दाङ,७ पुस । चिसो बढेको छ । यो बेला विभिन्न रोगले सहजै आक्रमण गर्न सक्ने चिकित्सक बताउँछन । अझै वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा अझै बढी ध्यान दिनुपर्ने सुझाव उनीहरूको छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा। रमेश कँडेल भन्छन ‘जाडोबाट बा–आमा बचाऔं। समयमै सावधानी नअपनाउँदा चिसोकै कारण ज्यान जाने जोखिम यो उमेरसमूहमा बढी हुन्छ ।’ सामान्यतः शरीरको तापक्रम ९६ देखि ९८ डिग्री फरेनहाइट हुन्छ।
९६ डिग्री फरेनहाइटभन्दा कम भए शरीरमा शीतांग हाइपोथर्मियाहुने चिकित्सक बताउँछन । विशेषज्ञ कँडेलका अनुसार वृद्धवस्थामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै जान्छ। शरीर चिसो भएको अवस्थामा होससमेत हराउन सक्छ । हिउँ पर्ने हिमाल र शीतलहर चल्ने तराईमा चिसोपनले गर्दा शीतांगलगायत स्वास्थ्य समस्याको जोखिम हुन्छ। समुदायमा आधारित तथ्यांक नभए पनि शीतलहरबाट हरेक वर्ष वृद्धवृद्धाको ज्यान जाने गरेको डा कँडेल बताउँन । नेपालमा ६० वर्ष नाघेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ। यो उमेरमा रोगसँग लड्ने क्षमता पनि ह्रास हुँदै गइरहेको हुन्छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या २१ लाख ५३ हजार ३ सय ३० छ । सय वर्ष र सोभन्दा माथिका ३ हजार ५ सय ६६ नागरिक छन् । जाडोले मुटु, फोक्सोसहित भित्री अंगका साथ बाहिरी भागलाई बढी असर गर्छ। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन ‘सामान्य रुघाखोकी, रक्तचाप बढ्नेदेखि कडा निमोनिया, मस्तिष्कघात, हृदयघात भएर ज्यानसमेत जान सक्छ ।’ कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ वर्ष नाघेका २६ ज्येष्ठ नागरिकलाई केही दिन अघि कोरोना संक्रमण भएको छ।
जसमध्ये सात जना ८० वर्ष नाघेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड फोकल पर्सन डा नीरज बमका अनुसार कोरोनाबाट संक्रमित ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ । ‘कोभिडको संक्रमण पनि ज्येष्ठ नागरिकमा देखिन सुरु भएको छ । अस्पताल भर्ना हुने क्रम बढ्दै गएको छ’ डा बम भन्छन । मुलुकमा डेल्टा संक्रमण बढी देखिएको छ। ओमिक्रोन भेरियन्ट फैलँदै गएकाले यसको जोखिम झन चुलिएको छ । इन्फ्लुएन्जा भाइरसको जोखिम पनि कायमै छ। चिसो मौसममा यसको संक्रमण उच्च हुने डा. बम बताउँछन । यो श्वासप्रश्वासमा समस्या पार्ने भाइरस हो । यसमा मृत्युदर भने कम छ । तर, सचेत हुनुपर्ने चिकित्सक बताउँछन ।
स्याहारसुसार बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवा बिदेसिँदा ज्येष्ठ नागरिक एक्लिएका छन् । वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सके स्याहार पुग्छ । फरक पुस्ताबीचको अन्तक्र्रिया पनि बढ्छ। हेरचाह, स्याहारसुसार र उपयुक्त वातावरण नहुँदा ज्येष्ठ नागरिक बिरामी पर्ने जोखिम बढी हुन्छ। एकल तथा विधुर, शारीरिक एवं मानसिक रूपमा अशक्त, परित्यक्त, असहाय एवं आफ्नो परिवार वा संरक्षक नभएका बाआमा बढी जोखिममा रहेको चिकित्सकको भनाइ छ ।
डा कँडेलका अनुसार ससाना बालबालिकाझैं बाआमालाई पनि शरीर न्यानो हुने कपडा लगाइदिनुपर्छ। ‘खुट्टामा मोजादेखि शरीरमा न्यानो कपडा, मफलर,गलबन्दी, बाक्लो टोपी लगाइदिनुपर्छ’, उनी भन्छन्, ‘बाक्लो लुगा नभएको अवस्थामा पत्रपत्र गरेर धेरै लुगा लगाउँदा पनि हुन्छ । जाडोका बेला शरीरलाई न्यानो बनाइराख्नुपर्छ। चिसो पानीले नुहाउनु हुँदैन ।’ बाबाआमाको शारीरिक एवं मानसिक अवस्थाको ख्याल गर्दै मनतातो पानीले नुहाउनुपर्छ, वा मनतातो पानीमा नरम कपडा भिजाएर शरीर पुछिदिँदा उपयुक्त हुने चिकित्सकको सुझाव छ ।
बाहिर मात्र नभई ज्येष्ठ नागरिकलाई शरीरभित्रबाट न्यानो पार्न खानपानमा पनि ध्यान दिनुपर्छ। डा। कँडेलका अनुसार मनतातो झोलिलो खानेकुराको मात्रा बढाउनुपर्छ । सुप खुवाउन सकिन्छ । तर, सुपमा नुनको मात्रा बढी भएर उच्च रक्तचापको समस्या पनि हुन सक्छ। असहाय, अशक्त, एकल बाआमालाई स्थानीय तहमा पनि दिवा सेवा केन्द्रको व्यवस्था गरेर पनि स्याहारसुसार गर्न सकिन्छ ।