दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको ६९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उप–कुलपति लामिछानेले विद्यापीठ तथा विश्वविद्यालयका समस्याहरुप्रति आफूहरु गम्भीर रुपले लागिरहेको र बिस्तारै कामले नतिजा दिन लागेको बताए ।
उनले सबैको कार्यबाट मात्र विश्वविद्यालयका समस्याहरु समाधान गर्न सकिन्छ भन्नेमा जोड समेत दिए । कार्यक्रमका अर्का वक्ता सेवा आयोगका अध्यक्ष श्रीधर मजगैँयाले शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि सेवा आयोगले रोकिएका कार्यहरुलाई तीव्ररुपमा अगाडि बढाइरहेकाले पदोन्नति लगायतका विषयमा उठेका चिन्ताहरु बिस्तारै निर्धारण हुँदै जाने बताए ।
कार्यक्रममा नेसंविका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडाले विश्वविद्यालयका भौतिक तथा शैक्षिक समस्याप्रति सबैले उत्तिकै सचेत भएर लाग्ने हो भने विश्वविद्यालयले चाँडै नै उन्नति गर्ने र त्यसको भागिदार समाज हुने गरे । यसै वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर विद्यापीठले आफ्ना विद्यापीठमा रहेका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो ।
सम्मान प्राप्त गर्ने प्राध्यापक हरुमा सहप्राध्यापकहरुमा गिरीशचन्द्र तिवारी र उप–प्राध्यापक दुर्गाबहादुर के.सी कर्मचारीहरुमा असिस्टेन्ट सन्तोष कुमार पोखरेल र ल्याब असिस्टेन्ट प्रकाश पोख्रेल छन् । विद्यापीठको ६८ औं वार्षिकोत्सव सम्पन्न गर्न गतसाल कोरोना महामारीका कारण असम्भव भएपछि यसवर्ष वार्षिकोत्सवको आयोजना गरिएको थियो ।
सो अवसरमा पुस १ गतेदेखि विद्यापीठमा विभिन्न खेलकुद तथा अन्य साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । शिक्षक कर्मचारी आवास भवनको उद्घाटन विद्यापीठको वार्षिकोत्सवको अवसर पारेर विश्वविद्यालयका उपकुलपति प्रा। डा। यादवप्रकाश लामिछानेले जनताका विद्यापीठ बिजौरी, दाङको शिक्षक कर्मचारी आवास भवनको उद्घाटन समेत गरेका थिए ।