बिजनेस डायरी- ‘भाइ, कोइलाबास नाका खोल्नुपर्यो’

खेमराज रिजाल
दाङ, ७ पुस । ‘भाइ, कोइलाबास नाका खोल्नुपर्यो, पक्की सडक बनेको पनि यतिका दिन भयो, पहल गरौं न’ गएको शुक्रवार सबैभन्दा पहिले मैले रिसिभ गरेको फोनमा आएको आग्रह थियो यो । फोन गर्ने व्यक्ति थिए, दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तोरणध्वज श्रेष्ठ । सुरुमा म अलमलिएँ, म न यातायात व्यवसायी, न व्यापारी, कसरी खोल्ने कोइलाबास नाका ? श्रेष्ठले भन्दै गए, अहिले पनि खुलेन भने कहिले खोल्ने तपाई पत्रकारहरुले घच्घच्याएपछि त राज्यले सुन्ने हो ।

फोन काटिएको थिएन, उनी एकनासले आफ्ना कुरा सुनाइरहेका थिए, कोइलाबास भन्सारको इतिहास, जरुवाको भारतीय कष्टम, कोइलाबासको गोदाम, कक्रहवा र जमनीवासको रात्रिबसाइ, कोलहीको खाना, अनि कोइलाबासबाट सामान लिएर दाङ आउजाउ गर्न पुरै एक साता । तर अचेल बाटो पक्की भएर पनि नाका नचल्दा उनलाइ खल्लो लागेको छ । किन व्युझिएन कोइलाबास ? उनी फोनमा एकटकले बोलिरहेका थिए । बीचमै फोन काटियो । मैले उनलाइ पहल गरौंला समेत भन्न पाएको छैन ।

त्यो कोइलाबास, जुन नेपालको दोस्रो भन्सारका रुपमा चिनिन्थ्यो । यो भन्सारमा जागिर खान सरुवा मिलाउनका लागि राजा महाराजासम्मको चाकडी बजाउनुपथ्र्यो कर्मचारीलाई । त्यो वेलै (२०२८ साल) दैनिक २ करोडभन्दा बढी भन्सार राजश्व उठ्थ्यो कोइलाबास भन्सारमा । भन्सारका कर्मचारी मात्र दुई दर्जनभन्दा बढि थिए । सीमा नाका कोइलाबासपारी निकुञ्ज क्षेत्र भएकाले भारतीय कष्टम भने भारतको जरुवा भन्ने ठाउमा थियो । त्यहाँ भन्सार जाँचपास गराए पनि नेपालीहरुले सामान भरीयालाई बोकाएर कोइलाबास हुँदै लमहीबाट आफ्नो गन्तव्य जिल्लातर्फ लाग्थे ।

तोरणध्वजकै भनाइमा कोइलाबास लमही घोडेटो बाटो कहिल्यै अध्यारो हुन्थेन, टर्चलाइन र रांका बालेर चौबीसै घण्टा मान्छेहरुको ओहोर–दोहोर हुन्थ्यो । केही व्यापारीले घोडामा लादेर सामान ल्याउँथे, केहीले भरियालाई बोकाएर ल्याउँथे, नूनदेखि सुनसम्म सबै कोइलाबास नाकाबाटै आउथ्यो । तोरणध्वज भन्छन्– ‘मैले वि.सं. २०२८ सालतीर कोइलाबासमा गल्ला पसलसमेत खोलेको थिएँ, साल्ट ट्रेडिङको डिलर पनि मेरै थियो ।’ कोइलाबासमा ठूल्ठुला होटल, कक्रहवामा पनि बास बस्ने होटल, अनि गढवा बजार पनि सीमा बजारजस्तै थियो त्यो बेला ।

‘लमही होइन, कोलहीमा बास बस्थ्यौं हामी, त्यसपछि बल्ल घोराही आइपुगिन्थ्यो कोइलाबासबाट हिडेको तेस्रो दिनमा’, तोरणध्वज सम्झन्छन् । तोरणध्वजको उमेरले असि नाघेको छ, अहिले कपडा व्यापार चलाइरहेका छन् । तर उनलाई आशा छ, फेरि कोइलाबास नाकाबाट व्यापारिक कारोवार हुनेछ । खासमा पूर्वपश्चिम राजमार्ग खुलेसँगै कोइलाबास भन्सार पनि चल्तीमा आएन । यसको प्रमुख कारण थियो, पूर्वपश्चिम राजमार्गको चन्द्रौटाले कृष्णनगर जोड्यो, कोहलपुरले रुपैडिया जोड्यो, तर पूर्वपश्चिम राजमार्ग छोएको लमहीले कोइलाबास नाकालाई छोएन । सडक नै नपुगेपछि कोइलाबासको व्यापार पनि क्रमशः शून्यप्रायःमा झ¥यो ।

