनीतिक सोच वृद्धि गरी समृद्ध नेपालको भविष्य निर्माण गर्न सबैमा जागृत हुन जरुरी छ । वर्तमान नै भविष्यको सुत्रधार हो भन्ने मान्यतालाई जगाई बल्झिएको राजनीतिक गाँठो फुकाउन सबैले आफूलाई संयमित, धैर्य एवं विचारशील बनाउन जरुरी छ । समयले उही खोजिरहेको छ ।