मेरो खुसी : कांग्रेस दाङको सचिव जित्दा …

बाल्यकालदेखि नै नेपाल विद्यार्थी संघमा जोडिएकी बालिका लम्साल कांग्रेस दाङमा सक्रिय महिलाका रुपमा परिचित थिइन् । नेपाल विद्याथीं संघमा सक्रिय भइरहेका बेला तरुण दलको जिल्ला सदस्यमा मनोनीत भएकी लम्साल १३औं महाधिवेशनमा कांग्रेस दाङको जिल्ला सदस्यमा निर्वाचित भइन् । जिल्ला सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस दाङमा महिला नेताका रुपमा उदाएर लम्साल भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दाङ जिल्ला सचिवमा निर्वाचित भएकी छिन्

सचिव लम्साललाई गोरक्ष दैनिकको नियमित साप्ताहिक खुसी स्तम्भका लागि आफ्नो खुसीको क्षण सुनाउन आग्रह गर्दा आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीका रुपमा नेपाली कांग्रेस दाङ जिल्ला सचिवमा बिजयी हुँदाको सम्झना गरिन । जुन क्षण उनले करिब २० बर्षको मेहनत र क्रियाशीलताका कारण प्राप्त गर्न सफल भएको बताइन् । १३औं महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएको र राजनीतिमा सक्रियताका साथ लागेकाले चौधौँ महाधिवेशनमा पदाधिकारीमा उठ्ने चाहना थियो ।

तर पदाधिकारीमा चुनाव लड्न महिलाका लागि चुनौती थियो । त्यसैले करिब दुई महिना अघिदेखि सहसचिवको प्रचारमा लागेको थिए । त्यही अनुसार कांग्रेसका नेताहरु तथा दिदी बहिनीहरुको शुभेक्षा पनि पाइरहेकी थिए । सबैको हौसल्ला र साथले गर्दा १४औं महाधिवेशनमा सुरुमा सहसचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् । तर परिस्थिति फरक भयो । सहसचिवमा धेरै उम्मेदवार भए तर आफ्नो टिमबाट सचिवमा लड्ने उम्मेदवार नभएपछि उनले सहसचिवमा उम्मेदवार दिएको आधा घण्टापछि उम्मेदवारी फिर्ता लिएर जिल्ला सचिवमा उम्मेदवार बनिन् ।

स्कुल अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमा लागेर कांग्रेसको चार तारे झण्ड बोक्न थालेकी उनलाई त्यही मेहनतले जिताउने छ भन्ने विश्वास पनि थियो । सामाजिक सेवामा कार्यमा पनि सक्रिय रहेकाले उनलाई धेरैले चिन्ने गरेका थिए । त्यस हिसावले पनि उनी चुनाव जित्ने विश्वासमा थिइन् तर ढुक्क थिइनन् । पार्टीको चुनाव आन्तरिक लोकतन्त्रको अभ्यास थियो । तीन जना पुरुषहरुसँगै उनी उम्मेदवारका रुपमा खडा भएकी थिइन् । राजनीतिमा तीनै जना पुरुषहरु अग्रज र अनुभवी थिए । त्यस हिसावले उनलाई निर्वाचन जित्ने विश्वास थिएन, तर निर्वाचनको परिणामले उनले चुनाव जितिन् ।

त्यो क्षण मेरो जीवनको सबैभन्दा धेरै खुशीका क्षण हो । ‘जीवन खुशी र दुखको समिश्रण हो । त्यो मध्यमा सम्झनै पर्ने जीवनको सबैभन्दा ठूलो खुशीको क्षण कांग्रेस दाङको सचिव जित्दा क्षण हो’, उनले भनिन्– ‘जीवनमा करिब २० बर्ष कांग्रेसका लागि मैले खर्चिएको मेहनतको मतदाताहरुले मूल्यांकन गरिदिनुभयो । त्यो मेरो खेशीको क्षण हो ।’ निर्वाचनले उनलाई दाङमा मात्र होइन प्रदेश नं. ५ मै पहिलो निर्वाचित महिला सचिव बन्ने अवसर समेत बनाइदियो । लम्सालको अर्काे खुशीको क्षण हो, नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा छनोट हुँदा । सानै उमेरदेखि नेविसंघको राजनीतिसँगै कार्यक्रमहरुमा गीत गाउनेदेखि नाटकमा अभिनय गर्दै आएकी थिइन् ।

गीत गाउन, नाटक देखाउन जिल्लासँगै देशका विभिन्न ठाउँमा समेत पुग्ने गर्थिन् । त्यही समयमा २०६२÷२०६३ को परिवर्तनपछि नेपाल टेलिभिजनमा दोहोरी कार्यक्रम ‘लाहुरेको रोधी’ कार्यक्रमलगायतका विभिन्न पदका लागि कार्यक्रम सञ्चालकहरु खोजेको रहेछ । त्यो सूचना मैले पाए । त्यसपछि टेलिभिजनमा फाराम भरे । कार्यक्रमका लागि धेरै जनाले फाराम भर्नुभएको थियो । सहभागीहरुलाई प्रतिष्प्रर्धा गराएर कार्यक्रममा छनोट गरिएको थियो ।

त्यो छनोटका क्रममा लाहुरेको रोधी कार्यक्रम चलाउनका लागि कलाकार श्रीप्रसाद थापासहित म छनोट भएका थियौँ । त्यो क्षण पनि मेरो जीवनको अर्को खुसीको क्षण हो । ‘अहिलेभन्दा पहिले टेलिभिजनमा कार्यक्रम चलाउनलेको छुट्टै सान हुन्थ्यो । त्यही देखेर मैले पनि फाराम भरेको थिए’, उनले भनिन्– ‘तर मसँग कार्यक्रम चलाउनका लागि अनुभव थिएनन् । तर गायकसँगै नाट्य क्षेत्रमा लागेकाले छनोट हुन्छु भन्ने विश्वास पनि थियो । नभन्दै सहभागी मध्यबाट महिला कार्यक्रम सञ्चालिकाका रुपमा छनोट भए । त्यो क्षण मेरो खुसीको क्षण हो ।’