नेपाल सरकारले कोइलाबास भन्सारबाट भारी मात्रामा कर्मचारी कटौती ग¥यो । सँगै भारत सरकारले पनि जरुवाबाट आफ्नो कष्टम हटाएर कृष्णनगरमा स्थापित ग¥यो । अनि सुनसान कोइलाबास । बर्षौसम्म भग्नावशेषका रुपमा रह्यो कोइलाबास बजार । त्यहाँ बनेका दर्जनौं व्यापारिक भवनहरु भत्किए, भारतीय व्यवसायीहरु भारतको वलरामपुर र नेपालतर्फका गढवा र घोराही तुलसीपुर फर्के । सुनसान बन्यो कोइलाबास बजार ।

खासमा भन्सार सञ्चालनमै ल्याउनका लागि नेपाल सरकारले हुलाकी सडकका रुपमा लमही कोइलाबास सडकको स्तरोन्नतिको परियोजना सञ्चालनमा ल्यायो । लमही–कोइलाबास सडक कालोपत्रे सम्पन्न भएको पनि करिब एक बर्ष नाघेको छ । तर यो सडक कालोपत्रे भएर मात्रै कोइलाबासको गतिविधि पुनर्जीवित हुन सकेन । कारण यहाँको भन्सार चलाउनेतर्फ कसैको ध्यान पुग्न नसकेको व्यवसायीहरुले बताउँदै आएका छन् । कोइलाबास भन्सार दाङ जिल्लाका लागि मात्र नभएर प्यूठान, रोल्पा, अर्घाखाँची र सल्यान रुकुमका लागि पछि दुरीका हिसावले छोटो दूरीको नाका हो । तर भन्सार नै सञ्चालनमा आउन नपाएपछि यो भन्दा निकै बढी दूरीमा रहेका कृष्णनगर भन्सार र रुपैडिया भन्सार यहाँका व्यापारिक गन्तव्य बनेका छन् ।

कसरी चल्ला कोइलाबास?

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भन्छन्– यसका लागि हामीले केही भूमिका निर्वाह गर्न सक्दैनौं, भन्सार नाका चलाउनका लागि दुवै देशका प्रान्तीय सरकारहरुले प्रारम्भिक पहल गर्नुपर्दछ ।’ नेपालको लुम्बिनी प्रदेश सरकार र भारतको युपी सरकारका अधिकारीबीच प्रारम्भिक वार्ता भएर कुटनीतिक पहल भएपछि मात्र भन्सार चालु हुनसक्छ । त्यसपछि मात्रै दुवै देशका संघीय सरकारले मन्त्रीपरिषद्को निर्णय गरी भन्सारलाई विधिवतरुपमा सञ्चालन गर्न सक्छन् ।

बाटो पक्की भइसकेपछि कोइलाबासमा सार्वजनिक बस पनि सञ्चालनमा आइरहेको छ । लमहीबाट कोइलाबास सम्मको दूरी बढीमा साढे ३३ किमि छ । सामान बोकेका सवारी साधनले यो सडक बढीमा डेढ घण्टामै छिचोल्न सक्छन् । यसले अन्य भन्सारमा पुग्नुभन्दा निकै भारी मात्रामा इन्धन बचत हुन्छ । तर राज्यका निकाय भने भन्सार नाका सन्चालनतर्फ ध्यान नदिएको व्यवसायीहरुको गुनासो रहेको छ ।

‘हामीले धेरै पटक यो विषयमा प्रदेश सरकार र संघीय सरकारलाई पनि ध्यानाकर्षण गराएका हौं, तर कोरोनाको कारण देखाउँदै आएका थिए, अब फेरि एकपटक लुम्बिनी सरकारका मुख्यमन्त्रीसँग आग्रह गर्ने तयारीमा छौं’, लमही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रत्न श्रेष्ठले भने । अहिले नेपाल सरकारले कोइलाबास भन्सारलाई छोटी भन्सारका रुपमा मात्र सञ्चालन गरेको छ । यही कारण यो भन्सारबाट अहिले एकपटकमा बढीमा २४ हजारभन्दा बढी राजश्वका सामान लिन पाइँदैन । सरकारले यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्को निर्णय गर्नुपर्ने पनि पूर्व अध्यक्ष श्रेष्ठको आग्रह थियो ।