उनले नेपाल टेलिभिजन काठमाडौंबाट करिब ५ बर्षसम्म निरन्तर रुपमा लाहुरेको रोधी कार्यक्रम समेत चलाएकी थिइन् । लम्सालले सुरुमा राजनीतिसँगै कलाकारिता पेशालाई समेत अघि बढाएकी थिइन् । गीत गाउँने र नाटकमा राम्रो अभिनय गर्थिन् । २०५७ सालतिरको कुरा हो, राष्ट्रिय नाचघरमा नाट्य प्रतियोगिता थियो । उक्त प्रतियोगितामा दाङबाट नवयुग नाट्य समूहबाट ‘दंगाली राजा’ भन्ने नाटक लिएर स्वर्गीय मधुराप्रसाद श्रेष्ठ, चिन्तामणि शर्मा, लोकराज पराजुली, गीता रेउले, जुद्ध बिसी, कर्णप्रिय, प्रकाशप्रिय कुसुुम्या, अजित लामिछानेसँगै उनी पनि सहभागी भएकी थिइन् । उक्त नाटकमा उनले थारु राजाको छोरीको भूमिकामा थिइन् ।

जिल्लामा विभिन्न ठाउँमा नाटकहरु देखाए पनि काठमाडौँमा पहिलो पटक पुगेकी थिइनन् नाटकमा अभिनय गर्न त्यस हिसावले जोश र जाँगरसँगै मनमा डर समेत थियो । देशभरका जिल्लाहरुबाट नाटकमा सहभागिता थियो, उक्त प्रतियोगिता दाङको नाटक टप १० मा पर्न सफल भएको थियो । त्यो क्षण पनि मेरो जीवनको खुशीको क्षण हो । त्यसैगरी उनले २०६१ सालमा राष्ट्रिय नाट्य महोत्सवसँगै गायन प्रतियोगिता पनि थियो । उक्त प्रतियोगितामा स्वर्गीय मधुराप्रसाद श्रेष्ठ, चिन्तामणि शर्मा, भरत शर्मालगायतको टिमसँगै महिला कलाकारका रुपमा लम्साल सहभागी भइन् र त्यो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन् ।

सुख र दुखको संमिश्रण नै मानिसको जीवन हो । त्यो जीवनमा खुशीसँगै केही नमिठा क्षण पनि हुन्छन् । त्यस्तै मध्यको एउटा क्षण हो, बाल्यकालमा कक्षा ७ पढ्दै गर्दा पैसा चोरेको क्षण । सानो उमेरमा आफूसँग पैसा हुँदैन थियो । केही सामान किन्दा घरबाटै किनिदिनुहुन्थ्यो । त्यसैले अरु किन्ने पैसा हुँदैन थियो । एकदिन कक्षामा पद्दै गर्दा साथीहरुले अमिलो खाने सल्लाह भयो । सुरुमा फ्रिमै खाने कुरा मिलेको थियो । तर अमिलो खाइसकेपछि पैसा तिर्नुपर्ने भयो । तर मसँग पैसा थिएन । साथीहरुसँग पनि रहिन्छ । कहाँबाट पैसा तिर्ने भन्ने समस्या भयो । तिर्नुपर्ने २० रुपैयाँ थियो । मैले घरमा हजुरआमाले भुर्कीमा पैसा जम्मा गरेको देखेको थिए ।

त्यहीबाट पैसा चोर्ने निधो गरे । चोरेर पैसा पनि तिरे । तर घरमा पैसा हराएको थाहा भैसक्यो । त्यो क्षण पहिलो पटक जीवनमा लज्जित हुनु परेको थियो । ‘जीवनमा पहिलो र अन्तिम पटक चोर बनेको त्यो क्षण मेरो जीवनको एउटा अविष्मरणीय क्षण हो’, उनले भनिन्– ‘२० रुपैयाँ चोर्दाको क्षणले जिन्दगीमा धेरै कुरा सिकाएको छ ।’नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना उच्च माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा अध्ययन गर्न सुरु गरेकी उनले त्यही विद्यालयबाट आई.ए.सम्मको अध्ययनन गरेकी छिन् ।

जन्म २०३९ साल बैशाखको बुद्ध जयन्तीको दिन बुबा दुर्गाप्रसाद लम्साल र आमा निमादेवी लम्सालको कान्छी छोरीका रुपमा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा जन्मिएकी लम्सालका दुई आमाहरु छन् । दुई आमाहरुबाट जन्मिएका नौ दाइभाइ, दिदीबहिनीहरु मध्ये उनी कान्छी हुुन् । उनका एक दाई, एक भाई र चार वटी दिदीहरु हुनुहुन्छ । २०७३ साल फागुन १७ गते बुटवल निवासी उपेन्द्र शर्मा नेपालसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।

नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधि, नेपाल सास्कृतिक संघको केन्द्रीय प्रतिनिधि, नेपाल परिवार नियोजन संघको जिल्ला सदस्य, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्लाहकार, लायन्स क्लव अफ नारायणपुर भ्यालीको पूर्व अध्यक्ष, सामुदायिक मेलमिलाप केन्द्रको सदस्यलगायतका विभिन्न संघसस्थाहरुमा आवद्ध रहेकी छिन् ।

                                                                                                                                                प्रस्तुती लिलाधर वली